काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने खेलमा मात्रै अल्झिँदा मुलुकले अपेक्षित आर्थिक समृद्धि हासिल गर्न नसकेको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै उहाँले आर्थिक रूपान्तरण हुन नसक्दा जनता तथा युवा पुस्तामा चरम असन्तुष्टि र विद्रोहको भावना बढेको बताउनुभयो।
जनताको असन्तोषलाई ‘विदेशीको षड्यन्त्र’ भन्दै पन्छाउनुभन्दा राजनीतिक नेतृत्वले आफ्ना कमजोरीको जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो। राजनीतिक दलहरू देश र जनताको आर्थिक रूपान्तरणभन्दा सत्ता समीकरणको अङ्कगणितमा बढी केन्द्रित हुँदा नागरिकमा निराशा बढेको उहाँले बताउनुभयो।
मुलुकभित्रका समस्याको दोष अरूमाथि थोपर्ने प्रवृत्ति त्यागेर राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्नेमा भट्टराईले जोड दिनुभयो। लामो संघर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसक्नु राजनीतिक नेतृत्वको साझा कमजोरी भएको उहाँले स्वीकार गर्नुभयो।
उहाँले भन्नुभयो, ‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ। त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो। यसका लागि अरूलाई मात्र दोष दिने होइन, हामीले आफ्नै कमजोरी पनि स्वीकार गर्नुपर्छ।’
भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनतालाई आफ्नै देशमा रोजगारी, अवसर र समृद्धिको विश्वास दिलाउन राजनीतिक नेतृत्व सफल हुन नसकेको बताउनुभयो।
विश्वका विभिन्न मुलुकले छोटो अवधिमै आर्थिक प्रगति हासिल गरेको उदाहरण दिँदै उहाँले आफ्नै जीवनकालमा दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र चीनजस्ता मुलुकले ‘ग्लोबल साउथ’बाट समृद्ध मुलुकको सूचीमा पुग्न सफल भएको स्मरण गर्नुभयो।
नेपालले पनि आगामी १० देखि २० वर्षका लागि स्पष्ट विकासको खाका बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। त्यसका लागि सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति कायम गरी कार्यान्वयनमा प्रतिस्पर्धा गर्नुपर्ने उहाँले बताउनुभयो।
‘अब आगामी १०–२० वर्षमा नेपाललाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय योजना बनाऔँ। सबै राजनीतिक दलबीच सहमति गरौँ र कसले राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा प्रतिस्पर्धा गरौँ। यही बाटोबाट देश अघि बढ्न सक्छ,’ उहाँले भन्नुभयो।
पुरानो पुस्ताले नयाँ पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पनि भट्टराईले जोड दिनुभयो। नयाँ पुस्ताले देखाएको हिम्मत र अग्रसरता स्वागतयोग्य रहेको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेसभित्र पनि सार्थक पुस्तान्तरण र वैचारिक स्पष्टता आवश्यक रहेको बताउनुभयो।
‘म विशेषगरी मेरो पुस्तालाई आग्रह गर्न चाहन्छु, अब नयाँ पुस्तालाई विश्वास गरौँ, नेतृत्व हस्तान्तरण गरौँ र उनीहरूलाई अघि बढ्ने अवसर दिऔँ,’ उहाँले भन्नुभयो।
सत्ताको दुष्चक्रबाट पाठ सिक्दै राष्ट्र निर्माणमा केन्द्रित हुन उहाँले सबै राजनीतिक शक्तिलाई आग्रह गर्नुभयो। नेपाली कांग्रेसले नयाँ पुस्ता र नयाँ विचारलाई स्थान दिँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने शुभकामनासमेत उहाँले व्यक्त गर्नुभयो।







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ