१.प्राध्यापक भण्डारीको लेखसंग्रह
यो पुस्तक प्राडा. गोपाल भण्डारीको लेखहरूको संग्रह हो । यसमा उहाँले ऐतिहासिक लेखकलाई समावेश गर्नुभएको छ । इन्दु प्रकाशन धरान सुनसरीबाट प्रकाशित यस पुस्तकको सर्वाधिकार लेखक स्वयंममै रहेको छ भने डिजाइनर विनिशा कोइराला रहनुभएको छ । उज्ज्वल प्रिन्टर्स धरान सुनसरीबाट मुद्रण भएको यो पुस्तक प्रथम संस्करणका रूपमा २०८३ साल साउनमा प्रकाशित भएको छ । ३०० प्रति प्रकाशित भएको यस पुस्तकमा भूमिका खण्डमा १२ र पाठ्खण्डमा १२४ गरी १३६ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य २१० रुपैयाँ राखिएको छ । आवरण सुन्दर छ कुनै अर्थपूर्ण गोलो आकृतिभित्र मानिसको मस्तिष्क अथवा पृथ्वी जस्तो चित्र राखिएको छ र माथि ठूला अक्षरमा पुस्तकको शीर्षक राखिएको छ भने तल लेखकको नाम उल्लेख भएको छ ।
पृष्ठ आवरणमा संक्षिप्तमा लेखक भण्डारीको परिचय दिएको छ । छोटो परिचय, प्रकाशित कृतिहरू, सम्पादित कृतिहरू र संस्थागत संलग्नताहरू यस पृष्ठमा उल्लेख भएको छ र तल पुस्तकको नाम पनि दिएको छ । यस पृष्ठबाट जानकारी भएका आधारमा प्राडा. गोपालप्रसाद भण्डारी प्रा.भोग्यप्रसाद र ढककुमारी भण्डारीका सुपुत्र हुनुहुन्छ । २००९ साल पुस ९ गते सिम्भुवा धनकुटामा जन्मिनुभएका उहाँ नेपालीमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुका साथै ‘भवानी भिक्षुका कथामा मनोविज्ञान’ शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँले विभिन्न शीर्षकका आधा दर्जन पुस्तकहरू प्रकाशन गर्नुभएको छ भने केही पुस्तकहरूको सम्पादन पनि गर्नुभएको छ । यसका साथै उहाँ आधा दर्जन जति संघसंस्थाहरूमा संलग्न हुनुहुन्छ ।
पुस्तकको भूमिका खण्डमा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको साधनारत श्रष्टालाई शुभकामना, प्राडा. माधवप्रसाद पोखरेलको शुभकामना, सह-प्रा. हरिप्रसाद दाहालको शुभसम्मति र लेखक भण्डारीको मेरो संक्षिप्त कथन रहेका छन् । त्यसपछि मंगलाचरण रहेको छ भने यस पुस्तकमा जम्मा २७ वटा लेखहरू रहेका छन् । दुई खण्डमा विभाजित यस पुस्तकको खण्ड ‘क’ मा ११ वटा लेखहरू समेटिएका छन् । यी लेखहरू सबै संस्मरणात्मक छन् । यिनले लेखकको इतिहासलाई सम्झाएका छन् तर यसका साथसाथै यस्ता ऐतिहासिक संस्मरणात्मक लेखहरुले सबैमा विभिन्न कालखण्डका ऐतिहासिक घटना र पात्रहरूको सम्झना गराउँछ । खण्ड ‘ख’ मा १६ वटा लेखहरू संगृहित छन् ।
यस खण्डका लेखहरू प्रायः विभिन्न व्यक्तिहरूको व्यक्तित्वकेन्द्रित रहेका पाइन्छन् । यहाँ भानुभक्त आचार्य, मोतीराम भट्ट, बालकृष्ण सम, हृदयचन्द्र सिंह प्रधान, बिपी कोइराला आदिको संस्मरण गरिएको पाइन्छ । विद्वान् प्राध्यापकका कलमबाट सिर्जना भएका यी ऐतिहासिक लेखहरू पठनीय छन् र यस्ता लेखहरु संगृहित भएको यो पुस्तक पठनीय र संग्रहणीयसमेत छ । पुस्तकमा विभिन्न व्यक्तिहरूसँग जोडिएका अनेक सन्दर्भ, प्रसङ्ग र संस्मरणहरू उल्लेख भएका छन् । साहित्यमा रुचि राख्नेहरूका लागि निश्चय पनि यो पुस्तक निकै नै वजनदार बन्नसक्छ । पुस्तकका लागि लेखकलाई बधाई छ र पुस्तकको सफलताको कामना । यसका साथै उहाँबाट नेपाली साहित्यले यस्ता अन्य पुस्तकहरू पाइरहोस् हार्दिक अग्रिम शुभकामना ।
२. चालिसेको ‘मिथकभित्र लुकेको सत्य’
‘मिथकभित्र लुकेको सत्य’ साहित्यकार महेन्द्र चालिसेद्वारा लिखित पुस्तक हो । यसलाई निबन्ध संग्रह भनिएको छ सुरभी साहित्य प्रतिष्ठान गोकर्णेश्वर काठमाडौंद्वारा प्रकाशित यो पुस्तक डीएमआई साइजमा प्रकाशित छ हालै मात्र प्रकाशित भएको यस पुस्तकको छपाइस्तरीय छ अशुद्धिहरू कमै मात्र भेटिन्छन् । पहिलो तौलयुक्त कागज प्रयोग भएको यस पुस्तकको आवरण सुन्दर छ । प्रसिद्ध कलाकार के. के. कर्मचारीद्वारा तयार पारिएको आवरण पृष्ठ अमूर्तकला को साथ सज्जाबाट तयार भएको छ । आवरणमा माथि साना अक्षरमा लेखकको नाम छ भने बीचमा ठूला अक्षरमा पुस्तकको नाम रहेको छ । सर्वाधिकार लेखकमा रहेको यस पुस्तकको यो पहिलो संस्करण हो, जुन हालै मात्र अर्थात् २०८३ सालमा प्रकाशित भएको छ ।
यसको साजसज्जा अर्थात् ले-आउट दीपेन्द्र बस्नेतको रहेको छ भने सूर्योदय छापाखाना हाडीगाउँ काठमाडौंमा यो मुद्रण भएको छ । भूमिका खण्डमा २० र पाठ्यखण्डमा १२२ गरी पुस्तकमा १४२ पृष्ठहरू रहेका छन् । यस पुस्तकको मूल्य ३०१ रुपैयाँ रहेको छ । पृष्ठ आवरणमा फोटोसहित लेखकको विचार दिइएको छ । यही पुस्तकको भूमिकाबाट साहित्यकार गोपी मैनाली, ठाकुर शर्मा भण्डारी र रामप्रसाद पन्तका विचारहरू उद्धृत गरिएको छ । यसका साथै यही पृष्ठको तल प्रकाशक संस्था सुरभी साहित्य प्रतिष्ठानको नाम र लोगो पनि दिइएको छ ।
भूमिका खण्डमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको ‘मिथक कति सत्य कति असत्य’ शीर्षकको लामो भूमिका रहेको छ ।
यसैगरी यही खण्डमा सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको ‘लुकेका सत्यका खोजीमा महेन्द्र चालिसेका मिथकीय प्रसङ्ग’ रहेको छ भने लेखक चालिसेको ‘मिथकभित्र लुकेका सत्य’ शीर्षकको लेखकीय पनि रहेको छ । यसपछि विषयसूची दिइएको छ । यस पुस्तकमा विभिन्न शीर्षकका २८ वटा निबन्धहरू सङ्गृहीत भएका छन् । यस पुस्तकको प्रकाशक संस्था सुरभी साहित्य प्रतिष्ठान आफैँमा पनि एउटा साहित्यसेका क्षेत्रको कोसेढुङ्गो सावित भइसकेको छ । लामो समयदेखि बाजुराम पौडेल, विजय चालिसेहरूले मलजल गरेर हुर्काएको यस प्रतिष्ठानलाई पछिल्लो समयमा पनि चालिसे परिवारका महेन्द्र चालिसे, आलोक चालिसेहरूले सक्रियताका साथ सहयोग पुर्याउँदै आउनुभएको छ । यो पुस्तक यस प्रतिष्ठानको ६६ औँ प्रकाशन रहेको छ ।
महेन्द्र चालिसे नेपाली साहित्यका एकजना सक्रिय साहित्यकार हुनुहुन्छ । उहाँका एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् । उहाँका बालकथा सेतो छडी, बिनु र बिरालो, सानी बिना, बग्ने दरबार, जहाँबाट सूर्य झुल्किन्छ, गौरव दादा धेरै जान्नुहुन्छ, आख्यातको पाँच सहरको यात्रा जस्ता आधा दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् भने अर्थहीन बलिदान शीर्षकको कथासंग्रह र रंगभेद शीर्षकको लघुकथा संग्रह पनि प्रकाशित छन् । उहाँ विविध विषयमा कलम चलाउनुहुन्छ । उहाँको नियात्रा कृतिहरू पाँच महादेश छिचोल्दै, मन्दिर मन्दिर डुल्दै, लेकबेंसीका सुगन्ध, क्षितिजका रङ जस्ता कृतिहरू पनि प्रकाशित छन् । उहाँको नेपालमा खेलकुदको इतिहास शीर्षकको पुस्तक पनि प्रकाशित छ ।
उहाँ झण्डै एक दर्जन जति संघ-संस्थाहरूमा संस्थापक, आजीवन सदस्य, सदस्य, संरक्षक आदि पदमा रहनुभएको छ । उहाँले धेरै मानसम्मान र पुरस्कारहरू पनि प्राप्त गर्नुभएको छ भने उहाँका कृतिमाथि विद्यार्थीहरूले शोध पनि गरेका छन् । उहाँले झण्डै तीन दर्जन जति मुलुकहरूको भ्रमण गरिसक्नु भएको छ । प्रसिद्ध साहित्यकार रमेश विकलका छोरा महेन्द्र चालिसेले यस पुस्तकमा अनेकौँ मिथकहरूलाई समावेश गर्नुभएको छ । उहाँले यस पुस्तकमा मिथकको अर्थ परिभाषा त्यसमा लुकेका सत्यहरू र अन्धविश्वासहरूको बारेमा आफ्ना धारणाहरू राख्नुभएको छ । वेद, पुराण, इतिहासदेखिका प्राचीनतम् मिथकीय धारणाहरूदेखि लिएर धर्म दर्शनहरूका आधार पनि यिनैलाई मानेर उहाँले यो पुस्तक लेख्नुभएको छ ।
मिथकसँग जोडिएको संगीत, संस्कृति, अर्थ, सभ्यता, भक्तिरस र ईश्वरीय अनुराग पनि उहाँले देखाउन खोज्नुभएको छ । यो उहाँको फरक विषयमा लेखिएको निबन्धात्मक कृति हो । उहाँले यस्ता मिथकहरूलाई भावनात्मक प्रतीक, दर्शन, चिन्तन र ज्ञानविज्ञानसँग जोडिएका सन्दर्भ, हिन्दूदर्शन, बुद्धदर्शन र धर्मसँगका यस्ता मिथकहरू, देवताहरूको स्वरूपको प्रतीकात्मक कल्पना आदिलाई पनि उहाँले आफ्नो लेखकीय विषय बनाउनुभएको छ । जातक कथा र मिथक कथाको पार्थक्य, मिथक कथाको स्वरूप, अर्थ, विकास र नेपाली साहित्यमा यसको महत्त्व, आधुनिक साहित्य र मिथक साहित्यबीचको सम्बन्ध, मिथक कथामा बालसाहित्यको स्थान जस्ता कुराहरूलाई पनि उहाँले यस पुस्तकमा महत्त्वपूर्ण स्थान प्रदान गर्नुभएको छ ।
मिथकमा यथार्थ पनि हुनसक्छ, यो केवल अन्धविश्वास मात्र होइन । हाम्रा कतिपय संस्कार, संस्कृति, परम्पराहरू, मिथकसँग जोडिएका छन् । त्यसैले निबन्धकार चालिसे भन्नुहुन्छ ‘मिथकलाई केवल अन्धविश्वासका रूपमा नहेरी त्यसभित्र निहित ऐतिहासिक चेतना र सांस्कृतिक स्मृतिको पुनर्पाठ गर्नु, शास्त्रका धुमिल पन्नाबाट वर्तमानका लागि अर्थ खोज्नु तथा पूर्वीय दर्शनका कर्म, ज्ञान र मोक्षका आयामहरूलाई समकालीन सन्दर्भमा बुझ्ने प्रयास गरिनु हो । यस क्रममा साहित्यमा प्रतीक, संगीत, भक्ति र भावनात्मक संरचनाहरूको सूक्ष्म विश्लेषणमार्फत सिर्जनालाई केवल घटना नभई चेतनाको अभिव्यक्ति मानिएको छ ।’ सिर्जनालाई निरन्तर दिइरहने सक्रिय साहित्यकार महेन्द्र चालिसेको यस नवीनतम कृतिका लागि उहाँलाई धेरै धेरै बधाई छ र कृतिको सफलताको कामना । यसका साथै उहाँको साहित्यिक सक्रियताले अविश्रान्त निरन्तरता पाइरहोस् र यस्ता पुस्तकहरू अरू पनि आइरहुन् उहाँलाई अग्रिम शुभकामना ।







नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा
प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी