काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस गर्न तयार पार्नुभएको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि विभिन्न प्रस्ताव अघि सार्नुभएको छ ।
प्रतिवेदनमा कांग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण पार्टी र जनताबीच दूरी बढेको स्वीकार गरिएको छ । अब नयाँ राजनीतिक संस्कार र कार्यशैलीसहित पार्टीलाई अघि बढाउनुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ ।
प्रतिवेदनमा भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई षड्यन्त्रका रूपमा मात्र नहेरी आन्दोलनले उठाएका सुशासन, अवसर, न्याय र समानताका मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख छ ।
आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग, हिंसा तथा क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, फागुन २१ गतेको निर्वाचन परिणामलाई कांग्रेस र नागरिकबीच बढेको दुई दशक लामो दूरीको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उल्लेख छ ।
‘छाया सरकार’ गठनको प्रस्ताव
निर्वाचनपछिको भूमिकामा कांग्रेसलाई प्रभावकारी प्रमुख प्रतिपक्षका रूपमा स्थापित गर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । सरकारका कामको तथ्यमा आधारित निगरानी, भ्रष्टाचार तथा अधिकार हननविरुद्ध खबरदारी र वैकल्पिक नीति प्रस्तुत गर्न संघीय तथा प्रदेश तहमा ‘छाया सरकार’को अवधारणा अघि सारिएको छ ।
आगामी निर्वाचनमा पूर्वनिर्वाचन गठबन्धन नगर्ने र कांग्रेस आफ्नै चुनाव चिह्न, उम्मेदवार तथा एजेन्डासहित जनतामाझ जाने प्रस्ताव गरिएको छ ।
उम्मेदवार छनोटमा गुट, पहुँच र आर्थिक प्रभावभन्दा योग्यता, योगदान तथा कार्यसम्पादनलाई आधार बनाउने प्रस्ताव छ । त्यसका लागि प्राथमिक निर्वाचन, जनमत संग्रह वा पार्टी सदस्यको प्रत्यक्ष मतदानजस्ता विधि अपनाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
लोकतन्त्र र समाजवादको पुनर्व्याख्या
वैचारिक रूपमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई २१औँ शताब्दीअनुकूल पुनर्व्याख्या गर्ने प्रस्ताव गरिएको छ ।
राष्ट्रियतालाई ऊर्जा, खाद्य, प्रविधि, वित्त तथा ज्ञानको क्षमतासँग जोड्दै लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रियामा मात्र सीमित नराखी नागरिकको निरन्तर सहभागिता र निर्णय प्रक्रियासम्म विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।
निजी क्षेत्र र उत्पादनमुखी अर्थतन्त्रमा जोड
आर्थिक क्षेत्रमा निजी क्षेत्रलाई रोजगारी, उत्पादन, लगानी तथा नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ ।
लगानी सुरक्षा, नीतिगत स्थिरता र व्यवसाय गर्ने वातावरण सुधार गर्दै रेमिट्यान्सलाई कृषि, उद्योग, पर्यटन तथा प्रविधिमा लगानी गर्ने वातावरण बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । जलविद्युत् तथा स्वच्छ ऊर्जालाई औद्योगिकीकरण र हरित निर्यातसँग जोड्ने योजना पनि अघि सारिएको छ ।
‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणाअन्तर्गत आर्थिक वृद्धि मात्र नभई शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
सुरुवातदेखि नै समान अवसर सिर्जना गर्ने ‘पूर्व-वितरणात्मक न्याय’को अवधारणालाई शिक्षा, स्वास्थ्य, सीप, वित्तीय पहुँच र रोजगारीसँग जोडिएको छ ।
युवाका लागि रोजगारी, आप्रवासन र सामाजिक सुरक्षामा जोड
युवाका लागि देशभित्रै सम्मानजनक रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित तथा अधिकारमुखी बनाउने र आप्रवासी नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रस्ताव प्रतिवेदनमा छ ।
रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने तथा जनसंख्या र बसाइँसराइको बदलिँदो स्वरूपअनुसार प्रशासनिक सीमाभन्दा नागरिक वास्तवमा कहाँ बस्छन् र कहाँ सेवा चाहिन्छ भन्ने आधारमा विकास योजना बनाउनुपर्ने उल्लेख गरिएको छ ।
कृषि, ऊर्जा, पानी, पर्यटन, उद्योग तथा डिजिटल प्रविधिलाई उत्पादनमुखी अर्थतन्त्रको आधार बनाउने प्रस्ताव पनि प्रतिवेदनमा समेटिएको छ ।
जलवायु परिवर्तनलाई आर्थिक तथा राष्ट्रिय सुरक्षाको विषयका रूपमा लिएर पूर्वाधार, बस्ती तथा विकास योजनामा विपद् जोखिमलाई अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड दिइएको छ ।
एआईअनुकूल शिक्षा र सीप प्रणाली
प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) ले रोजगारी, शिक्षा तथा ज्ञानको क्षेत्रमा ल्याउने परिवर्तनअनुसार शिक्षा र सीप प्रणालीलाई पुनर्संरचना गर्ने प्रस्ताव गरिएको छ ।
सामाजिक क्षेत्रमा जातीय विभेद, बालविवाह, लैंगिक हिंसा तथा कुपोषण अन्त्यसँगै शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्नुपर्ने उल्लेख छ । ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा कमजोर वर्गको सामाजिक सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ ।
संघीयता र संक्रमणकालीन न्याय
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा प्रशासनिक र वित्तीय संघीयता बलियो बनाउनुपर्ने प्रस्ताव छ ।
संविधान संशोधन आवश्यक भए राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने र संक्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजीको विषय नबनाई सत्य, न्याय तथा परिपूरणसहित टुंग्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
नेताको भ्रष्टाचार संरक्षण नगर्ने प्रतिबद्धता
पार्टीभित्र आर्थिक पारदर्शिता, नियमित लेखापरीक्षण, आचारसंहिता तथा भ्रष्टाचारको आरोप लागेका नेतामाथि छानबिनको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।
न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय तथा प्रशासनमा पार्टीगत भागबन्डा नगर्ने र आफ्ना नेता वा कार्यकर्ताको भ्रष्टाचारलाई समेत संरक्षण नगर्ने प्रतिबद्धता प्रतिवेदनमा राखिएको छ ।
प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था, निर्वाचनमा ‘नन अफ द अबभ’ (NOTA) को विकल्प, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने प्रस्ताव पनि अघि सारिएको छ ।
जेनेरेसन–जेडका माग अध्ययन गर्न कार्यदल
युवाको असन्तुष्टि तथा जेनेरेसन–जेडका माग अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ कार्यदल गठन गर्ने र त्यसका सुझावलाई नीति निर्माणमा समेट्ने प्रस्ताव गरिएको छ ।
सहिद, घाइते तथा विस्थापित परिवारका लागि १० करोड रुपैयाँको अक्षयकोष स्थापना गरी शिक्षा र स्वास्थ्यमा दीर्घकालीन सहयोग गर्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ ।
थापाले पार्टी संगठनलाई पाँच पुस्ताबीचको सहकार्यमा अघि बढाउने प्रस्ताव गर्नुभएको छ । नेतृत्व विकास तथा नीति निर्माणका लागि प्रशिक्षण, नीति, निर्वाचन र सुशासनसम्बन्धी संस्थागत संरचना निर्माण गर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ ।
पहिलो १०० दिनमा पार्टीको विगत दुई दशकको राजनीतिक तथा सांगठनिक कार्यसम्पादन समीक्षा गर्ने, पहिलो वर्षमै प्रदेशगत कार्यदलमार्फत शिक्षा, पोषण, रोजगारी, सुशासन तथा हरित विकासका कार्यक्रम अघि बढाउने र प्रत्येक वर्ष ‘समुन्नति प्रतिवेदन’ सार्वजनिक गर्ने प्रस्तावसमेत गरिएको छ ।
समग्रमा थापाको राजनीतिक प्रतिवेदनले नेतृत्व परिवर्तनमा मात्र नभई राजनीतिक संस्कार, पार्टी संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता तथा सुशासनमा रूपान्तरणलाई कांग्रेसको आगामी कार्यदिशाका रूपमा प्रस्तुत गरेको छ ।




एमाले अध्यक्ष ओलीद्वारा नीति अध्ययन
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम
काँग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा
उत्पादन, दिगो रोजगारी र जीवनस्तर
विदेशी मुद्रा सञ्चिति ४० खर्ब
बाढीले पुरेको म्याग्दीको तातोपानी कुण्ड