काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि समाज र डिजिटल प्लेटफर्मसम्म खुला संवादको संस्कृति विकास गर्नुपर्ने बताउनुभएको छ।
आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसदको गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक र उत्तरदायी उपस्थिति आवश्यक रहेको बताउनुभयो।
संसद अहिले अवरुद्ध र बन्दजस्तो अवस्थामा रहेको टिप्पणी गर्दै उहाँले आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने दुवै पक्षका सांसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो।
‘आज नेपालमा यस्ता खुलामञ्चहरू धेरै ठाउँमा आवश्यक छन्। सबैभन्दा पहिले खुलामञ्च संसद्भित्र चाहिएको छ,’ उहाँले भन्नुभयो, ‘संसद् त्यतिबेला मात्र साँच्चिकै खुला हुन्छ, जब आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने सबै सांसदप्रति, संसद्को गरिमा र जनताको सम्मानका लागि प्रधानमन्त्रीको उत्तरदायी उपस्थिति रहन्छ।’
थापाले संसद् मात्र नभई समाजका विभिन्न समुदायबीच पनि संवादको संस्कृति आवश्यक रहेको बताउनुभयो। पहाड र मधेस, विभिन्न जातजाति तथा धर्मबीच एकअर्काका बारेमा टिप्पणी गर्नेभन्दा प्रत्यक्ष संवाद गर्नुपर्ने उहाँको भनाइ थियो।
‘पहाडले मधेसका बारेमा होइन, पहाड र मधेसबीच संवाद हुनुपर्छ। एउटा जातले अर्को जातका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एउटा धर्मले अर्को धर्मका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ। एउटा पुस्ताले अर्को पुस्ताका बारेमा फैसला सुनाउने होइन, पुस्ताहरूबीच संवाद हुनुपर्छ।’
राज्य र नागरिकबीचको दूरी घटाउन पनि खुला संवादको आवश्यकता रहेको थापाले बताउनुभयो। नागरिक र राज्यबीच संवादका लागि यस्ता मञ्च प्रभावकारी माध्यम बन्न सक्ने उहाँको भनाइ थियो।
डिजिटल प्लेटफर्ममा समेत तथ्य, तर्क र विचारले स्थान पाउने वातावरण बनाउनुपर्नेमा थापाले जोड दिनुभयो। हाल डिजिटल माध्यममा तथ्य र तर्कभन्दा प्रतिक्रियात्मक प्रवृत्ति हाबी हुँदै गएको भन्दै उहाँले आलोचना गर्नुभयो।
‘डिजिटल प्लेटफर्ममा पनि केवल प्रतिक्रिया र आरोप–प्रत्यारोप होइन, तथ्य, तर्क र विचारले स्थान पाउने खुला मञ्च निर्माण गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘खुला संवादबाटै लोकतन्त्र बलियो हुन्छ।’






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ