काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम नभई आत्मसुधार, पुनर्जागरण तथा नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति भुसालले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन तथा नयाँ पुस्ताका आकाङ्क्षा सम्बोधन गर्न कांग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले लामो समयदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै आएको ऐतिहासिक राजनीतिक शक्तिका रूपमा कांग्रेसले वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने दायित्व यही महाधिवेशनबाट पूरा गर्नुपर्ने बताउनुभयो ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप समावेशी र संस्थागत बनाउन तथा केन्द्रीय तहबाट हुने हरेक निर्णय पारदर्शी रूपमा तल्लो तहसम्म पुर्याउन उहाँले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
नयाँ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरिरहेको उल्लेख गर्दै भुसालले उनीहरूको सपना र भरोसालाई सम्बोधन गर्ने गरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो महाधिवेशन एउटा सामान्य भेला होइन । नेपाली कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन, संवाद र आत्मसमीक्षा गर्ने महत्वपूर्ण थलो हो । यो महाधिवेशन केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि मात्र भइरहेको छैन । यसलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको ऐतिहासिक अवसरका रूपमा लिन आवश्यक छ ।’
संविधान, कानुनी शासन र मानवअधिकारविपरीत हुने कुनै पनि अलोकतान्त्रिक अभ्यास कांग्रेसलाई स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो । साथै, बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद तथा राष्ट्रियताको सिद्धान्तलाई महाधिवेशनको मूल मर्म बनाउनुपर्ने उहाँको भनाइ थियो ।
भुसालले महाधिवेशनपछि जनताको विश्वास अझ बढाउन गाउँ–गाउँमा जाने ऊर्जा र प्रतिबद्धता पार्टीसँग छ कि छैन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताउनुभयो ।
‘पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ लोकतान्त्रिक, समावेशी र सुदृढ बनाउन हामी तयार छौँ कि छैनौँ ? यसको जवाफ लिएर हामी जिल्लामा फर्कनुपर्छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै, मुलुकको जनसङ्ख्यामा महिलाको हिस्सा ५१ प्रतिशत रहेको उल्लेख गर्दै उहाँले आन्दोलन, निर्वाचन तथा समाज सञ्चालनमा महिलाले आफ्नो सामर्थ्य प्रमाणित गरिसकेको बताउनुभयो । अब पार्टी र राज्यको नीति निर्माण तहमा महिलाको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने उहाँको माग थियो ।







चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र
एमाले केन्द्रीय कमिटीमा मनोनीत १३
दशैंसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल,
नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको
प्रस्तावित अमेरिकी राजदुत थापाको कार्ययोजनामाथि
दशैं आयो, ग्यास आएन :