कांग्रेस महाधिवेशन : सोमबार २ देखि ६ बजेसम्म उम्मेदवारी दर्ता, विधान संशोधनपछि मात्रै मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।
शनिबार महाधिवेशनस्थल खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले उम्मेदवारी दर्ताको समय तालिका तय भएको जानकारी दिनुभएको हो । उम्मेदवारी दर्ता सकिएपछि मतदानको समय निर्वाचन आयोगले निर्धारण गर्ने उहाँले बताउनुभयो ।
चालिसेका अनुसार उम्मेदवारी दर्ताअघि नै कांग्रेसको विधान संशोधन प्रक्रिया टुंग्याइनेछ । नयाँ विधानअनुसार पदाधिकारी तथा अन्य पदको संख्या निर्धारण भएपछि सोहीअनुसार उम्मेदवारी दर्ता गरिने उहाँले जानकारी दिनुभयो ।
“सोमबार २ बजेदेखि ६ बजेसम्म उम्मेदवारीको मनोनयन गर्ने समयतालिका मिलाएका छौँ । त्यसपछि मतदानको कार्यक्रम निर्वाचन आयोगले निर्धारण गर्नेछ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार विधान संशोधनसम्बन्धी प्रस्ताव महामन्त्रीको संयोजकत्वमा गठित समितिले तयार पारेको छ । समितिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले छलफल गरी अन्तिम रूप दिनेछ र त्यसपछि महाधिवेशनको बन्दसत्रमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।
विधान संशोधनबाट केही पद थपघट वा संरचनामा परिवर्तन हुन सक्ने भएकाले महाधिवेशनबाट पारित हुने अन्तिम व्यवस्थाअनुसार पदाधिकारीको संख्या निर्धारण हुने चालिसेले बताउनुभयो । कांग्रेसले केही पदाधिकारी थप गर्ने तयारी गरिरहेको छ ।
७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
चालिसेका अनुसार कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । उहाँले यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको दाबी गर्नुभयो ।
महाधिवेशनमा मतदानका लागि राष्ट्रिय सभा गृह, नेपाल प्रज्ञा–प्रतिष्ठान र उद्घाटन हुने हल गरी तीन स्थानमा मतदान केन्द्र तोकिनेछ । भूगोलका आधारमा प्रतिनिधिलाई मतदान केन्द्र निर्धारण गरिनेछ ।
मतदान ब्यालेटमार्फत हुने र मतगणना कांग्रेसको पार्टी कार्यालयमा गर्ने तयारी रहेको चालिसेले जानकारी दिनुभयो ।
विदेशी पाहुनाको सहभागिता प्रभावित
महाधिवेशनको मिति परिवर्तन हुँदा विदेशी पाहुनाको सहभागिता प्रभावित भएको कांग्रेसले जनाएको छ ।
यसअघि असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने तय भए पनि मिति परिवर्तन गरी १८ गते पुर्याइएपछि केही विदेशी पाहुना निर्धारित कार्यक्रमअनुसार सहभागी हुन नसकेको चालिसेले बताउनुभयो ।
उहाँका अनुसार केही पाहुना आएर फर्किसकेका छन् भने केहीले शुभकामना सन्देश पठाएका छन् । विभिन्न देश तथा राजनीतिक दलबाट प्राप्त शुभकामना सन्देश उद्घाटन समारोहमा वाचन गरिनेछ ।
महाधिवेशनपछि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत कांग्रेसले गरेको चालिसेले जानकारी दिनुभयो । वैचारिक समानता तथा अन्तर्राष्ट्रिय भाइचारामा विश्वास गर्ने विभिन्न राजनीतिक दललाई सहभागी गराएर सम्मेलन आयोजना गर्ने तयारी रहेको उहाँको भनाइ छ ।
नेपालका सबै राजनीतिक दललाई महाधिवेशनमा सहभागिताका लागि निमन्त्रणा पठाइएको पनि उहाँले बताउनुभयो ।
देउवाबाट उद्घाटन गराउने कांग्रेसको चाहना
कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन पूर्वसभापति तथा निवर्तमान सभापति शेरबहादुर देउवाबाट गराउने इच्छा राखेको प्रवक्ता चालिसेले बताउनुभयो ।
कांग्रेसको परम्पराअनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापतिले गर्ने भए पनि यसपटक देउवालाई उद्घाटनका लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
“हाम्रो पूर्वसभापति तथा निवर्तमान सभापति शेरबहादुर देउवाबाट उद्घाटन गरिदिनुभयो भने हामी सबैले ठूलो सम्मान अनुभव गर्नेछौँ । उहाँबाटै उद्घाटन गराऔँ भन्ने हाम्रो इच्छा हो,” चालिसेले भन्नुभयो ।
यद्यपि, पार्टीको आग्रह स्वीकार गर्ने वा नगर्ने निर्णय देउवामै निर्भर रहने उहाँले स्पष्ट पार्नुभयो ।
पार्किङ र मिडिया सेन्टरको व्यवस्था
महाधिवेशनलाई व्यवस्थित बनाउन व्यवस्थापनको काम भइरहेको कांग्रेसले जनाएको छ । राष्ट्रिय सभा गृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ ।
ठूला बसका लागि माइतीघर–भद्रकाली खण्डमा पार्किङको व्यवस्था मिलाइएको चालिसेले बताउनुभयो ।
महाधिवेशनसम्बन्धी सूचना प्रवाहका लागि मिडिया सेन्टरसमेत स्थापना गरिएको छ । मिडिया सेन्टरमार्फत महाधिवेशनका गतिविधिबारे दिनमा दुई पटक जानकारी गराइने कांग्रेसले जनाएको छ ।






भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो