काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्र प्राप्तिसँगै थारू समुदायको धर्म र पहिचानमाथि प्रश्न उठेको भन्दै असन्तुष्टि जनाउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै चौधरीले संविधानले अधिकार सुनिश्चित गरे पनि त्यसको कार्यान्वयन पक्ष फितलो रहेको बताउनुभयो। उहाँले राज्यका निर्णायक तहमा थारू समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै कांग्रेस नेतृत्वसँग जवाफ माग्नुभयो।
उहाँले १९ दिने जनआन्दोलनमा थारू समुदाय पनि सहभागी भएको र गणतन्त्र स्थापनाका लागि लाठी तथा पानीका फोहरा खाएको स्मरण गर्नुभयो।
‘गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौँ । हामीले पनि लाठी खायौँ, पानीका फोहरा खायौँ । १९ दिने जनआन्दोलनमा हामीले पनि सहभागिता जनायौँ । त्यो आन्दोलनबाट गणतन्त्र ल्यायौँ,’ उहाँले भन्नुभयो, ‘तर गगनजी, एउटा प्रश्न छ– त्यो १९ दिने जनआन्दोलनबाट गणतन्त्र प्राप्त भयो, तर गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ?’
आफ्नो समुदायको धर्म, संस्कृति र पहिचानसँग कुनै पनि विषय साटफेर गर्न नसकिने उहाँले बताउनुभयो। थारू समुदायको धर्म, संस्कृति र पहिचान अस्तित्वसँग जोडिएको विषय भएको उहाँको भनाइ थियो।
चौधरीले संविधान निर्माणमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको भन्दै कमैया मुक्ति अभियानमा समेत कांग्रेस नेतृत्वको सरकारले भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो।
उहाँले थारू समुदायको जनसंख्या करिब ६–७ प्रतिशत रहेको उल्लेख गर्दै अझै पनि राज्यका निर्णायक तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको गुनासो गर्नुभयो। प्रधानन्यायाधीश, प्रधानसेनापति र मुख्यसचिवजस्ता उच्च पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने हो भन्दै उहाँले प्रश्न गर्नुभयो।
यसै क्रममा चौधरीले टीकापुरलाई जिल्ला बनाउनुपर्ने पुरानो माग पनि पुनः उठाउनुभयो।
चौधरीले रास्वपालक्षित टिप्पणी गर्दै अहिले युवा पुस्ताका नेताहरूबाट पनि देश निर्माण हुन नसक्ने लक्षण देखिएकाे बताउनु भयाे ।
राजनीतिमा पुस्तान्तरण भए पनि अपेक्षाअनुसार परिवर्तनको अनुभूति हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो। विगतमा कपाल फुलेका नेताहरूले आफूलाई युवा भन्दै देश बिगारेको आरोप लाग्ने गरेको स्मरण गर्दै उहाँले अहिले युवा पुस्ताका नेताहरूबाट पनि देश निर्माणको स्पष्ट संकेत नदेखिएको बताउनुभयो।
कांग्रेस सभापति गगनकुमार थापालाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘गगनजी, तपाईं आज संयोगले अगाडि हुनुहुन्छ । म त तपाईंलाई विश्वास गर्ने मान्छे हुँ । दुःख माने मान्नुस्, नमाने नमान्नुस्, हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे । अहिले कैला जुँगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्।’






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ