काठमाडौं । विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटियु)को ८१औँ स्थापना दिवसका अवसरमा समन्वय समिति नेपालले विचार गोष्ठी आयोजना गरेको छ । ‘विज्ञान र प्रविधिको विकास, श्रमिक वर्ग र ट्रेड युनियन अधिकार’ विषयक गोष्ठीमा डब्लुएफटियु समन्वय समिति नेपालका संयोजक तथा पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै खनालले विज्ञान र प्रविधिको विकास मानवजातिको हितमा उपयोग हुनुपर्नेमा जोड दिए । उनले प्रविधिको विकाससँगै श्रमिक वर्गको काम र रोजगारी सुनिश्चित गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, स्वस्थ खाद्यान्न, खानेपानी र सामाजिक सुरक्षाको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । उहाँले युद्ध र द्वन्द्वमा स्रोत तथा शक्ति खर्च गर्नुको सट्टा आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्दै श्रमिक अधिकारका लागि एकताबद्ध संघर्ष आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व विज्ञान, प्रविधि तथा वातावरणमन्त्री एवं ट्रेड युनियन आन्दोलनका अग्रज नेता गणेश शाहले विज्ञान तथा प्रविधिसँगै नवप्रवर्तनको विकासमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै, ट्रेड युनियन आन्दोलनका अग्रज नेता भैरव रेग्मीले श्रमिकको हक, अधिकार र हित संरक्षणका लागि श्रमिकहरू एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
डब्लुएफ्टियु लिगल कमिटीका सदस्य तथा वरिष्ठ अधिवक्ता शंकर सुवेदीले ट्रेड युनियन अधिकारमाथि विभिन्न चुनौती खडा भइरहेका बेला ट्रेड युनियनहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताए । उनले एकताबद्ध ट्रेड युनियन आन्दोलनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ट्रेड युनियन नेताहरू विश्वनाथ प्याकुरेल, रामकुमार वान्तवा, भोला पोख्रेल, आमोद श्रेष्ठ, चिरागमान सिंह कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन लालबहादुर पाख्रिनले गर्नुभएको थियो भने मणिरत्न श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो ।
विश्व ट्रेड युनियन महासंघ सन् १९४५ अक्टोबर ३ मा फ्रान्सको राजधानी पेरिसमा स्थापना भएको हो । श्रमिकको ट्रेड युनियन अधिकार, उचित ज्याला तथा पारिश्रमिक र सामाजिक सुरक्षाको सुनिश्चितता, फाँसीवाद, नाजीवाद तथा साम्राज्यवादको विरोध तथा प्राकृतिक स्रोतसाधनको संरक्षण गर्दै राष्ट्रहरूको सार्वभौमिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले महासंघ स्थापना भएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघमा हाल करिब १० करोड ५० लाख श्रमिक आबद्ध रहेको जनाइएको छ । सार्वजनिक सेवा, बैंक–बीमा तथा वित्तीय क्षेत्र, ऊर्जा, निर्माण, होटल तथा पर्यटन, खानी तथा खनिज, छालाजन्य उद्योग तथा सेवा निवृत्त पेन्सनधारी श्रमिकलगायत विभिन्न क्षेत्रका ११ वटा अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र महासंघमा आबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं