काठमाडौं । लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको सक्रिय सहभागिता देखिएको छ । काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा १८ वर्षका युवादेखि लामो समय पार्टी राजनीतिमा सक्रिय प्रतिनिधिसम्मको अर्थपूर्ण उपस्थिति देखिएको हो । उद्घाटन समारोहमा देखिएको युवा सहभागितासँगै नेतृत्व र कार्यशैली परिवर्तनको आवाजले कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने संकेत देखिएको प्रतिनिधिहरूले बताएका छन् । कांग्रेसकै पुरानो विरासत बोकेको एउटा समूह बाहिरै रहे पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको परिवर्तनपछि सुरु भएको महाधिवेशनलाई धेरैले आफ्नो राजनीतिक भविष्यसँग जोडेर हेरेका छन् ।
महाधिवेशनले लामो समयदेखि नेतृत्वमा सीमित अनुहार दोहोरिइरहने प्रवृत्ति तोड्ने र युवालाई मूलधारको राजनीतिमा स्थापित गर्ने उनीहरूको विश्वास छ । पहिलो पटक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका कतिपय युवाले कांग्रेसमा आफूहरूको आकर्षण बढ्नुको कारण नै विशेष महाधिवेशनबाट सुरु भएको रूपान्तरणको प्रक्रियालाई मानेका छन् ।
इतिहासको सम्मान हुनुपर्छ, तर इतिहासको नाममा नेतृत्व र अवसरमाथि पुरानै पुस्ताको एकाधिकार कायम रहन नहुने उनीहरूको सन्देश छ । कांग्रेस महाधिवेशनमा पुस्तान्तरणको बहससँगै नेतृत्व चयन, प्रचारशैली र पार्टी सञ्चालनका अभ्यासमा पनि परिवर्तनको प्रयास देखिएको छ ।
विगतका महाधिवेशनमा देखिने तडकभडक, ठूला स्वागतद्वार, होर्डिङ बोर्ड र अत्यधिक प्रचार सामग्रीको सट्टा यसपटक मितव्ययितालाई प्राथमिकता दिइएको छ । उम्मेदवारहरूले डिजिटल माध्यमबाट प्रचार गरिरहेका छन् भने पर्चा र पम्प्लेट वितरणमा रोक लगाइएको छ । नेतृत्व चयनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्ने पुरानो अभ्यासलाई निरुत्साहित गर्ने तयारीले प्रतिनिधिलाई उम्मेदवार छान्न स्वतन्त्र बनाउने अपेक्षा गरिएको छ । त्यस्तै, ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व, महिलाको सहभागिता तथा विभिन्न पेसा, समुदाय र प्रवासमा रहेका कांग्रेसजनलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने व्यवस्थाले संगठनको स्वरूप बदल्ने संकेत गरेको छ । हिमाल, पहाड र तराई-मधेशका नाममा बनाइएका तीन हलमा बन्दसत्र सञ्चालन गर्ने, राजनीतिक तथा सांगठनिक प्रतिवेदन डिजिटल माध्यमबाट उपलब्ध गराउने र छलफलका धारणा अभिलेखमा राख्ने तयारीले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने प्रतिनिधिहरूको विश्वास छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनले सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण, रोजगारी, संघीयताको प्रभावकारी कार्यान्वयन र युवाका माग सम्बोधन गर्नेसम्मका विषय समेटेको छ ।
महाधिवेशन उद्घाटन सहभागी अन्य दलका नेताहरूका अभिव्यक्तिले पनि कांग्रेसको रूपान्तरणलाई राष्ट्रिय राजनीतिमा भइरहेको पुस्तान्तरण र कार्यशैली परिवर्तनको बहससँग जोडिदिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भाषण, नारा र घोषणापत्रभन्दा कामको परिणाम महत्त्वपूर्ण हुने बताउँदा एमाले महासचिव शंकर पोखरेलले लोकतन्त्र, राष्ट्रियता र विकासका विषयमा कांग्रेससँग सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसमा क्रमभंग भएको भन्दै अब गगन थापा र रवि लामिछानेको पालो आएको टिप्पणी गर्नुभयो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको र देशको अवस्था झन् जटिल बनेको बताउनुभयो ।
आजदेखि बन्दसत्र, डिजिटल बोर्डमा प्रत्यक्ष हेर्न सकिने
आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्र हुँदै छ । आज (सोमबार) र भोलि (मंगलबार) दुई दिनसम्म बन्दसत्र काठमाडौंस्थित खुलामञ्चमै हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल हुनेछ । बन्दसत्रमा सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब तीन हजार प्रतिनिधि अट्ने गरी तीनवटा हल तयार पारिएको छ ।
बन्दसत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ । एउटा हलमा भएको छलफललाई अर्को हलमा रहेका सहभागीहरूले पनि डिजिटल बोर्डमार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको छ । यस व्यवस्थाले ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने बन्दसत्रमा प्रतिवेदनमाथिको छलफललाई सहज रूपमा पछ्याउन सकिने कांग्रेसको अपेक्षा छ ।
१५औँ महाधिवेशनको बन्दसत्रका लागि तयार पारिएका हलका नाम हिमाल, पहाड र तराई–मधेश राखिएको छ । तीनवटै हलको मुख्य प्रवेशद्वारमाथि भौगोलिक विशेषता जनाउने चित्र अंकित छन् । पार्टी झण्डा र चुनाव चिह्नअनुसार हललाई रातो, सेतो र हरियो थिममा तयार पारिएको छ । प्रत्येक हलमा कुलर पंखाको पनि व्यवस्था गरिएको छ । हलमा प्रस्तुत प्रतिवेदनमाथि भूगोलका आधारमा समूहमा विभाजित प्रतिनिधिहरूले छलफल गर्ने र निष्कर्ष सुनाउने छन् ।
‘सरकारलाई खबरदारीदेखि कांग्रेस पुनःसंरचनासम्म’
कांग्रेस सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण प्रस्ताव अघि सार्नुभएको छ । प्रतिवेदनले कांग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण जनतासँग दूरी बढेको स्वीकार गरेको छ । अब पार्टीलाई नयाँ राजनीतिक संस्कार र कार्यशैलीसहित अघि बढाउने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई षड्यन्त्रका रूपमा मात्र नहेरी त्यसले उठाएका सुशासन, अवसर, न्याय र समानताका मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख छ ।
आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग, हिंसा र क्षतिको निष्पक्ष छानविन गरी दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ । फागुन २१ को निर्वाचन परिणामलाई पनि कांग्रेस र नागरिकबीच बढेको दुई दशक लामो दूरीको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उल्लेख छ । निर्वाचनपछिको भूमिकामा कांग्रेसलाई प्रभावकारी प्रमुख प्रतिपक्षका रूपमा स्थापित गर्ने प्रस्ताव छ ।
सरकारका कामको तथ्यमा आधारित निगरानी, भ्रष्टाचार र अधिकार हननविरुद्ध खबरदारी तथा वैकल्पिक नीति प्रस्तुत गर्न संघीय र प्रदेश तहमा छाया सरकारको अवधारणा अघि सारिएको छ । आगामी निर्वाचनमा पूर्वनिर्वाचन गठबन्धन नगर्ने र कांग्रेस आफ्नै चुनाव चिह्न, उम्मेदवार तथा एजेण्डासहित जनतामाझ जाने प्रस्ताव प्रतिवेदनमा छ । उम्मेदवार छनोटमा गुट, पहुँच र आर्थिक प्रभावभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई आधार बनाउने तथा प्राथमिक निर्वाचन, जनमत संग्रह वा पार्टी सदस्यको प्रत्यक्ष मतदानजस्ता विधि अपनाउने प्रस्ताव गरिएको छ । वैचारिक रूपमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई २१औँ शताब्दीअनुकूल पुनर्व्याख्या गर्ने प्रस्ताव गरिएको छ ।
राष्ट्रियतालाई ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञानको क्षमतासँग जोड्दै लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रियाभन्दा नागरिकको निरन्तर सहभागिता र निर्णय प्रक्रियासम्म विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । आर्थिक क्षेत्रमा निजी क्षेत्रलाई रोजगारी, उत्पादन, लगानी र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने प्रस्ताव छ । लगानी सुरक्षा, नीतिगत स्थिरता र व्यवसाय गर्ने वातावरण सुधार गर्दै रेमिट्यान्सलाई कृषि, उद्योग, पर्यटन र प्रविधिमा लगानी गर्ने वातावरण बनाउने तथा जलविद्युत् र स्वच्छ ऊर्जालाई औद्योगिकीकरण र हरित निर्यातसँग जोड्ने योजना अघि सारिएको छ । ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणाअन्तर्गत आर्थिक वृद्धि मात्रै नभई शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रविधि र कृत्रिम बौद्धिकताले रोजगारी, शिक्षा र ज्ञानको क्षेत्रमा ल्याउने परिवर्तनअनुसार शिक्षा तथा सीप प्रणालीलाई पुनर्संरचना गर्ने प्रस्ताव छ ।
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा प्रशासनिक र वित्तीय संघीयता बलियो बनाउने प्रस्ताव छ । पार्टीभित्र आर्थिक पारदर्शिता, नियमित लेखापरीक्षण, आचारसंहिता र भ्रष्टाचार आरोपमा परेका नेतामाथि छानविनको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा पार्टीगत भागबण्डा नगर्ने तथा आफ्ना नेता वा कार्यकर्ताको भ्रष्टाचारलाई समेत संरक्षण नगर्ने प्रतिबद्धता प्रतिवेदनमा राखिएको छ । प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था, निर्वाचनमा ‘नन अफ द अबभ’को विकल्प, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने प्रस्ताव पनि अघि सारिएको छ । युवाको असन्तुष्टि र जेनेरेसन-जेडका माग अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ कार्यदल गठन गर्ने र त्यसका सुझावलाई नीति निर्माणमा अनिवार्य रूपमा समेट्ने प्रस्ताव छ । समग्रमा थापाको प्रतिवेदनले नेतृत्व परिवर्तनभन्दा व्यापक राजनीतिक संस्कार, पार्टी संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा रूपान्तरणलाई कांग्रेसको आगामी कार्यदिशाका रूपमा प्रस्तुत गरेको छ ।
पहिलो पटक वरिष्ठ उपसभापतिको व्यवस्था
नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढाउने भएको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वका आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या १७ बाट बढाएर २१ पुर्याउने प्रस्ताव गरेको हो । प्रस्तावित नयाँ संरचनाअनुसार अब कांग्रेसमा एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन् । उपसभापतिको संख्या दुईबाट बढाएर चार पुर्याउन प्रस्ताव गरिएको छ । जसमा एक वरिष्ठ उपसभापति र एक महिला अनिवार्य गर्न प्रस्ताव गरिएको छ । अहिले कांग्रेसमा दुई उपसभापति छन् । चारैजना निर्वाचन प्रक्रियाबाटै छान्ने पनि प्रस्ताव गरिएको छ ।
सहमहामन्त्रीको संख्या ११ बाट बढाएर १३ पुर्याउने प्रस्ताव छ । जसमा ११ जना निर्वाचित गर्ने र दुईजना केन्द्रीय सदस्यहरू मध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनयन गर्ने पुरानै व्यवस्था राखिएको छ । समग्रमा केन्द्रीय कार्यसमिति २३२ सदस्यीय नै रहनेछ । जसमा १७१ जना निर्वाचित हुनेछन् भने ६१ जना सभापतिबाट मनोनीत हुनेछन् । ३५ वर्ष मुनिबाट २१ जना, पेसागत, बुद्धिजीवी लगायतबाट छनोट हुने सात, जनसम्पर्क समितिबाट चयन हुने ६ जनाको व्यवस्थामा भने संशोधन नहुने बताइएको छ । पार्टीको प्रस्ताव अब विधान संशोधनको रूपमा बन्दसत्रमा पेस गरिनेछ ।
विगतभन्दा केही नयाँ अभ्यास
कांग्रेसको १५औँ महाधिवेशन विगतका भन्दा केही फरक देखिएको छ । गत वर्ष पुसमा विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधन कार्यान्वयन गर्दै कांग्रेसले अहिले युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागेको हो । ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित, २१ युवा सदस्य केन्द्रीय कार्यसमितिमा, महिलाका लागि कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित, सहमहामन्त्रीको संख्या वृद्धि, ‘ल्याटरल इन्ट्री’को व्यवस्था अर्थात् राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्ता मात्र नभई विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ । विदेशस्थित कांग्रेसजनलाई केन्द्रमा प्रतिनिधित्व, अपांगता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई केन्द्रीय समितिमा सुनिश्चित, २३२ सदस्यीय केन्द्रीय संरचना, नेतृत्व चयनको क्रममा प्यानल निषेध, तीनवटा संरचनामा बन्दसत्र, प्रतिवेदन डिजिटल रूपमा उपलब्ध, छलफलको अभिलेख राखिने, प्रचारशैलीमा परिवर्तन, उद्घाटन र बन्दसत्र एउटै स्थानमा लगायत केही नयाँ अभ्यास देखिएका छन् ।
विद्युतीय मतदान नहुने
कांग्रेसको जारी १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ नहुने भएको छ । विद्युतीय मेसिनबाट मतदान गराउँदा पनि नतिजा आउन एक दिनभन्दा बढी समय लाग्ने भन्दै कागजी विधिबाट मतदान गराउन लागिएको हो । नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका छ । मतदान तीन ठाउँमा हुनेछ । खुलामञ्च, राष्ट्रियसभा गृह, प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको प्रबन्ध गरिएको छ ।
कांग्रेसले नेतृत्व, व्यवहार र कार्यशैली परिवर्तन गर्नुपर्ने छ : सभापति थापा
कांग्रेस सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’जस्तो बनेको बताउनुभएको छ । म्युजिकल चियरको प्रवृत्तिकै कारण भदौ २३ र २४ गतेको घटना भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिइरहने र मन्त्री बनेका व्यक्ति पनि पटक–पटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको उहाँको भनाइ थियो । यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गएको उहाँले बताउनुभयो । राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै बढ्दै गएर ‘भुसको आगो’जस्तो बनेको थापाले बताउनुभयो । ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो’, उहाँले भन्नुभयो । दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताउनुभयो । थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो । जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।
थापाले कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहको आत्मा १५औँ महाधिवेशनमा रहेको बताउनुभयो । निवर्तमान सभापति शेरबहादुर देउवा महाधिवेशनमा आउने अपेक्षासहित कुर्सी खाली राखेको थापाले बताउनुभयो । देउवाप्रतिको सम्मान उनको घरको ढोकामा गरेर गर्ने सम्मानभन्दा कांग्रेसलाई बलियो बनाउने कुरा सम्मान हुने बताउनुभयो ।
संसद् खुला छैन, बन्द छ
कांग्रेस सभापति थापाले संसद् खुला नभएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएसम्म संसद् खुला नहुने उहाँले तर्क गर्नुभयो । ‘कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले दिन खोजेको सन्देश र गर्न खोजेको संकल्प नेपालमा यस्ता खुलामञ्चहरू धेरै ठाउँमा चाहिएको छ । पहिलो खुलामञ्च कहाँ चाहिएको छ ? पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ । संसद् खुला छैन, संसद् बन्द छ,’ उहाँले भन्नुभयो, ‘जुन संसद्ले जसलाई प्रधानमन्त्री बनाएको छ, प्रधानमन्त्रीको सम्मानपूर्वक उपस्थिति रहँदैन, त्यो दिनसम्म संसद् खुला भएको हुँदैन । संसद्भित्र खुलामञ्च चाहिएको छ ।’
भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त हुँदैन : लामिछाने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताउनुभएको छ । कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको आफूले सधैँ सम्मान गर्ने उहाँले बताउनुभयो । कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । ‘कांग्रेसको शक्ति इतिहास हो । कमजोर पनि इतिहास हो,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ । यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ ।’
भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त नहुने भन्दै लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको बताउनुभयो । वर्तमान सरकार कमजोर भएको चर्चा हुने गरेको भन्दै सरकार नढल्ने उहाँले दाबी गर्नुभयो । आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई डाँडो कटाउन सक्ने भन्दै त्यसलाई स्वीकार गर्ने उहाँको भनाइ छ । ‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ’, उहाँले भन्नुभयो, ‘आन्दोलनले सरकार ढाल्छौँ, आँधीबेहरीको कुरा पनि सुनिरहेको छु । आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ । अब चुनावबाट मात्रै सरकार फेरौँ । चुनावले सरकार फेराउँछ । कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिलै ढल्छ, भोलि ढल्छ, दशैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ, ढल्छ कि ढल्छ भनेको सुन्छु । ढल्न त ढल्छ, तर यो पटक-पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ ।’
लोकतन्त्रमा कुनै खतरा नभएको उहाँले भन्नुभयो । ‘लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस् । लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्,’ उहाँले भन्नुभयो, ‘जनताले जोगाउँछन् । तर, लोकतन्त्रको नाममा हामीले विधि स्थापना गर्छौँ ।’
लोकतन्त्रका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ : पोखरेल
एमाले महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताउनुभएको छ । पोखरेलले मुलुक अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै राष्ट्रियताका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको हो । पोखरेलले लोकतन्त्रको भविष्यमाथि समेत चिन्ता उत्पन्न भएको बताउनुभयो । ‘जसरी हिजो नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौँ, पञ्चायतलाई परास्त गरेका छौँ, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौँ, त्यसैगरी लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो । अनुहार परिवर्तन मात्रै पर्याप्त नहुने भन्दै राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोविज्ञानअनुसार आफ्नो आन्दोलन र संगठनलाई नयाँ रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
मलाई गाह्रो छ, अब क्रमभंग गर्ने पालो गगनजीको : प्रचण्ड
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताउनुभएको छ । थापाले कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्याएको भन्दै उहाँले बधाईसमेत दिनुभयो । कांग्रेस सभापति थापाले निरन्तरतामा क्रमभंग गरेको प्रचण्डले बताउनुभयो । ‘कांग्रेसमा निरन्तरताको क्रमभंग गर्दै कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्याएकोमा गगन थापालाई बधाई’, उहाँले भन्नुभयो, ‘मैले धेरै क्रमभंग गर्थें । अब क्रमभंग गर्न मलाई अलि गाह्रो गाह्रो भएको हो कि ? अब क्रमभंग गर्ने पालो गगनजीको । क्रमभंग गर्ने पालो रविजीको ।’ बाँकी रहेका सबैलाई समेटेर अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।
मान्छे फेरिएर मात्र हुँदैन रहेछ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश यतिबेला अँध्यारो सुरुङतर्फ प्रवेश गरेको टिप्पणी गर्नुभएको छ । पछिल्लो ६ महिनामा पात्रहरू बदलिए पनि देशको अवस्थामा कुनै सुधार आउनुको साटो झनै बिग्रेर गएको उहाँले बताउनुभयो । उहाँले कांग्रेसको १४औँ महाधिवेशनमा आफूले गरेको भाषणसमेत स्मरण गर्नुभयो । ‘त्यसबेला आमजनतामा नेताप्रति जति वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन । योबीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो, तर देशको अवस्था झन् जटिल बनेको छ’, उहाँले भन्नुभयो, ‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन् बढेको छ । देश ठीक ठाउँमा नआएको मात्र होइन, लिकबाट बाहिर गएको छ । पात्र फेरियो प्रवृत्ति फेरिएन ।’
अरू कसले के भने ?
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मुलुकका जल्दाबल्दा मुद्दाहरूमा दलहरूबीच साझा संकल्प र सहकार्य आवश्यक रहेको बताउनुभयो । शर्माले राष्ट्रिय हितका विषयमा सत्ता र प्रतिपक्ष नभनी एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको थियो । उपसभापति शर्माले बीपी कोइरालाले प्रतिपादन गरेको संसदीय लोकतन्त्र आज सबै दलको साझा मार्ग बनेको बताउनुभयो । वर्तमान सरकार गठन भएको ६ महिना पुग्दा पनि नागरिकको आवेगलाई विश्वासमा बदल्न नसकिएको शर्माले टिप्पणी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । पुराना पार्टीहरूको पुरानो नेतृत्व र विचारले मात्रै अब देशको आवश्यकता पूरा गर्न नसक्ने उहाँले बताउनुभयो । आफू माओवादीमै हुँदै नेपालमा पार्टी रूपान्तरण भएर नयाँ नेतृत्व आउनुपर्ने वा नयाँ शक्ति उदाउनुपर्ने कुरा उठाएको स्मरण गर्दै भट्टराईले आज ती दुवै कुरा पूरा भएको बताउनुभयो । ‘१२ वर्षपछि आज म स्मरण गर्न चाहन्छु, नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ, र कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ । यो देख्दा मलाई खुसी लागेको छ,’ उहाँले भन्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताउनुभएको छ । भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू-राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताउनुभएको हो । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताउनुभयो । राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनमा गणतन्त्रसँग हिन्दू धर्म साटिएको आरोप लगाउनुभयो ।







मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र