काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीति र लोकतन्त्रको सार्थकता जनताको जीवनस्तर सुधार, राष्ट्रको सुरक्षा तथा प्रतिष्ठासँग जोडिएको बताउनुभएको छ ।
काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका वास्तविक समस्या समाधान गर्नु मुख्य विषय भएको बताउनुभएको हो ।
लामो समयसम्म विभिन्न राजनीतिक दलले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो । कांग्रेसका संस्थापक बीपी कोइरालाको सपना स्मरण गर्दै घिमिरेले देशलाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउनु पार्टीको मुख्य उद्देश्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई साक्षी राख्दै उहाँले राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिको सार्थकता भनेको जनताको समुन्नत जीवन, राष्ट्रको सुरक्षा, राष्ट्रको प्रतिष्ठा र छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्ध हो । लोकतन्त्रको सार्थकता भनेको जनताको सहभागिता, जनताको सम्मान र जनताको समुन्नति हो । अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्नु नै वास्तवमा लोकतन्त्रको सार हो ।’
महामन्त्री घिमिरेले लोकतन्त्र र राजनीति सही दिशामा अघि बढिरहेको छ कि छैन भन्ने प्रश्न उठिरहेको बताउँदै त्यसको जवाफ खोज्ने दायित्व सबै राजनीतिक दल तथा नेताको भएको उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थकता दिने विश्वास व्यक्त गर्नुभयो ।
शहीदहरूको बलिदान तथा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै आम नागरिकको भावनाअनुसार पार्टीलाई अघि बढाउनुपर्ने चुनौती कांग्रेससामु रहेको उहाँको भनाइ थियो ।
लोकतन्त्रको सार अन्तिम पंक्तिमा रहेको नागरिकको जीवन परिवर्तन गर्नु भएको उल्लेख गर्दै घिमिरेले महाधिवेशन प्रतिनिधिहरूलाई नयाँ संकल्पका साथ अघि बढ्न आह्वान गर्नुभयो ।
नेपाली चाडपर्वको ऐतिहासिक पक्षबारे विचार
चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा
जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना