काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भारत, चीन, बंगलादेशसहित विभिन्न देशका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय संस्थाले शुभकामना दिएका छन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनले कांग्रेस सभापति गगनकुमार थापालाई शुभकामना दिँदै महाधिवेशनको सफलताको कामना गरेका छन्। उनले हालैको बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै भारत नेपालसँगै उभिएको र राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग जारी राख्ने बताएका छन्।
भाजपा र नेपाली कांग्रेसबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पनि कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना दिएको छ। विभागले नेपाली कांग्रेसले नेपालको विकास र जनताको जीवनस्तर सुधारमा थप योगदान गर्ने विश्वास व्यक्त गर्दै दुई पार्टीबीचको सहकार्य तथा आपसी आदानप्रदानलाई निरन्तरता दिने जनाएको छ।
भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि महाधिवेशनको सफलताको कामना गरेका छन्। व्यक्तिगत प्रतिबद्धताका कारण आफू उपस्थित हुन नसक्ने जानकारी दिँदै उनले आफ्नो प्रतिनिधिका रूपमा विवेक तन्खालाई पठाएको बताएका छन्। तन्खाले महाधिवेशनको उद्घाटन सत्रमा भारतीय राष्ट्रिय कांग्रेसको प्रतिनिधित्व गर्नेछन्।
त्यस्तै, बंगलादेश नेसनल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री तारिक रहमानले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन्। उनले बंगलादेश र नेपाली कांग्रेसबीचको पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै अघि बढाउने इच्छा व्यक्त गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिएका छन्।
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) का अध्यक्ष चुंग ई उङले पनि कांग्रेसलाई शुभकामना सन्देश पठाएका छन्। उनले हालैको बाढीमा ज्यान गुमाएका तथा प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै जलवायु परिवर्तन र प्राकृतिक विपत्तिको सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।
आईक्यापका संस्थापक सदस्य तथा लामो समयदेखिको महत्त्वपूर्ण साझेदारका रूपमा नेपाली कांग्रेसको भूमिकाको उल्लेख गर्दै उनले आगामी नोभेम्बरमा दक्षिण कोरियाको सियोलमा हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन कांग्रेस नेतृत्वलाई निम्तोसमेत दिएका छन्।
बेलायतको लेबर पार्टीलगायत अन्य केही राजनीतिक दल तथा अन्तर्राष्ट्रिय संस्थाले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना पठाएका छन्।
यसैबीच, महाधिवेशनको उद्घाटन समारोहमा नेपालस्थित अमेरिकी, बेलायती, स्विस र चिनियाँ दूतावास तथा युरोपेली संघका प्रतिनिधिसहित विभिन्न विदेशी नियोगका प्रतिनिधिलाई स्वागत गरिएको छ।




खाद्य व्यवस्था कम्पनीको सीईओका लागि
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक
रास्वपाका उम्मेदवार बन्न वैवाहिक अवस्था,
नारायणी नदीमा डुबेर आमा-छोरा बेपत्ता
भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन छ, तर
रानीपोखरीमा पुरुषको शव भेटियो