काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनअघि तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य सहकार्यको प्रस्ताव गरेको दाबी गर्नुभएको छ ।
थापाले आफ्नो नयाँ पुस्तक ‘रिइम्याजिनिङ नेपाल’ मार्फत यस्तो दाबी सार्वजनिक गर्नुभएको हो ।
थापाका अनुसार २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचारप्रसार चलिरहेका बेला चैत ११–१२ गतेतिर डा. बाबुराम भट्टराईले आफूलाई सम्पर्क गर्नुभएको थियो । अमृत साइन्स कलेजका सहपाठीसमेत रहेका भट्टराईले काठमाडौंको बालाजुस्थित एक गोप्य स्थानमा भेटेर संविधानसभा निर्वाचनबाट अपेक्षित लाभ नहुने भन्दै राजालाई मनाएर माओवादी नेतृत्वमा सरकार गठन गर्न मध्यस्थता गरिदिन आग्रह गरेको थापाको दाबी छ ।
भट्टराईको सन्देश लिएर आफू नारायणहिटी दरबार पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले उक्त प्रस्ताव भट्टराईको मात्र हो वा प्रचण्डको पनि हो भनेर प्रश्न गर्नुभएको थापाले पुस्तकमा उल्लेख गर्नुभएको छ ।
त्यसको भोलिपल्ट बिहान बालाजुमै प्रचण्ड र भट्टराई दुवैसँग भेट भएको र प्रचण्डले समेत राजासँग सहकार्यको वातावरण बनाउनुपर्ने प्रस्तावको पुष्टि गरेको थापाको दाबी छ ।
थापाका अनुसार उक्त भेटमा माओवादी नेताहरूले कम्बोडियाको जस्तो मोडल वा ‘सांस्कृतिक राजा’ को अवधारणासमेत अघि सारेका थिए । तर, राजासमक्ष प्रस्ताव राख्दा संसदवादी तथा प्रजातान्त्रिक शक्तिहरूलाई बाहिर राखेर माओवादीसँग मात्रै सहकार्य नगर्ने स्पष्ट अडान लिएपछि प्रयास त्यहीँ टुंगिएको उहाँले उल्लेख गर्नुभएको छ ।
थापाले त्यस भेटको केही दिनपछि भट्टराईले बुटवलमा आयोजित आमसभामा ‘सांस्कृतिक राजा’ को अवधारणा सार्वजनिक रूपमा उठाएको पनि पुस्तकमा स्मरण गर्नुभएको छ ।
थापाले २०६२/०६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गर्ने निर्णय गरिसकेको दाबीसमेत गर्नुभएको छ । उहाँका अनुसार राजा कुनै पनि जनधनको क्षति नहोस् भन्ने पक्षमा हुनुहुन्थ्यो ।
पुस्तकमा थापाले २०६३ वैशाख ६ गते राजा ज्ञानेन्द्रले आन्दोलनकारीमाथि मानवीय क्षति हुन नदिई सत्ता हस्तान्तरण गर्ने निर्णय लिएको र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सरकारको नेतृत्व सुम्पने तयारी गरेको दाबी गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्रीका विशेष दूत डा. कर्ण सिंह नेपाल आउनुअघि नै नेपालले बाह्य दबाबबिना आफ्नै निर्णयबाट राजनीतिक निकास खोजेको सन्देश दिन राजाले यस्तो रणनीति बनाएको थापाको दाबी छ ।
थापाले पुस्तकमा उल्लेख गरेका यी विवरण उहाँका आफ्नै संस्मरण तथा दाबीका रूपमा सार्वजनिक भएका हुन् ।






भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो