काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक शक्ति उसको लामो इतिहास भएको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले पुर्याएको योगदानको आफूले सधैँ सम्मान गर्ने बताउनुभयो। कांग्रेसको इतिहासबाट सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
‘नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोर पनि इतिहास हो,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ।’
कांग्रेसले विगतमा खेलेको भूमिका र हासिल गरेका उपलब्धिसँगै उसका कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्ने लामिछानेले बताउनुभयो। इतिहासलाई गौरव गर्ने विषयमा मात्र सीमित नगरी आगामी राजनीतिक यात्राका लागि सिकाइका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।
आफू कांग्रेसको मञ्चमा सत्तापक्षका प्रतिनिधिका रूपमा उपस्थित भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको भन्दै लामिछानेले व्यंग्यात्मक टिप्पणीसमेत गर्नुभयो।
‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ उहाँले भन्नुभयो।
लामिछानेले कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र राजनीतिक अवसर दिएको भए आफू पनि कांग्रेसमै हुन सक्ने संकेत गर्नुभयो। राजनीतिक दलहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो।
भाषण, नारा र घोषणापत्रमा मात्र सीमित हुने राजनीति अब पर्याप्त नहुने बताउँदै उहाँले जनताले राजनीतिक दलको काम र त्यसको परिणाम हेर्न थालेको बताउनुभयो। आफूहरूले काम गर्न नसके निर्वाचनमार्फत जनताले निर्णय गर्ने भएकाले जनमतको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो।
मुलुकका राष्ट्रिय सवालमा राजनीतिक दल र झन्डाको भिन्नता गौण हुने लामिछानेको भनाइ थियो। राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो।
‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ उहाँले भन्नुभयो।
सरकार कमजोर भएको चर्चा हुने गरेको भन्दै लामिछानेले वर्तमान सरकार नढल्ने दाबी गर्नुभयो। सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने उहाँको भनाइ थियो।
‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ उहाँले भन्नुभयो।
लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने बताउँदै लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै त्यसको रक्षा गर्ने बताउनुभयो। आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उहाँको भनाइ थियो।
‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्,’ उहाँले भन्नुभयो, ‘हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ।’
निर्वाचनमा जनताले दिएको मतलाई भ्रमित पारेर जननिर्णयको अपमान नगर्न उहाँले आग्रह गर्नुभयो। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्ने निर्णयलाई स्वीकार गर्ने उहाँले बताउनुभयो।
‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ लामिछानेले भन्नुभयो।
बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने कुनै प्रयास स्वीकार्य नहुने बताउनुभयो।
कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ चरण सुरु भएको उल्लेख गर्दै लामिछानेले कांग्रेसले आफ्नो लामो इतिहासबाट सिकेर बदलिँदो राजनीतिक परिस्थिति, नयाँ पुस्ताको चाहना र जनताको अपेक्षासँग जोडिएर अघि बढ्नुपर्ने बताउनुभयो।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र