मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । तर, कांग्रेसको यसपटकको महाधिवेशन एक पार्टीका दुई महाधिवेशन बन्न पुगेको छ । गत वर्ष पुसमा काठमाडौंमा भएको विशेष महाधिवेशनबाट सुरु भएको आन्तरिक विवाद समानान्तर महाधिवेशनको अवस्थामा पुगेको छ । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेसले पार्टीको महाधिवेशन आजबाट सुरु गर्दैछ । १४औँ महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस वडा अधिवेशनमा व्यस्त छ । निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशन आगामी मंसिरमा तय गरेको छ । पार्टीको १४औँ महाधिवेशनदेखि संस्थापनइतर समूहको नेतृत्व गर्दै आउनुभएका डा. शेखर कोइराला र समूहका प्रमुख नेताहरूले भने कुनै पनि महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन् । पार्टी नै फुट्ने तहको विवादका बीच हुन लागेको कांग्रेसको १५औँ महाधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चासोका साथ हेरिएको छ । यसै सन्दर्शमा विवादका बीच कांग्रेसको महाधिवेशनपछि मुलुकको राष्ट्रिय राजनीति, कांग्रेसको भविष्य, लोकतन्त्र र मुलुकको आर्थिक नीतिमा पर्न सक्ने असरबारे राजनीतिक विश्लेषण आनन्दराम पौडेलसँग हिमालय टाइम्सका लागि अनिल क्षेत्रीले गर्नुभएको संवादः-
विवाद र ध्रुवीकरणका बीच सुरु भएको १५औँ महाधिवेशनले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने सम्भावना बढी छ कि थप विभाजनतर्फ लैजाने जोखिम देख्नुहुन्छ ?
विभाजन भन्ने शब्दभन्दा पनि अब चाहिँ नेपाली कांग्रेस चोइटिने जस्तो चाहिँ स्थिति भयो । गगन थापा नेतृत्वको एगेन्स्टमा उभिएका पुराना नेताहरू छन्, पुरानाहरू चाहिँ अलिकति इगो राखेर, अलिकति आफ्नो एउटा सामन्ती सोच छ, अलिकति अहंकार छ, त्यो दर्शाउने काम भएको छ । त्यो पुरानाहरूको अहंकारले गर्दाखेरी मिल्न नदिएको मात्रै हो, नत्रभने यतातिर जुन चाहिँ संस्थापन पक्षले उनीहरूलाई मिलाउनलाई गरेका प्रयत्न पनि हामीले देखेका थियौं । उनीहरू कुनै पनि हालतमा विशेष महाधिवेशनबाट आएकाहरूलाई नेता नमान्ने, गन्दै नगन्ने, नेतृत्व स्वीकारै नगर्ने किसिमले पुरानो संस्थापन पक्ष गएको पनि देखिन्छ । उनीहरू अत्तो थाप्दै, निहुँ खोज्दै गए । अब कुरा के भयो भने त्यसो गइरहेको हामी सबैले देख्यौँ । तर, अहिले पछिल्लो कालमा जुन विकास भयो, शेरबहादुर देउवा पक्षको टिममा उभिएका मान्छेहरू पनि अब धेरै संस्थापनतिर आइसके । विगतमा साथ दिएका नेताहरू नै आइसकेको हुनाले शेरबहादुर देउवा पक्षको इस्यु नै कमजोर छ, मुद्दा नै कमजोर छ । उनीहरूको तर्क नै छैन । तथ्यमा आधारित तर्कहरू हुनुपर्यो, रिजनेबल तर्कहरू हुनुपर्यो । त्यो उनीहरूसँग देखिँदैन ।
उनीहरूको रिजनेबल ग्राउण्ड मात्र नमिसिने भन्ने कुरामा छ । गगनको नेतृत्व अस्वीकार गर्नुपर्ने कारणमा उनीहरूको तर्क कमजोर छ । त्यहाँमाथि देउवा पक्षका धेरै हस्तीहरू यता आइसके । यस्तो अवस्थामा अब संस्थापन पक्ष चाहिँ अगाडि बढ्छ । निर्वाचन आयोगले पनि मान्यता दिएर रिकग्नाइज गरिसक्यो । सर्वोच्च अदालतले पनि अनुमोदन गरिसकेको छ । त्यसले गर्दाखेरी यिनीहरू कानुनी हिसाबले पनि बलिया छन् । उनीहरूलाई देशका युवाहरूले, सबैले साथ दिइराखेका छन् । अब पुरानाहरूका लागि यसै पनि अब स्थान कमजोर हुँदै गइराखेको छ । त्यहाँमाथि निहुँ खोजेर बसेर, अब त्यहाँमाथि अर्को कुरा देउवा पक्षका हस्तीहरू नै धेरै यता आइसकेको अवस्थामा अब यसलाई विभाजन भन्ने शब्द प्रयोग नगरौं । अब जो आउँदैनन् अर्थात् पुरानै नेतृत्वतिर गएर बस्छन्, तिनीहरूलाई कांग्रेसमा चोइटिएर जाने कुराहरू मात्रै भन्नुपर्छ होला । विभाजन भन्ने त केन्द्रीय कमिटीबाट हुनुपर्यो, हाउस मेम्बर अर्थात् प्रतिनिधिसभामा भएका मध्येबाट हुनुपर्यो । कानुनी र वैध हिसाबले भन्दाखेरी विभाजन शब्द त्यहाँ छ । विभाजन शब्द त कानुनअनुसार भन्ने हो भने कम्तीमा पनि ४०% हुनुपर्ने कानुनले नै निर्धारण गरेको छ । त्यसो हुनाले विभाजन शब्द कानुनले अब इन्कार गरिसक्यो । अब बाँकी रह्यो चोइटिएको मात्रै कुरा हो । त्यसले गर्दाखेरी अब यो पुरानाहरूको भविष्य चाहिँ मैले देखिराखेको छैन ।
नेपालका केही पुराना र प्रभावशाली राजनीतिक नेताहरू (जस्तैः बाबुराम भट्टराई, वामदेव गौतम, माधवकुमार नेपाल, शेरबहादुर देउवा, प्रचण्ड र कमल थापा) को हिजोको जस्तो दबदबा र हालीमुहाली अब समाप्त हुँदैछ । केही वर्षअघिसम्म राजनीतिमा सक्रिय र प्रभावशाली रहेका यी नेताहरूको राजनीतिक भविष्य अब अस्ताउँदो घामजस्तै ओझेल पर्दै र सकिने अवस्थामा पुग्दैछ ।
पार्टीभित्र गगन थापा र शेरबहादुर देउवा पक्षबीचको विवादले कांग्रेसको दीर्घकालीन संगठनात्मक संरचनामा कस्तो प्रभाव पार्न सक्छ ?
यो दीर्घकालीनमा चाहिँ के हुन्छ भने उनीहरूका रणनीतिका कुराहरू हुन्छन्, उनीहरूका कार्यनीतिका कुराहरू हुन्छन्, कार्यक्रमहरू कस्तो ल्याउँछन् भन्ने कुराहरू हुन्छन् । र, त्योभन्दा पनि अहिले कस्तो भने कार्यशैलीको कुरा पनि छ । उनीहरूको कार्यशैली अब कस्तो हुन्छ ? जनतासँगका उनीहरूका व्यवहारका कुराहरू हुन्छन्, कति विश्वसनीयता आर्जन गर्ने भन्ने कुराहरू हुन्छन् । अब भविष्य त्यताबाट जान्छ । उनीहरूले सबभन्दा आवश्यकता, अहिले राष्ट्रको आवश्यकता के हो ? त्यसलाई सम्बोधन गर्यो कि गरेन ? राष्ट्रको आवश्यकता, जनताको आवाजलाई सुन्यो कि सुनेन ? जनतासँग कति घुलमिल भयो, अब यतातिर जान्छ भविष्य । त्यहीअनुसारको रणनीति बनाएको हो कि हैन त्यहीअनुसार भविष्य निर्धारण हुन्छ । राष्ट्रको आवश्यकता बुझेर रणनीति बनाए कि बनाएनन् ? कार्यनीति बनाए कि बनाएनन् र कार्यदिशा तय गरे कि गरेनन्, उनीहरूको त्यही बाटोबाट अगाडि बढ्न खोज्ने डिजाइनबाट, त्यही मार्गचित्रबाट चाहिँ उनीहरू अगाडि बढ्न खोज्यो कि खोजेन भन्ने कुरा मुख्य हो । मुख्य कुरा जनतासँग कति नजिक भयो ? जनताको आवाजलाई कति सुन्यो ? जनताको भावनालाई कति बुझ्यो ? जनताको समस्या कति सम्बोधन गर्यो ? जनतासँग कति नजिक हुने, त्यसैबाट भविष्य बन्ने कुरा हुन्छ । त्यसरी हेर्दाखेरी संस्थापन पक्षमा युवाहरू छन्, युवाहरू धेरै भएको हुनाले अब उनीहरू जनतासँग, जनताको भावना बुझेर अगाडि बढे भने भविष्य पनि यसकै छ । अर्को कुरा पनि हुन्छ, अर्को कुरा के पनि हुन्छ भने कहिलेकाहीँ अरुको कारणले पनि आफ्नो राजनीति बिग्रिँदै गए, भत्किँदै गए, जनताबाट चाहिँ स्खलित हुँदै गए, जनताको नजरबाट गिर्दै गए, विश्वास गुमाउँदै गए भने भन्न सकिन्न । अरु पार्टीहरूले जनताको विश्वास गुमाउँदै गए भने अनि त्यसको लाभ पनि मिल्न सक्छ । अरुको माइनस यतातिर प्लस पनि हुन्छ । त्यसले गर्दाखेरी अब यो भविष्य निर्धारण त्यसरी होला ।
यो महाधिवेशनलाई केवल नेतृत्व परिवर्तनको प्रक्रिया मान्ने कि कांग्रेसको वैचारिक पुनर्संरचनाको अवसरका रूपमा हेर्ने ?
राष्ट्रले मागेको वैचारिक पुनर्संरचना हो । समयको माग, राष्ट्रको आवश्यकता पनि वैचारिक पुनर्संरचना नै हो । नेतृत्व परिवर्तन मात्रै जनताले खोजेको पनि हैन, राष्ट्रको आवश्यकता पनि हैन, समयको माग पनि होइन । त्यसले गर्दा अहिले विधान संशोधनको कुरा पनि छ । विधान संशोधनको कुरा पनि आएको हुनाले उनीहरूले अब जनताको आवाज हो भनेर बुझेर, कदर गरेर त्यहीअनुसार विधान संशोधन गर्दै आफूलाई पनि त्यहीअनुसार ढाल्दै लगे राम्रो हुन्छ । नेतृत्व परिवर्तनको कुरा त गौण हो । यिनीहरूको कार्यशैलीमै परिवर्तन हुनुपर्छ, जनतालाई बुझेर, जनतालाई हेरेर कार्यक्रम बनाउँदै अगाडि बढ्नुपर्छ । आफ्नो कार्यशैलीमा पनि परिवर्तन गर्नुपर्छ र त्यो गर्यो भने यिनीहरूको भविष्य छ । त्यसैले अहिलेको सवाल पनि त्यसैमा फोकस हुनुपर्छ । अहिलेको अधिवेशन पनि त्यसैमा हुनुपर्छ । तिनीहरूले त्यसैलाई प्रण गर्नुपर्छ, संकल्प गर्नुपर्छ । सम्भावना छ, तिनीहरूले अब कति बुझ्छन् र कति गर्छन् भन्ने कुरा चाहिँ हेर्नुपर्छ ।
युवा नेतृत्वको उदय र पुरानो पुस्ताको प्रभावबीच सन्तुलन कायम गर्न कांग्रेस कत्तिको सफल होला ?
सफल होस् भनेर कामना गरौं । हामीले आशा गर्ने कुरा हो । यिनीहरूले कुरा गरिराखेका छन्, गर्छौं भनेर आएका छन् तर हामी तुरुन्तै फेरि विश्वास गरिहाल्न सक्ने अवस्थामा किन छैनौं भने यिनीहरू हिजोकै स्कुलिङबाट हुर्केकाहरू छन् नेतृत्वमा । त्यही देउवाहरूकै समूहबाट प्रशिक्षित भएका, स्कुलिङ भएका छन् । तिनीहरूबाट धेरै आशा हामी किन गर्दैनौं भने तिनीहरूले हिजो पनि राम्रो गर्न खोजेका तर आफूलाई परिवर्तन गर्न खोजेका थिएनन् । त्यसले गर्दा हामीले बढी आशा चाहिँ नगरौं, बढी विश्वास गरी नहालौं, पत्याइचाहिँ नहालौं । किनभने हिजोकै स्कुलिङबाट हुर्केकाहरू नै अहिलेको यो संस्थापन पक्षको नेतृत्वमा आएका छन् । त्यसैले बढी भर पर्न चाहिँ सकिँदैन, आशासम्म गरौँ ।
महाधिवेशन प्रतिनिधि चयन, विधानसम्बन्धी विवाद र पछिल्लो समय पदाधिकारी थप्नुपर्ने बहसले पार्टीको आन्तरिक लोकतन्त्रबारे कस्तो सन्देश दिएको छ ?
यो चाहिँ अधिवेशनले मिलाउने कुराहरू हो । केन्द्रीय कमिटीमा छलफल भएर अधिवेशनमा लाने प्रस्तावहरू हुन् । त्यसले गर्दा केन्द्रीय कमिटीले आवश्यक देख्यो, अधिवेशनले पनि त्यसलाई अनुमोदन गर्यो, त्यही नै ठहर गर्यो भने आन्तरिक मामला हो । आन्तरिक व्यवस्थापनको कुरा हो । उनीहरूको आन्तरिक व्यवस्थापन मिलाउन मिलाउँदा जुन उनीहरूले आवश्यक देखेका छन् त्यो आवश्यकताअनुसार जरुरत देखे अनुसार मिलाउनुपर्ने र त्यहीअनुसार विधानमा पनि मिलाउनुपर्ने कुराहरूलाई अन्यथा भन्न मिल्दैन । त्यो त उनीहरूले गर्न खोजेको के हो ? कहाँ जान खोजेको ? कुन बाटो कसरी जान खोजेको भन्ने हामीले हेर्ने कुरा हो । आन्तरिक व्यवस्थापन मिलाउने कुरालाई विधिसम्मत ढंगले, विधिविधानपूर्वक मिलाउने कुरामा अन्यथा भन्न मिल्दैन ।
महाधिवेशनले नयाँ पुस्ता, महिला, दलित, युवाको प्रतिनिधित्व बढाउन सकेको देखिन्छ कि पुरानै शक्ति समीकरण हावी भएको छ ?
शेरबहादुर देउवाहरूकै पुरानो कांग्रेसकै स्कुलिङबाट आएकाहरू नै अहिले नेतृत्वमा छन् । हावी त्यही छ । तर, अहिले कति परिवर्तन भयो भन्ने कुरा हामीले हेर्ने कुरा हो । केही परिवर्तनका लक्षणहरू छन् । केही परिमार्जन भएको जस्तो पाएका छौँ । अब यो अनेक किसिमका क्लस्टरहरूको कुरा छँदैछ । सकेसम्म समावेशी भन्ने कुरा, हामी कहाँ एउटा चलन सुरु पनि गरेको छ । जनताले बुझेको चाहिँ यहाँ राज्यले समावेशी भने पनि अर्कै किसिमले लगिराखेको छ । समावेशीको अर्थ हो तिनीहरू जो पछाडि परेका छन्, तिनीहरूलाई राज्यले योग्य बनाउने सक्षम बनाउने । पार्टी पनि एउटा शक्ति हो । तिनीहरूले पनि सक्षम बनाउने, तिनीहरूलाई उठाउने, तिनीहरूलाई योग्य बनाउने, तिनीहरूलाई दह्रो बनाएर उठाउने हो । योग्य बनाएर, सक्षम बनाएर उनीहरूलाई लायक बनाएर अगाडि आउने, बढाउने प्रोग्रामहरू गर्नुपर्ने हो । समावेशीको नाममा बटुलबाटुल पारेर ल्याउने चलन यहाँ राज्यले गरिराखेको छ । यो सिस्टमले समावेशीको नाममा कोटा बाँड्दै, उठाउँदै ल्याउँदै गर्दा पछाडि परेकालाई योग्य बनाउन, सक्षम बनाउन सकिँदैन ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको राजनीतिक भविष्य अब के होला ?
केही व्यक्तिहरूको राजनीतिक भविष्य सकिँदै छ । बाबुराम भट्टराई अझै पनि कोसिस गर्दै हुनुहुन्छ । यता उताबाट कोसिस गर्नुहुन्छ । यताबाट/उताबाट कोसिस गर्नुहुन्छ तर पनि उहाँ ओरालो लागिसक्नुभएको छ । उहाँको पनि डुब्न लागेको घाम जस्तो हैन, अपराह्नको अर्थात् सन्ध्याकालीन घामजस्तो भइसक्नुभएको छ । वामदेव गौतम, हुँदाहुँदा माधवकुमार नेपालको स्थिति त्यो छ । त्यही लाइनमा अब शेरबहादुर देउवा पनि देखिनुहुन्छ । शेरबहादुर देउवापछि प्रचण्डको पनि हालत त्यही हुनेवाला छ । कमल थापाको पनि त्यो हालत हुन सक्छ । यसरी केही राजनीतिक नेताहरूको हिजोका दिनमा जुन उनीहरूको चुरीफुरी थियो, एकदम एक्टिभिटी थियो, उनीहरूकै हालीमुहाली, रजगज थियो । भर्खर दुईतीन वर्षअगाडिसम्म, तीनचार वर्षअगाडिसम्म, एक वर्ष, डेढ वर्षअगाडिसम्म जस्तो रजगज, हालीमुहाली चलिराखेको थियो तिनीहरू अब विस्तारै ओझेल पर्दै जाने हो । तिनीहरू विस्तारै घाम डुब्ने जस्तो, तिनीहरूको राजनीति सकिने/सकिने अवस्थामा पुगिराखेको छ । त्यो लाइनमा शेरबहादुर देउवा पनि जानुहुन्छ ।







प्रदेश सरकार मार्फत म्याग्दीका पाँच
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै