चितवन। कोही डोरीले ठेला तान्दै थिए, कोही घिसार्दै त कोही आफैँ धकेल्दै थिए । कोही प्याज ताछ्न व्यस्त थिए । शनिबार बिहान चितवनस्थित नारायणी नदी किनारको दृश्य यस्तै थियो ।
असोज ९ देखि १२ गतेसम्म उर्लिएको नारायणी अहिले शान्त छ । नदी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल पनि बिस्तारै फर्किन थालेको छ । तर, बाढीअघि मानिसहरूको बाक्लो भीड र फोटो खिच्नेहरूको चहलपहल हुने नारायणी किनार अहिले ढुंगा, गेग्रान र हिलोले भरिएको छ ।
किनारमा व्यापार गरेर जीविकोपार्जन गर्दै आएका करिब १५० देखि २०० साना ठेला व्यवसायी अहिले बिस्तारै आफ्नो व्यवसायमा फर्किन थालेका छन् । साना ठेला किनारका छेउछाउमा राखेर व्यापार गर्न थालिए पनि ठूला ठेला भने बाटो र पार्किङ क्षेत्रमा थन्किएका छन् ।
ठेला व्यवसायीहरू भरतपुर महानगरपालिकालाई शुल्क बुझाएर व्यवसाय गर्दै आएका छन् । बाढीपछि महानगरपालिकासँग छलफल गरेर उनीहरू पुनः किनारमा फर्किएका हुन् । महानगरपालिकाले व्यापार सञ्चालन गर्न सहज हुने गरी आवतजावतको बाटो बनाइदिने प्रतिबद्धता जनाएको व्यवसायीहरूले बताएका छन् ।
नारायणी किनारमा करिब एक दशकदेखि व्यापार गर्दै आएकी तारादेवी परियार पनि बाढीपछि ठेला लिएर फर्किनुभएको छ । तर, बाढीले किनारको अवस्था नै बदलिदिएपछि उहाँको मन खिन्न छ ।
‘यो देख्दा रुन मन लाग्छ,’ उहाँले भन्नुभयो, ‘कति रमझम थियो । परारको बाढीले अलिअलि भत्काएर लग्यो । यसपालि त झन् सोत्तरै पारिदियो । खोला र पानीसित मान्छेको के लाग्छ र ?’
परियारको तीनजनाको परिवार यही व्यवसायमा निर्भर छ । तर, अहिले व्यापारबाट दैनिक खर्च धान्नसमेत कठिन हुन थालेको उहाँ बताउनुहुन्छ ।
‘दैनिक चटपटे र मःमका लागि प्याज, मैदा, दुई किलो मासु, मसला र पानी किन्दा तीन हजार रुपैयाँ लगानी नै गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हिजो दुई हजार रुपैयाँको मात्रै व्यापार भयो ।’
नारायणी किनारमा पाका पुस्तामात्र होइन, आफ्नै ठाउँमा भविष्य खोजिरहेका युवासमेत ठेला व्यवसायमा छन् । गैँडाकोटकी ज्योति पौडेल बिहान स्नातक तहको अध्ययन गर्नुहुन्छ भने दिउँसो दुई दिदीबहिनीसँगै ठेला सञ्चालन गर्नुहुन्छ । उहाँका दिदीबहिनीले पाँच वर्षदेखि नारायणी किनारमा फास्टफुडको व्यापार गर्दै आएका छन् ।
‘हामी युवा हौँ, भर्खरै पढ्दै छौँ । विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर दिउँसो ठेला चलाएका हौँ,’ पौडेलले भन्नुभयो, ‘तर बाढी आएपछि मानिस आउने बाटो नै बाँकी रहेन । हिँड्ने ठाउँ सबै ढुंगैढुंगा छ । घुम्ने ठाउँ नै ध्वस्त भएपछि व्यापार पूरै घटेको छ ।’
व्यापार घटे पनि स्थानीय शुल्कको दायित्व भने यथावत् रहेको व्यवसायीहरूको गुनासो छ । पोखराबाट भरतपुर आएर भाडामा बस्दै पाँच वर्षदेखि ठेला चलाउँदै आउनुभएकी पवित्र अधिकारीको अनुभव पनि उस्तै छ ।
‘अहिले त कोही मान्छे नै आउँदैनन् । फोटो खिच्ने ठाउँसमेत छैन,’ उहाँले भन्नुभयो, ‘व्यापार भए पनि नभए पनि महिनाको २ हजार ५०० रुपैयाँ महानगरलाई र २०० रुपैयाँ फोहोरको शुल्क बुझाउनै पर्छ ।’
ठेला व्यवसाय नै आफ्नो आम्दानीको मुख्य आधार भएकाले व्यापार घट्दा दैनिक जीवन चलाउनसमेत समस्या हुन थालेको अधिकारी बताउनुहुन्छ ।
बाढीले नारायणी किनारको भौतिक संरचना र व्यापारिक वातावरणमा ठूलो असर पारे पनि व्यवसायीहरू भने विस्तारै आफ्नो पुरानै रोजगारीमा फर्कने प्रयासमा छन् । उनीहरूको अपेक्षा छ—किनार सफा होस्, आवतजावत सहज बनोस् र बिस्तारै नारायणी किनारमा फेरि मानिसहरूको चहलपहल फर्कियोस् ।







एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि