लण्डन । बालोन डी’ओरका प्रमुख दाबेदार ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्याण्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई उसैको मैदानमा ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राती भएको खेलमा इंग्ल्याण्डले सुरुदेखि अन्तिमसम्म प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाविरुद्ध आफ्नो इतिहासकै सबैभन्दा ठूलो जित दर्ता गरेको हो । केनको उत्कृष्ट प्रदर्शनसँगै जुड बेलिङ्घम, एन्थोनी गोर्डन, बुकायो साका र मोर्गन रोजर्सले पनि गोल गर्नुभयो । क्रोएसियाले घरेलु मैदानमा इंग्ल्याण्डको आक्रमण रोक्न नसक्दा लगातार दोस्रो खेलमा फराकिलो हार बेहोर्नुपरेको छ ।
क्रोएसियाविरुद्ध इंग्ल्याण्डले आठौं मिनेटमै अग्रता लिएको थियो । जुड बेलिङ्घमको पासलाई उत्कृष्ट ढंगले नियन्त्रण गरेका केनले बायाँतर्फको माथिल्लो कुनामा घुमाउरो प्रहार गर्दै बललाई जाली चुमाउनुभयो । त्यसपछि बेलिङ्घम, गोर्डन र साकाले गोल गर्दै इंग्ल्याण्डको अग्रता फराकिलो बनाउनुभयो । पहिलो हाफमै क्रोएसिया दबाबमा परेको थियो । दोस्रो हाफमा केनले व्यक्तिगत दोस्रो गोल गर्नुभयो भने साकाले पनि अर्को गोल थप्नुभयो । खेलको अन्त्यतिर रोजर्सले गोल गरेपछि इंग्ल्याण्डले ७-० को प्रभावशाली जित सुनिश्चित गर्यो ।
दुई गोलसँगै केनले इंग्ल्याण्डको राष्ट्रिय टोलीका लागि आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ८९ पुर्याउनुभएको छ । उहाँ टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हो । यो जित इंग्ल्याण्डका लागि क्रोएसियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो हो । यसअघि सन् २००९ मा विश्वकप छनोटअन्तर्गत वेम्बलीमा भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ५-१ ले पराजित गरेको थियो ।
नेसन्स लिगकै अर्को खेलमा युवा स्टार लामिन यामलले खेल सुरु भएको छैटौं मिनेटमै उत्कृष्ट गोल गरेपछि स्पेनले चेकियालाई ३-१ ले पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा जित निकाल्दै स्पेनले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो । खेलको सुरुवातमै यामलले दायाँतर्फबाट भित्र छिर्दै बायाँ खुट्टाले शक्तिशाली घुमाउरो प्रहार गर्नुभएको थियो । उहाँको प्रहार पोस्टको माथिल्लो बायाँ कुनामा पुगेपछि स्पेनले अग्रता बनायो ।
यो गोल नेसन्स लिगमा यामलको पछिल्ला खेलमा लगातार सुरुवातमै गोल गर्ने लयको अर्को उदाहरण बन्यो । उहाँले मंगलबार क्रोएसियाविरुद्ध ४-१ को जित निकाल्दा दोस्रो मिनेटमै गोल गर्नुभएको थियो । चेकियाविरुद्ध १२औँ मिनेटमा यामलले अर्को गोलको प्रयास गरे पनि सफल हुन सकेन ।
दोस्रो हाफमा पनि स्पेनले आफ्नो दबदबा कायम राख्यो । रोड्री र वैकल्पिक खेलाडी मिकेल मेरिनोले गोल थपेपछि स्पेनले ३-१ को जित सुनिश्चित गरेको हो । चेकियाले एक गोल फर्काए पनि स्पेनको जित रोक्न सकेन । यो जितसँगै स्पेन लगातार ४० खेलमा अपराजित रहेको छ । नेसन्स लिगको ‘ए’ समूहमा तेस्रो जित निकालेको स्पेनले दोस्रो स्थानमा रहेको इंग्ल्याण्डमाथि तीन अंकको अग्रता कायम राखेको छ ।
यता, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बुर्किना फासोलाई ७-० ले पराजित गर्दै लगातार दोस्रो प्रभावशाली जित निकालेको छ ।
आइतबार मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि अन्तिमसम्म दबदबा कायम राखेको थियो । यसअघि बोलिभियालाई ४-० ले हराएको अर्जेन्टिनाले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा कुल ११ गोल गरेको छ भने कुनै गोल खाएको छैन । बुर्किना फासोविरुद्धको जितमा अर्जेन्टिनाका खेलाडीले आक्रमणमा प्रभावकारिता देखाउनुका साथै विपक्षीलाई खेलमा फर्कने अवसरसमेत दिएनन् ।
खेलको चौथो मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । अगुस्टिन जियालाई पेनाल्टी क्षेत्रमा मोउमोउनी डियालोले फाउल गरेपछि रेफ्रीले पेनाल्टीको निर्णय दिएका थिए । लाउटारो मार्टिनेजको पहिलो प्रहार बुर्किना फासोका गोलरक्षक रजाक गुइराले बचाए पनि रिबाउन्डमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभयो ।
यससँगै मार्टिनेजले राष्ट्रिय टोलीका लागि लगातार दोस्रो खेलमा गोल गर्नुभएको छ । उहाँले अर्जेन्टिनाका लागि ८६ खेलमा ४२ गोल पुर्याउनुभएको छ । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी लियोनल मेसी हो । मेसीले १२५ गोल गर्नुभएको छ भने गाब्रियल बाटिस्टुटा ५४ गोलसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
अर्जेन्टिनाले आठौं मिनेटमा अग्रता दोब्बर बनायो । डियालोले क्लियरेन्स गर्ने क्रममा बल आफ्नै पोस्टमा पुर्याएपछि बुर्किना फासोले आत्मघाती गोल बेहोरेको थियो । त्यसको चार मिनेटपछि जियानलका प्रेस्टियानीले गोल गर्नुभयो । पेनाल्टी क्षेत्रमा प्रवेश गर्दै उहाँले गरेको शक्तिशाली प्रहारले जाली चुमेपछि अर्जेन्टिना १२औँ मिनेटमै ३-० ले अगाडि बढ्यो । यो प्रेस्टियानीको राष्ट्रिय टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय गोल थियो । अर्जेन्टिनाको आक्रमण यतिमै रोकिएन । ३५औँ मिनेटमा निकोलस पाजले गोल गर्दै अग्रता ४-० बनाउनुभयो । त्यसको एक मिनेटपछि जुलियन अल्भारेजले अर्को गोल थपेपछि अर्जेन्टिना पहिलो हाफमै ५-० ले अगाडि रह्यो ।
दोस्रो हाफमा पनि अर्जेन्टिनाले आक्रमण जारी राख्यो । ५७औँ मिनेटमा मैदान प्रवेश गरेका फ्रान्को मस्तान्तुओनोले गोल गर्दै राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो गोल गर्नुभयो । गोलरक्षकसँग एक्लै भएको अवस्थामा उहाँले शान्त ढंगले बललाई जाली चुमाउनुभएको थियो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा जियोभानी सिमेओनेले सातौं गोल गरेपछि अर्जेन्टिनाले ७-० को फराकिलो जित पूरा गर्यो । एजेन्सी







विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ