काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधान र लोकतन्त्र चुनौतीमा परेको बताउनुभएको छ।
काठमाडौंको खुलामञ्चमा आइतबार आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले सत्ताको स्वेच्छाचारिता र अराजकताले लोकतान्त्रिक प्रणालीलाई जोखिममा पारेको बताउनुभयो।
उहाँले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो।
‘देश अप्ठ्यारो अवस्थामा छ, लोकतन्त्र चुनौतीमा छ र हामीले निर्माण गरेको समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पनि चुनौतीमै छ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा संविधान र लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक छ।’
शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भए पनि केही विषय अझै टुंगिन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती काम समयमै पूरा हुन नसके मुलुक पुनः अस्थिरतातर्फ जान सक्ने खतरा औँल्याउनुभयो।
शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ताका रूपमा कांग्रेस सभापति गगनकुमार थापालाई बाँकी शान्ति प्रक्रियाका कामलाई प्राथमिकताका साथ निष्कर्षमा पुर्याउन उहाँले आग्रह गर्नुभयो।
‘शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ताको नाताले म नेपाली कांग्रेसका सभापति गगन थापाजीलाई विशेष आग्रह गर्न चाहन्छु, बाँकी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउनुहोस्,’ उहाँले भन्नुभयो।
शान्ति सम्झौतामार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारूलगायत समुदायले प्राप्त गरेका अधिकार तथा पहिचानलाई थप सुदृढ गर्नुपर्ने प्रचण्डको भनाइ थियो। शान्ति सम्झौतालाई पूर्ण सफलताको उदाहरण बनाउने दिशामा कांग्रेस नेतृत्व अघि बढ्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
प्रचण्डले कार्यक्रममा उपस्थित राजनीतिक दलका नेता तथा नेतृत्वप्रति आफूलाई सम्मान, माया र भरोसा रहेको बताउनुभयो। रास्वपा सभापति रवि लामिछानेसहित कांग्रेसका नेताहरूसँग सहकार्य र समझदारीका आधारमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
दलहरूबीचको ध्रुवीकरणभन्दा राष्ट्रिय मुद्दामा सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले आपसी समझदारीबाट समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको