बागलुङ । बस्तीभन्दा केही टाढा बग्ने दरमखोलाले असोज ११ गते साँझ एकाएक धार परिवर्तन गर्दै बस्ती र खेततर्फ कटान गरेपछि गलकोट नगरपालिका–९ बाँसखोलामा ठूलो क्षति पुगेको छ । बाढीले वडा कार्यालयको भवनसहित सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ ।
वर्षौँदेखि स्थानीयको बसोबास रहेको बाँसखोला पछिल्लो समय बजारका रूपमा विस्तार हुँदै थियो । बस्ती संरक्षणका लागि दरमखोलामा तटबन्धसमेत निर्माण गरिएको थियो । तर, असोज ११ गते साँझ आएको अस्वाभाविक बाढीले तटबन्ध कटान गर्दै खेत र वडा कार्यालय रहेको क्षेत्रमा क्षति पुर्याएको हो ।
बाढीको कटानका कारण गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन खोलामै ढलेको छ । भवनसँगै आसपासको बगैँचा, पार्किङ क्षेत्र र सोलार बत्तीसमेत बगाएको छ । कार्यालय भवन निर्माणका लागि नगरपालिकाले करिब ८० लाख रुपैयाँ खर्च गरेको थियो ।
संघीयता कार्यान्वयनपछि भएको पहिलो स्थानीय तह निर्वाचनबाट वडाध्यक्ष निर्वाचित भएपछि जेतबहादुर थापाले वडा कार्यालय भवन निर्माणको पहल गर्नुभएको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनपछि उहाँकै पहलमा गाडी पार्किङ र बगैँचासहितको सुविधायुक्त भवन निर्माण गरिएको थियो ।
आफ्नै पहलमा निर्माण भएको भवन बाढीले ढलाएपछि वडाध्यक्ष थापा निकै चिन्तित हुनुहुन्छ । उहाँ अहिले पनि बिहान–बेलुका ढलेको भवन हेर्न पुग्नुहुन्छ । भवनभित्र अझै केही आवश्यक सामग्री रहेकाले जोखिम मोलेर उहाँ आफैँ सामान निकाल्न पुग्ने गर्नुभएको छ ।
बाढीपछि कहिले कुर्सी, कहिले टेबल त कहिले कम्प्युटरका पार्टपुर्जा निकालेर सुरक्षित स्थानमा सार्ने गरिएको छ । वडाध्यक्ष थापालाई स्थानीय युवाहरूले समेत सहयोग गरिरहेका छन् । बाढीले भवन बगाउने कल्पना कसैले नगरेको र खेत कटान गर्दै बाढी भवनसम्म पुगेपछि मात्रै यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।
वडा कार्यालय भवन ढलेपछि अहिले नजिकैको गाउँमा एउटा घर भाडामा लिएर वडा कार्यालयको सेवा सञ्चालन गरिएको छ । बाढी आउन थालेपछि स्थानीयले कार्यालयका अत्यावश्यक कागजात भने सुरक्षित स्थानमा सारेका थिए । अन्य सामग्री भने भवनसँगै खोलामा पुगेका छन् ।
बाढीले वडाध्यक्ष थापाको समेत लाखौँ रुपैयाँ मूल्य पर्ने धानखेत बगाएको छ । तर, उहाँलाई आफ्नो खेतको क्षतिभन्दा वडा कार्यालय भवन ढलेकोमा बढी चिन्ता छ । बाढीपछि खेत बगरमा परिणत भए पनि उहाँ एकपटक पनि खेत हेर्न नगएको, बरु ढलेको वडा कार्यालय हेर्न दिनमा पटक–पटक पुग्ने गरेको बताउनुहुन्छ ।
‘यसपटक दरमखोलाले हामीलाई निकै दुःख दियो । हामीले कल्पना गरेभन्दा बाहिरको घटना भयो । यस्तो घटना पछिल्लो दशकमा भएको सायद थिएन,’ थापाले भन्नुभयो, ‘अहिले भवन खोलामा लडेको छ । त्यसैले एउटा घर भाडामा लिएर जनतालाई सेवा दिन थालेका छौँ ।’
उहाँका अनुसार वडा कार्यालय भवनसँगै आफूले दुई कार्यकालमा गरेका कामका दस्तावेज र आफ्नो राजनीतिक यात्रासँग जोडिएको इतिहाससमेत गुमेको अनुभूति भएको छ ।
‘भवनसँगै मेरो इतिहास मेटियो । यहाँ मेरा दुई–दुई कार्यकालको एक–एक थोपा पसिना छ । मैले गरेको एउटा उपलब्धि थियो, तर त्यो मेटियो,’ थापाले भन्नुभयो, ‘मेरो धानखेत बगेर मलाई खासै चिन्ता लागेको छैन । म एकपटक पनि त्यो खेतमा पुगेको छैन । तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु । यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ ।’
बाढीले वडा कार्यालयसँगै करिब १५ लाख रुपैयाँ लागतमा जडान गरिएको सोलार बत्तीसमेत बगाएको छ । उक्त भवन गलकोट नगरपालिकाका ११ वडामध्ये निर्माण भएको पुरानो र सुविधायुक्त भवनमध्ये एक थियो ।
भवन खोलामा ढले पनि अझै बलियो रहेको वडाध्यक्ष थापाको भनाइ छ । प्राविधिक रूपमा सम्भव भए भवनलाई उठाएर पुनःस्थापना गर्ने उहाँको इच्छा छ । तर, बाढीले ढलाएको संरचना उठाएर पुनःनिर्माण गर्दा प्राविधिक जोखिम हुनसक्ने देखिएको छ ।
गलकोट नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको विवरणअनुसार पछिल्लो बाढीले नगर क्षेत्रमा २२ घरमा क्षति पुर्याएको छ । बाढीबाट घर, गोठ तथा विभिन्न व्यवसायमा क्षति पुगेको छ ।
नगरपालिकाका अनुसार गलकोट–५ हरिचौर र वडा नम्बर ६ चरौंदी क्षेत्रमा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ ।







बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै