काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यमका रूपमा नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘जीवनी, विचार, संघर्ष र नेतृत्व’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले विगतमा राजनीतिक दल तथा नेताहरूले गरेको संघर्ष र अनुभवबाट राजनीतिलाई जिम्मेवारीका रूपमा बुझ्न सकिने बताउनुभएको हो ।
भण्डारीले नयाँ पुस्तामा राजनीति तथा सार्वजनिक जीवनप्रति चासो बढेसँगै विभिन्न प्रश्न र असन्तुष्टि पनि देखिएको उल्लेख गर्दै नयाँ र पुरानो पुस्ताबीचको संवाद आजको महत्वपूर्ण आवश्यकता भएको बताउनुभयो ।
पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका विकल्प नभएको उल्लेख गर्दै उहाँले दुवैको उचित संयोजनबाट राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिने बताउनुभयो ।
उहाँले अहिलेको पुस्ताले विगतका राजनीतिक संघर्ष र परिवर्तनका प्रक्रियालाई प्रत्यक्ष रूपमा अनुभव गर्न नपाएको बताउनुभयो । निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन, त्यसपछिका राजनीतिक परिवर्तन, संसदीय अभ्यास, संविधानसभा तथा संविधान निर्माणसम्मको यात्रा नयाँ पुस्ताका लागि इतिहासका विषय बनेको उहाँको भनाइ छ ।
भण्डारीले यस्ता राजनीतिक घटनाक्रम कसरी विकसित भए, त्यसमा संलग्न व्यक्तिहरूले कस्ता जोखिम र कठिनाइ बेहोरे तथा राजनीतिक परिवर्तनले समाजलाई कसरी प्रभावित गर्यो भन्ने बुझ्न जीवनी तथा राजनीतिक इतिहाससम्बन्धी पुस्तक उपयोगी हुने बताउनुभयो ।
‘राजनीतिक इतिहासलाई केवल घटनाहरूको सूचीका रूपमा नभई मानिसका अनुभव, संघर्ष र निर्णयसँग जोडेर बुझ्ने प्रयास यस पुस्तकको महत्वपूर्ण पक्ष हो,’ उहाँले भन्नुभयो, ‘राजनीति केवल पद प्राप्त गर्ने माध्यम होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि हो भन्ने कुरा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिका अनुभव र यात्राबाट बुझ्न सकिन्छ ।’
उहाँले ‘जीवनी, विचार, संघर्ष र नेतृत्व’ पुस्तकले एक व्यक्तिको राजनीतिक जीवनसँगै एउटा पुस्ताको राजनीतिक अनुभव तथा सामाजिक–राजनीतिक यात्राका महत्वपूर्ण पक्ष समेट्ने प्रयास गरेको बताउनुभयो ।
नयाँ पुस्तामा सार्वजनिक जीवनप्रति चासोसँगै विभिन्न प्रश्न र असन्तुष्टि देखिएको उल्लेख गर्दै भण्डारीले उनीहरूलाई राजनीतिक तथा सार्वजनिक जीवनका जिम्मेवारी बुझाउन यस्ता जीवनी उपयोगी सन्दर्भ बन्न सक्ने बताउनुभयो ।
नयाँ र पुरानो पुस्ताबीचको संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाको उचित संयोजन आवश्यक रहेको बताउनुभयो ।
भण्डारीले अहिलेको पुस्तालाई विगतका राजनीतिक आन्दोलन र संघर्षबारे जानकारी हस्तान्तरण गर्न अझै धेरै पुस्तक लेखिनुपर्ने बताउनुभयो ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं