ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रति आफ्नो गहिरो आत्मीयता रहेको बताउँदै आफूलाई ‘जगदीश खरेल नेवार’का रूपमा चिनाउने इच्छा व्यक्त गर्नुभएको छ ।
ललितपुरमा आयोजित ज्यापु समाजको एक कार्यक्रममा सम्बोधन गर्दै सांसद खरेलले समाजको विधान, नियम र परम्पराले अनुमति दिए आफूलाई ज्यापु समाजको मानार्थ सदस्य बनाउन आग्रह गर्नुभयो । उहाँले आफूलाई कुनै अधिकार आवश्यक नभएको र समाजप्रतिको कर्तव्य निर्वाह गर्ने अवसर मात्र चाहेको बताउनुभयो ।
“अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ । यहाँहरूको विधान, नियम, कानून र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन । तर कर्तव्य निर्वाह गर्नका लागि भए पनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो,” उहाँले भन्नुभयो ।
समाजको सदस्यका रूपमा कर्तव्य पूरा नगरे गाली गर्ने अधिकारसमेत समाजलाई दिन आफू तयार रहेको उल्लेख गर्दै उहाँले अध्यक्ष बन्ने कुनै चाहना नभएको बताउनुभयो । नियम, संस्कृति र परम्पराले मिल्ने भए आफूलाई मानार्थ तथा कर्तव्यप्रति प्रतिबद्ध सदस्यका रूपमा स्वीकार गर्न उहाँले आग्रह गर्नुभयो ।
सांसद खरेलले ज्यापु समाज र ललितपुरको कला तथा संस्कृतिसँग आफ्नो पुरानै भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । ललितपुरको कला, संस्कृति र समुदायसँग जोडिएका अग्रजहरूसँगको सम्बन्धलाई आफूले व्यक्तिगत सम्बन्धभन्दा फरक रूपमा हेरेको उहाँको भनाइ छ ।
अमूर्त सम्पदा संरक्षणका लागि विधेयक ल्याउने प्रतिबद्धता
सांसद खरेलले आफ्नो कर्मभूमि ललितपुरको कला, संस्कृति तथा अमूर्त सम्पदाको संरक्षणका लागि संसद्मा सक्रिय भूमिका खेल्ने बताउनुभयो ।
आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदासम्बन्धी विधेयक अघि बढाउन पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । नेपालमा हालसम्म अमूर्त सम्पदासम्बन्धी छुट्टै ऐन नहुँदा सांस्कृतिक पर्व, जात्रा तथा परम्पराको संरक्षणमा कठिनाइ भइरहेको उहाँको भनाइ छ ।
नयाँ कानुनी व्यवस्थामा राज्यका तर्फबाट आवश्यक आर्थिक व्यवस्थापनसँगै स्थानीय समुदायको निर्णायक भूमिका सुनिश्चित गर्न आफूले पहल गरिरहेको उहाँले बताउनुभयो ।
खरेलले ललितपुरलाई कला र संस्कृतिको जीवन्त सहरका रूपमा व्याख्या गर्दै सम्पदा संरक्षणमा स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।
‘ललितपुर कन्क्लेभ’को प्रस्ताव
सांसद खरेलले ललितपुरको पर्यटन प्रवर्द्धनका लागि ‘ललितपुर कन्क्लेभ’को अवधारणासमेत अघि सार्नुभयो ।
उहाँले पाटनका ऐतिहासिक विभूति अरनिकोको जन्मस्थानबारे भइरहेको खोज तथा अनुसन्धानलाई निष्कर्षमा पुर्याएर त्यसलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो राजनीतिक यात्राभन्दा बढी समय ललितपुरको पाटन क्षेत्रमा बिताएको स्मरण गर्दै खरेलले नेवार समुदायप्रति आफ्नो विशेष आत्मीयता रहेको बताउनुभयो । ज्यापु समाजको मानार्थ सदस्य बन्ने इच्छासमेत यही आत्मीयताको अभिव्यक्ति भएको उहाँको भनाइ छ ।






भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो