नेपाली कांग्रेस हिजोदेखि महाकुम्भ मेलामा समाहित भएको छ । विशेष महाधिवेशन पक्षधरहरूले १५औं महाधिवेशन हिजोबाट सुरु गरेका छन् । नेपाली कांग्रेस नेपालको परम्परादेखि नै सबैभन्दा ठूलो पार्टी र नेपालको राजनीतिको एउटा नेतृत्व गर्ने पार्टीका रूपमा रहँदै आएको छ । इतिहासका पानामा कहीँकतै कुनै राजनीतिक कारणले यो पार्टी पछाडि परेको अवस्था पनि छ । त्यसमा विविध कारण रहेका छन् । विशेषगरी विसं २०५१ मा भएको संसद् भंगको परिणाम सम्पन्न मध्यावधि निर्वाचनपछि नेपाली कांग्रेसको बहुमत गुमेको र त्यसपछि पार्टीको साख पनि खस्किएको अवस्था हो । यसमा अरू पार्टीको कुनै दोष नभएर नेपाली कांग्रेस स्वयंको राजनीतिक उन्मादको परिणाम थियो त्यो ।
२०४८ सालमा आफूले सुविधाजनक बहुमत प्राप्त गरेपछि त्यसलाई टिकाउन नसकेर र पार्टीभित्रका फरक धारका व्यक्तिहरूबीचको खिचातानी र अहंकारको कारणले त्यस्तो परिणाम निस्किएको थियो । त्यसयता नेपाली कांग्रेस माओवादी शान्ति प्रक्रियामा आएपछिको संविधान सभाको पहिलो निर्वाचन र २०७४ सालमा वामपन्थी शक्तिहरू जति एक भएर सम्पन्न भएको निर्वाचनमा पछि परेकै हो । तर त्यसबेला नेपाली कांग्रेस जति पछि परे पनि वामपन्थी शक्तिहरूले नेपाली कांग्रेसलाई नै अभिभावकीय शक्तिका रूपमा स्वीकारेर अघि बढेको राजनीतिक इतिहास छ ।
त्यसपछिको राजनीतिक परिदृश्य पनि त्यस्तै देखापर्यो । त्यसयता गत फागुनमा भएको निर्वाचनको परिणामपछि नेपाली कांग्रेस फेरि एकपटक नेपालको राजनीतिक प्रतिस्पर्धामा निकैपछि परेको छ । विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादका बीच भएको नेतृत्व परिवर्तन र त्यही अवस्थामा सम्पन्न आमनिर्वाचनको कारण अब त उठ्नै नसक्ने अवस्थामा पुगेको देखिँदैछ । पुस्तान्तरण, हस्तान्तरण र रूपान्तरणको लोकप्रिय नाराको आवरणमा कांग्रेस क्रमिक रूपले धराशायी हुनलागेको अनुभव गरिँदैछ ।
२०८२ सालको भदौमा अकल्पनीय जेन–जी विद्रोह गराएर देश उठ्नै नसक्ने गरी खरानीमा परिणत भएपछि भएको निर्वाचनमा फरक शक्ति अगाडि आउनु स्वाभाविक थियो । यद्यपि संसद्मा अस्तित्व धान्ने गरी केही संख्यामा कांग्रेसको उपस्थिति छ । निरीह, विगवादकाबीच हुनलागे पनि यस पार्टीको एतिहासिक महत्त्वका कारण यस पार्टीको महाधिवेशन राष्ट्रिय राजनीतिको आकर्षणको केन्द्रमा रहनु अस्वाभाविक हुँदैन । गत सालको जेन–जी परिघटनापछि नेपाली कांग्रेसभित्र पनि चरम वैमनस्य सिर्जना भएको छ । जसले गर्दा नेपाली कांग्रेसको इतिहासदेखि नै रहँदै आएका विभिन्न धार झनै सक्रिय भएर गए र त्यसको दूरी पनि टाढा बनेर गयो । एउटा पक्षले विशेष अधिवेशनको माग गर्यो । अर्को पक्ष त्यसमा सहमत भएन । नियमित महाधिवेशन गराउने र त्यो पनि निर्वाचन भइसकेपछि मात्र गर्नेगरी दुइटा पक्षको दुई थरी धारणा बन्यो ।
जसरी भए पनि निर्वाचनभन्दा अगाडि नै अधिवेशन हुनुपर्छ भन्ने पक्ष बिस्तारै पछि पर्दै गयो । त्यसपछि उक्त पक्षले विशेष महाधिवेशनमा जोड दियो र जुन रूपमा भए पनि सम्पन्न गर्यो । त्यसयता नेपाली कांग्रेस भावनात्मक रूपमा फुट्योभन्दा अन्यथा हुनेछैन । किनभने गगन थापा सभापति बनेको विशेष महाधिवेशन र त्यसयता उक्त पक्षले नेपाली कांग्रेसको आधिकारिक चारतारे झण्डा र रूख चुनाव चिह्न प्राप्त गर्यो । अर्को पक्ष सो मतलाई अस्वीकार गर्दै टाढा बस्यो ।
१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएपछि कांग्रेसमा एकीकरण हुन्छ र सबै एउटै धारमा समेटिएर अगाडि बढ्छन् भन्ने चर्चाले पनि सार्थकता पाउन सकेन । लामो समयदेखि असहमत पक्षका धेरै नेताहरू अहिले विशेष महाधिवेशनका पक्षमै फर्किएर महाधिवेशनमा होमिनुभएको छ भने केही नेताहरू शेरबहादुर देउवाको साथ नछोडी उहाँसँगै बसिरहनुभएको छ । नेपाली कांग्रेसको इतिहास बोकेका संस्थापक नेताहरूका सुपुत्रहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शशांक कोइरालाहरू, डा.शेखर कोइराला तथा एनपी साउदहरू देउवासँगै रहनुभएको छ । संस्थापन पक्षले महाधिवेशनको उद्घाटन समारोहमा शेरबहादुर देउवालाई लगेर उहाँबाटै उद्घाटन गराउने निरर्थक प्रयास नदेखिएको होइन ।
काठमाडौंको खुला मञ्चमा भव्य तयारीका साथ सुरु भएको महाधिवेशनमा अन्य राष्ट्रिय पार्टीका नेताहरू पनि उपस्थित हुनुभयो र उहाँहरूले पनि महाधिवेशनलाई शुभकामना सन्देश दिनुभयो । यो परम्परा नै हो । आथित्यता आदानप्रदानको परम्परामा सबै पार्टीका महाधिवेशनहरूमा यसरी अरू पार्टीका नेताहरूलाई निमन्त्रणा गरिने र शुभकामना दिने प्रचलन रहँदै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो तामझामका साथ केही महिनाअघि चितवनमा आयोजना गरेको महाधिवेशनमा पनि सबै पार्टीका नेताहरू गएर सम्बोधन गर्नुभएको थियो । यस क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि त्यस अधिवेशनमा प्रभावकारी सम्बोधन गर्नुभएको थियो । चितवन नेपाली कांग्रेसको ऐतिहासिक थलो मानिन्छ ।
बलिदानीका हिसाबले हेर्ने हो भने पनि चितवनमा पञ्चायती व्यवस्थाविरुद्धको २०१८ सालको क्रान्तिमा ठूलो बलिदानी भएको थियो । त्यस क्रममा कांग्रेसका सभापति थापाले उक्त कुराको संस्मरण गर्नुभएको थियो । त्यही अधिवेशन भइरहेको ठाउँमा नेपाली कांग्रेसका ५० जना व्यक्तिहरूलाई पुरिएको छ, त्यो कुराको इतिहास पनि संस्मरण गर्नुस् भन्ने जानकारीमूलक आग्रह उहाँले गर्नुभएको थियो । तर, त्यही पार्टीका केही अराजक विचारका व्यक्तिहरूले उपस्थित व्यक्तिहरूको अतिथ्यको अपमान पनि गरेका थिए । कांग्रेस ऐतिहासिक र समन्वयकारी विचार बोक्ने पार्टी भएका कारण कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा यस्तो अवस्थाको सिर्जना भएन ।
अब आजदेखिका कार्यक्रमहरूमा नेतृत्वको आकांक्षीहरूका उम्मेदवारी, तिनमा दाबीविरोध, त्यसमाथि छानबिन र अन्ततः निर्वाचन हुनेछ । नेपाली कांग्रेसले अहिलेसम्म यससमेत १५औं नियमित महाधिवेशन र दुईवटा विशेष महाधिवेशन सम्पन्न गरिसकेको छ । सबै महाधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भएका थिए । फरक मत राख्नु, असहमति र सहमतिबीच छलफल हुनु र निष्कर्ष निस्कनु स्वाभाविक हुन्छ । जुनसुकै महाधिवेशनमा पनि यस्ता नियमित प्रक्रियाहरू हुँदै आएका छन् । यसमा पनि ती कुराहरू निश्चय हुने नै छन् । इतिहासमा जसरी नै नेपाली कांग्रेसको यस पटकको महाधिवेशन पनि सोहीनुरूप शान्तिपूर्ण र रूपमा सफल हुने विश्वास गर्न सकिनेछ । यद्यपि केही दिन पहिले निर्वाचन आयोगले अभिलेखीकरण र फाइल गरेको सूचनालाई हेर्ने र सर्वोच्च अदालतले दिएको निस्सालाई पर्खने हो भने १५औं महाधिवेशनको अन्तिम अवस्था के हुन्छ भन्न सकिँदैन । तैपनि यतिका धेरै लोकतान्त्रिक विचारका योद्धाहरू, एकाठाउँ जम्मा भएर अभ्यासरत हुनुहुन्छ त्यसका लागि सफलता मिलोस् हाम्रो शुभकामना ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका