काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ १० गतेको बाढीका कारण बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने बीमितलाई छ महिनासम्म ब्याज नलाग्ने गरी अवधि थपको सुविधा दिन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले बाढीबाट प्रभावित बीमित तथा हकवालाको हितलाई ध्यानमा राख्दै जीवन बीमाअन्तर्गत मृत्यु दाबी, समर्पण, बीमालेख कर्जा र परिपक्व भुक्तानीलगायतका प्रक्रियासमेत सहज बनाउन भनेको छ । प्राधिकरणका अनुसार बाढीका कारण बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्था भएमा जीवन बीमा कम्पनीहरूले छ महिनासम्मको अवधि थप गर्नुपर्ने र उक्त अवधिमा थप ब्याज लिनुहुँदैन ।
त्यस्तै, बाढी प्रभावित बीमितले मृत्यु दाबी गर्दा आवश्यक पर्ने प्रमाण तथा कागजातमा समेत सरलता अपनाउन प्राधिकरणले निर्देशन दिएको छ । मृत्यु दाबीका लागि बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर र दाबीकर्तासँगको नाता खुलाउनुपर्नेछ ।
दाबी निवेदनसँग बीमित र दाबीकर्ताबीचको नाता प्रमाणित हुने कागजात तथा दाबीकर्ताको परिचय खुल्ने सरकारी निकायबाट जारी परिचयपत्र पेश गर्नुपर्नेछ । जसका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जामध्ये परिचय खुल्ने कागजात पेश गर्न सकिनेछ । बीमालेख उपलब्ध नभएको अवस्थामा भने बीमा कम्पनीमा रहेको अभिलेखलाई आधार मानेर दाबी प्रक्रिया अघि बढाउन सकिनेछ । सक्कल बीमालेख उपलब्ध नभए कम्पनीको अभिलेखमा रहेको प्रतिलिपिलाई मान्यता दिन सकिनेछ । बीमितले बीमालेखको प्रतिलिपि माग गरेमा बीमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।
बाढी वा अन्य विपद्का कारण मृत्यु भएको प्रमाणित गर्न अधिकारप्राप्त निकाय वा अधिकारीबाट जारी गरिएको बाढी तथा विपद्मा परी मृत्यु भएको बेहोरासहितको प्रमाणित विवरण वा सिफारिस पत्र पेश गर्न सकिने व्यवस्था गरिएको छ । बाढीका कारण बीमा कम्पनीमा सुरक्षित बीमासम्बन्धी कागजात नष्ट भएको अवस्थामा सम्बन्धित बीमित तथा अभिकर्ताले आवश्यक विवरण उपलब्ध गराई कम्पनीको अभिलेख अद्यावधिक गर्न सहयोग गर्नुपर्नेछ ।
त्यसैगरी बाढीमा बेपत्ता भएका बीमितको मृत्यु दाबी भुक्तानीसमेत सहज बनाइएको छ । जसअन्तर्गत सम्बन्धित हकवालाले दाबी भुक्तानी लिँदा भविष्यमा बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वःघोषणा वा प्रतिबद्धतापत्र लिएर दाबी भुक्तानी गर्न सकिनेछ ।







म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा