काठमाडौं । नेपालमा बढ्दो जलवायु जोखिम सम्बोधन गर्दै जलवायु-उत्थानशील आर्थिक विकासका लागि निजी क्षेत्रलाई लगानी, नवप्रवर्तन र समाधान कार्यान्वयनको भूमिकामा अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जलवायु वित्तलाई जोखिममा रहेका समुदायसम्म पुर्याउन सरकार, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार, प्राज्ञिक क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
काठमाडौं क्लाइमेट विक २०२६ अन्तर्गत नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा शनिबार आयोजित ‘जलवायु न्यायका लागि निजी क्षेत्र’ विषयक विशेष सत्रमा सहभागीहरूले जलवायु परिवर्तनका असर न्यूनीकरणसँगै त्यसबाट सिर्जित आर्थिक अवसरसमेत उपयोग गर्नुपर्ने बताएका हुन् । अक्टोबर ५ सम्म सञ्चालन हुने क्लाइमेट विकमा नेपालसहित विभिन्न देशका नीति निर्माता, व्यवसायी, विज्ञ तथा जलवायु सरोकारवालाहरू सहभागी छन् ।
जलवायु वित्तलाई जोखिममा रहेका समुदायसम्म पुर्याउन सरकार, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार, प्राज्ञिक क्षेत्र र स्थानीय समुदायबीच सहकार्यको आवश्यकता औंल्याइएको छ ।
कार्यक्रममा महासंघको कृषि समितिका सभापति शिवप्रसाद घिमिरेले जलवायु कार्य प्रभावकारी बनाउन निजी क्षेत्र सरकार, प्राज्ञिक संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । सातै प्रदेश र ७७ जिल्लासम्म फैलिएको महासंघको सञ्जाललाई जलवायु न्याय, विपद् व्यवस्थापन, लघु तथा साना उद्यमको संरक्षण र हरित रोजगारी सिर्जनामा उपयोग गर्न सकिने उहाँको भनाइ थियो । नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको घिमिरेले बताउनुभयो ।
हालैको भोटेकोशी-त्रिशूली करिडोर बाढीबाट भएको ठूलो क्षतिलाई नेपालको बढ्दो जलवायु जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले महासंघले निजी क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा व्यवस्थापन प्रणाली तथा वातावरणीय, सामाजिक र सुशासन (इएसजी) सम्बन्धी अभ्यास प्रवर्द्धन गर्न प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रमको पहिलो सत्र ‘नेपालमा जलवायु न्यायका लागि निजी जलवायु वित्त परिचालन’ मा ग्रामीण, दुर्गम तथा न्यून आय भएका समुदायसम्म निजी पुँजीको पहुँच विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
शहरी सौर्य ऊर्जा र विद्युतीय सवारीजस्ता क्षेत्रमा लगानी बढे पनि दुर्गम क्षेत्रमा विद्युतीकरण, नवीकरणीय ऊर्जा तथा अन्य जलवायु समाधानका परियोजनाले परम्परागत वित्तीय स्रोत पाउन कठिनाइ रहेको सहभागीहरूले बताएका थिए । त्यस्ता परियोजनामा मिश्रित वित्त, जोखिम बाँडफाँट र जोखिम न्यूनीकरणका संयन्त्र आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो । कार्यक्रममा जलवायु वित्तको मूल्यांकन नाफामात्र नभई जोखिम, समानता र जलवायु न्यायका आधारमा पनि गर्नुपर्नेमा जोड दिइएको थियो ।
दोस्रो सत्र ‘जलवायु कार्यका लागि निजी क्षेत्रमा नवप्रवर्तन’ मा प्रविधि, उद्यमशीलता र स्थानीय आवश्यकतामा आधारित समाधानको सम्भावनाबारे छलफल भएको थियो । सहभागी वक्ताहरूले पुँजीमा सीमित पहुँच, कमजोर नवप्रवर्तन प्रणाली, अस्पष्ट नीतिगत व्यवस्था, जलवायु शिक्षाको कमी तथा सरकार, व्यवसाय र समुदायबीचको कमजोर समन्वयलाई प्रमुख चुनौतीका रूपमा औंल्याएका थिए । उपयुक्त प्रविधि, प्रदूषण अनुगमन, कार्बन व्यापार, विद्युतीय गतिशीलता र हरित औद्योगिकीकरणलाई नेपालका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरिएको थियो ।
त्यस्तै ‘हाम्रा बैंकहरू कति हरित छन् ?’ विषयक तेस्रो सत्रमा बैंक तथा वित्तीय संस्थाले जलवायु-उत्थानशील क्षेत्रमा पुँजी परिचालन गर्दा वातावरणीय, सामाजिक तथा सुशासन (इएसजी) पक्षलाई मूल कर्जा, लगानी र जोखिम व्यवस्थापन प्रणालीमै समावेश गर्नुपर्नेमा जोड दिइएको थियो । नवीकरणीय ऊर्जा वा विद्युतीय सवारीमा मात्र सीमित नराखी सम्पूर्ण बैंकिङ प्रणाली हरित बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो । जलवायु तथ्यांक अभाव, वातावरणीय जोखिम मूल्यांकनमा कठिनाइ र अपर्याप्त जलवायु वित्तलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै कर्जा प्रवाहपूर्व वातावरणीय मूल्यांकन, विपद् पुनर्स्थापना, बीमा तथा क्षतिपूर्ति प्रणाली विस्तारमा जोड दिइएको थियो । आयोजकका अनुसार तीनवटै सत्रको निष्कर्षमा नेपालको जलवायु कार्यमा निजी क्षेत्रलाई केवल प्रभावित पक्ष वा छलफलको सहभागीका रूपमा नभई लगानीकर्ता, नवप्रवर्तक र समाधान कार्यान्वयनकर्ताका रूपमा अघि बढाउनुपर्नेमा साझा धारणा बनेको छ ।
नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, विद्युतीय गतिशीलता, हरित उद्योग र जलवायु–उत्थानशील पूर्वाधारमा निजी क्षेत्रका लागि नयाँ लगानीको अवसर रहेको सहभागीहरूले बताएका छन् । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित ग्रामीण, दुर्गम तथा कमजोर समुदायसम्म जलवायु वित्तको पहुँच विस्तार गर्दै निजी क्षेत्रका नयाँ अवसर सिर्जना गर्न सकेमात्रै नेपालमा जलवायु उत्थानशीलता, समावेशी आर्थिक विकास र जलवायु न्यायलाई सँगसँगै अघि बढाउन सकिने कार्यक्रमको ठहर थियो ।







पोखरामा स्कुल बस दुर्घटना, १८
पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा