सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा पूर्वतयारीसम्बन्धी जिम्मेवारी कार्यसम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका सुर्खेतलगायत जिल्लामा आयोजना हुने प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मूल आयोजक समितिको आइतबार बसेको बैठकले कार्यसम्पादन समितिलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो । मूल आयोजक समितिको बैठक पटक-पटक बस्न कठिन हुने भएकाले प्रतियोगितासँग सम्बन्धित निर्णय कार्यान्वयनलाई सहज बनाउन अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ ।
वीरेन्द्रनगर नगरपालिका-८ स्थित रंगशालाको सभाहलमा बसेको बैठकले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली, तीन अन्य टोली तथा आवश्यक नेपाली खेल संघसहित २१ टोलीलाई सहभागी गराउने निर्णय गरेको छ । प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा सञ्चालन गरिनेछ ।
शिक्षा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । बैठकमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई, राष्ट्रिय योजना आयोगका सदस्य रेणु ढुङ्गानालगायत संघीय तथा प्रदेश सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख, खेल क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो ।
बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने नेपाल सरकारको निर्णयको स्वागत गर्दै संघीय सरकारलाई धन्यवाद दिने प्रस्तावसमेत पारित गरेको छ । स्थानीय तहदेखि खेलाडीको प्रतिभा पहिचान, उत्पादन तथा खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण कर्णालीमा आयोजना गर्ने निर्णयप्रति मूल आयोजक समितिले सरकारलाई धन्यवाद दिएको हो ।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ अनुसार कार्यसम्पादन समितिलाई प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी आवश्यक निर्देशन दिने अधिकार पनि बैठकले दिएको छ । प्रतियोगिताका लागि आवश्यक विभिन्न समिति गठन तथा परिचालन गर्ने, निर्धारित मापदण्डअनुसार बजेट तथा खर्च व्यवस्थापन गर्ने र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारीसमेत कार्यसम्पादन समितिलाई दिइएको छ ।
त्यसैगरी, प्रतियोगितालाई प्रभावकारी बनाउन सरकारी निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाको सहभागिता बढाउने निर्णय गरिएको छ । सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार प्रायोजकसँग समझदारी गरी आवश्यक काम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा मूल आयोजक समितिअन्तर्गत कार्यसम्पादन समिति, विभिन्न उपसमिति तथा छुट्टै अनुगमन समितिमार्फत् प्रतियोगिताको तयारी अघि बढिरहेको जानकारी गराइएको थियो । संघीय र प्रदेश सरकारको सहयोग, समर्थन तथा समन्वयमा प्रतियोगिताको तयारीलाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो ।
कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन सरकारी निकाय, सुरक्षा संयन्त्र, खेल संघ, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ ।
यस्तै, दशौँ राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न पब्लिक-प्राइभेट पार्टनरसिप (पिपिपी) अवधारणालाई अवलम्बन गरिने भएको छ । ‘प्रतियोगितालाई भव्य तथा व्यवस्थित तरिकाले सम्पन्न गर्न निजी संघ संस्थालगायत सबै सरोकारवालाहरूको सहभागितालाई जोड दिँदै पब्लिक-प्राइभेट पार्टनरसिप (पिपिपी)को अवधारणालाई अवलम्बन गरी प्रायोजकसँग एमओयू गरी कार्यान्वयन गर्ने निर्णय गरिएको छ,’ बैठकले निर्णय सुनाउँदै राखेप सदस्य-सचिव रामचरित्र मेहताले भन्नुभयो ।
दशौँ राष्ट्रिय खेलकुदको उत्सव सुरु भयो : खेलकुदमन्त्री पोखरेल
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आग्रह गर्नुभएको छ । दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकमा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुदको उत्सव सुरु भएको बताउनुभएको हो ।
‘अझै पनि के शंका छ भने दशौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्ने । पटक-पटक सरेको हुनाले शंका हुनु जायज पनि छ,’ उहाँले भन्नुभयो, ‘दशौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो । त्यसकारण हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला ।’
मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी ढंगले यो प्रतियोगिता हुने विश्वास व्यक्त गर्नुभयो । ‘नौवटा राष्ट्रिय खेलकुद भयो । त्योभन्दा भिन्न र प्रभावकारी ढंगबाट कसरी गर्ने, यसलाई राम्रोसँग सञ्चालन गर्नका लागि सम्पूर्ण सरोकारवाला, विभिन्न तहका सरकार सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको छ’ उहाँले भन्नुभयो ।







दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत