नेपालीहरूले विदेशमा आर्जन गरेको विदेशी सीप र पुँजी स्वदेशको विकास र समृद्धिका लागि हुनुपर्नेमा सरकारले जोड दिँदै आएको छ । तर, उक्त नारा र भाषणबाजी जति कर्णप्रिय लाग्छ, कार्यान्वयन पाटो त्यति नै पीडादायी देखिएको छ । सरकारले जतिसुकै लगानीमैत्री नीतिको कुरा गरे पनि वास्तविकता त्यस्तो नरहेको पाइएको हो । सरकारकै आह्वानअनुसार स्वदेशमै केही गर्ने सोचसाथ सीप र पुँजीसहित फर्किएको ठूलो युवा जमात सरकारको नीतिकै कारण नेपालमा व्यवसाय धरासायी भएपछि निराश बन्दै पुनः वैदेशिक रोजगारीमै फर्किन बाध्य भएको अवस्थासमेत रहेको छ । गत वर्षमात्रै गठन भएको मार्ट व्यवसायीहरूको छाता संगठन नेपाल मार्ट व्यवसायी संघका अध्यक्ष भूपेन्द्र विष्टलाई सुन्दा त्यस्तै लाग्छ । उहाँ आफैं पनि झण्डै डेढ दशकसम्म विदेशमा सिकेको सीप र पुँजी लिएर आफ्नै देशमा केही गरौं भन्ने सोचसाथ फर्किनुभएको थियो । फर्किएर संयुक्त लगानीमा मार्ट अभियान सुरु गर्नुभएका विष्टको चेन मार्टको सपना विविध कारण साकार हुन पाएन । उहाँमात्रै होइन, धेरै आउट विस्तार गरिसकेका साथी मार्ट, डिजी ग्रोसरी, महानगरलगायतका मार्ट बन्द भएका छन् । खासगरी स्वलगानीका मार्टहरू एकातिर नीतिगत समस्या र अर्कोतिर ठूला कर्पोरेट हाउसद्वारा सञ्चालित ठूला मार्टहरूको दबदबाको शिकार भएको पनि पाइएको छ । मार्टका नीतिगत समस्या समाधान गर्दै मार्टमैत्री वातारण निर्माणमा जोड दिने उद्देश्यसाथ स्थापना भएको नेपाल मार्ट व्यवसायी संघका अध्यक्ष भूपेन्द्र विष्टसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
मार्ट व्यवसायको अवस्था कस्तो छ ?
विगत केही वर्षयता मार्ट व्यवसायको अवस्था राम्रो हुँदै गएको छ । दिन प्रतिदिन मार्टहरू विस्तार हुँदै गएका छन् । विगतमा फाट्टफुट्ट देखिने मार्ट अहिले टोल-टोलमै देख्न सकिन्छ । अहिले ट्रेण्ड नै त्यस्तै छ । पहिला जस्तो ट्रेडिसनल रिटेलिङ गर्ने ट्रेण्ड अब घट्दै गएर मोर्डनाइज हुँदै गएको अवस्था छ ।
काठमाडौं उपत्यकालगायत देशभर मार्ट कति छन् ?
भर्खर संगठित भएकाले देशभर मार्टहरूको संख्या कति छन् भन्ने यकिन तथ्यांक त हामीसँग छैन । अनुमानित एक हजारदेखि १५ सय हाराहारीमा भ्यालीभित्र हुनुपर्छ । भ्यालीबाहिर पनि मुख्य शहरहरूमा मार्टहरू विस्तार भइरहेका छन् । अहिले कास्की, सुर्खेत, चितवन, मकवानपुरलगायत झण्डै आधा दर्जन जिल्लाहरूमा हाम्रो कनेक्टिभिटी रहेको छ । छोटो समयमै यति धेरै साथीहरू समेट्निु भनेको राम्रो हो । क्रमिक रूपमा हामी देशभरिका साथीहरूलाई समेट्दै जानेछौं ।
सुरु अवस्थामा मार्ट सञ्चालन कत्तिको सहज थियो ?
नेपालमा मार्टको इतिहास त्यति लामो छैन । तत्कालीन समयमा काठमाडौंको थापाथलीमा ब्लुबर्ड सुरु भएको थियो । पछि व्यवसायी मीनबहादुर गुरुङले टंगालमा भाटभटेनी सुरु गर्नुभयो । २०४६ को राजनीतिक आन्दोलनपछि भने धेरै नेपाली दाजुभाइहरू वैदेशिक रोजगारीमा जाने ट्रेण्ड सुरु भयो । त्यसरी वैदेशिक रोजगारीमा गएर फर्किनेहरूले विदेशको सीप र पुँजी स्वदेशमा लगानी गर्ने क्रममा मार्ट सञ्चालनको क्रम पनि बढ्दै गएको हो । २०१० देखि भने राज्यले नै सिस्टममा जानुपर्छ, इलेक्ट्रोनिक्स बिलिङ हुनुपर्छ भनेपछि मार्ट व्यवसाय अलिकति व्यवस्थित हुँदै बढ्दैछ ।
मार्टमा उपभोक्ता आकर्षण चाहिँ कस्तो छ ?
उपभोक्ताको मार्टमा आकर्षण बढेकै कारण मार्टहरू विस्तार भएका हुन् । वैदेशिक रोजगारी, वैदेशिक भ्रमणका साथै सूचना प्रविधिको द्रुत विकासका कारण नेपालीहरूमा पनि किनमेलको ट्रेण्ड परिवर्तन भएको छ । बाहिर काम गर्न गएका साथीहरू यहाँ आएर केही गरौं भनेर कतिले मार्ट सञ्चालन गरिरहेका छन् भने कति अन्य नयाँ व्यवसायमा पनि लागेका छन् ।
महँगो हुन्छ भनेर मार्टहरूमा जान डराउने गरेको पनि देखिन्छ नि ?
महँगो र सस्तोभन्दा पनि यहाँ दुई किसिमको ट्रेण्ड देखिन्छ । एउटा चाहिँ ट्रेडिसनल रिटेलिङ र अर्को मोर्डन रिटेलिङ । नेपालमा मार्ट संस्कृतिको सुरुवात भए पनि ट्रेडिसनल रिटेलिङ छोड्न सकेको छैन । खासगरी विदेशमा बसेर आउने नेपाली दाजुभाइहरू भने ट्रेडिसनल रिटेलिङ गर्ने पसलहरूमा जान त्यति रुचाउनुहुन्न, मार्टमै गएर किन्नुपर्छ भन्ने छ । अर्थात् मार्टमा किनमेल गर्ने निश्चित समूह छ । तर, सामानको गुणस्तर र राज्यलाई राजस्व तिर्ने दृष्टिकोणबाट हेर्ने हो भने मार्टलाई नै प्रोत्साहित गरिनुपर्छ । त्यसैले यसमा जनचेतना एकदमै महत्त्वपूर्ण छ । राज्य सञ्चालनका लागि आर्थिक स्रोत कताबाट व्यवस्थापन हुन्छ भन्ने जनतालाई जानकारी दिने निकायहरूले पनि यसमा त्यति चासो दिए जस्तो लाग्दैन । सोसम्बन्धी क्याम्पेनहरू चलाएको जस्तो लाग्दैन । मार्टहरूले सम्बन्धित निकायहरूमा दर्ता भएर राज्यलाई तिर्नुपर्ने सबै करहरू तिरेका छन् तर ट्रेडिसनल रिटेलिङ गर्नेहरूले पान नम्बर लिएर चलाइरहेको अवस्था छ । अगाडिपट्टि एउटा सटर लिने र भित्रबाट ठूलो कारोबार गर्ने, हात्तीको शरीर जस्तो कारोबार गर्ने । त्यस्तो कारोबारबाट राज्य पनि ठगिइरहेको छ, उपभोक्ता पनि ठगिइरहेका छन् । अर्को कुरा, सरकारले अहिले चिठ्ठाका नाममा लाखौं खर्च गरिरहेको छ, जसको लाभ निश्चित समूहले मात्रै लिइरहेको अवस्था छ । कर भने सबै नागरिकबाट असुल्ने तर त्यस्तो करबाट निश्चित समूहलाई मात्रै फाइदा पुर्याउने काम हुनुहुँदैन ।
मार्टले बिक्री गर्ने सामानहरूको गुणस्तरको अवस्था के छ ?
सबैभन्दा हाम्रो प्राथमिकता भनेकै उपभोक्तालाई सर्वसुलभ, उचित मूल्य र गुणस्तरीय सामान उपलब्ध गराउनु हो । मार्टमा एक्सपायरी सामानहरू सप्लायरले रिटर्न लिएर जाने प्रक्रिया भएकाले मार्टमा पाउने सामान गुणस्तरीय नै हुन्छन् । तर, गुणस्तरप्रति उपभोक्ता पनि सचेत हुनुपर्छ ।
मार्टहरूबीच प्रतिस्पर्धा कस्तो छ ?
मार्टहरूबीचमा प्रतिस्पर्धा हुँदैन । मार्टलाई मार्टले प्रतिद्वन्द्वी सम्झिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । राज्यले नियन्त्रण गर्न नसकेको र छुचुन्द्रो जस्तो टाउको देखाएर हात्तीको शरीर जस्तो कारोबार गर्नेहरू भने हाम्रा प्रतिद्वन्द्वी हुन् । किनभने मार्ट व्यवसायीले त राज्यलाई कर तिरेर पारदर्शी रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन् । अप्ठ्यारो वातावरण सिर्जना गर्ने भनेका हात्तीको शरीर भएकाहरू हुन् । कालोबजारी गर्ने पनि तिनै हुन् । त्यस्तालाई राज्यले नियन्त्रणमा लिनुपर्छ, सरकारको अनुगमन, नियमन त्यतातिर केन्द्रित हुनुपर्छ । तर, अनुगमनका नाममा पारदर्शी रूपमा व्यवसाय गरिरहेका मार्टहरूलाई दुःख दिने काम भइरहेको छ । मार्टहरूले उत्पादकहरूले दिने सामान बिक्री गर्ने हो, सामानको भाउ पनि उत्पादक, आयातकर्ताले नै निर्धारण गर्ने हो, प्याकेजिङ पनि उनीहरूले गर्ने हो, हामी त बिक्रेतामात्रै हौं । त्यसैले मुहानमै अनुगमन, नियमन हुनुपर्यो ।
मार्टमा कस्ता व्यवसायीको संलग्नता बढी छ, युवा अथवा अहिले ‘जे-जी’ पनि भनिन्छ ?
ठीकै भन्नुभयो, अहिले गर्ने भनेको नै युवाहरूले नै हो । बुबाहरूले गर्ने त उमेर हुन्जेलसम्म हो । उहाँहरूले हस्तान्तरण गर्ने दोस्रो पुस्तालाई नै हो । युवाहरू देशबाहिर गएर केही सिकेर पनि आएका छन् । जसले जे सिकेको छ, त्यही काम गर्दा राम्रो हुन्छ । त्यसकारण मार्ट व्यवसायमा पनि युवाहरू नै अगाडि छन् । हालसम्म जति पनि हामीसँग जोडिएका छन्, सबै युवाहरू नै छन् ।
मार्ट व्यवसायका समस्या चाहिँ के छन् ?
समस्याहरू धेरै छन् । तर, समस्या समाधानमा सरकारले ध्यान दिएको छैन । पछिल्लो समय मार्टहरूमा चोरीको बिगबिगी बढेको छ, चोर समातिन्छ, छोडिन्छ तर कारबाही हुँदैन । अर्को कुरा, सामान्य पसलको तुलनामा मार्ट सञ्चालन र व्यवस्थापन खर्च बढी हुन्छ तर आम्दानीको स्रोत सीमित हुन्छ । मार्टहरूमा आउने ग्राहक संख्या पनि सीमित हुन्छ । कतिपयलाई मार्टमा महँगो जस्तो अनुभव हुन्छ तर के खाँदैछु भन्ने चाहिँ थाहा हुँदैन । त्यही सामान अन्यत्र बाहिर पाउँदा जस्तो पनि चल्छ, पाँच रुपैयाँ सस्तो भएपछि नेपालीहरूलाई पुग्छ । सामानमा घुन, धुलो, डेट एक्सपायर केही मतलब हुँदैछ । त्यसकारण पनि मैले उपभोक्ता सचेतनामा जोड दिएको हुँ । त्यस्तै ठूला–ठूला चेन मार्ट खोल्दा दूरी मेन्टेनका कुराहरू पनि छन् ।
मार्ट व्यवसायले कत्तिको रोजगारी सिर्जना गरेको छ ?
रोजगारीको यकिन डाटा त छैन तर पनि सामान्यतया एउटा मार्टमा एक जना डाटा अपरेटर चाहिन्छ, एक जना क्यासियर चाहिन्छ, एक जना सुपरभाइजर चाहिन्छ । सानो मार्टलाई पनि तीनदेखि पाँच जना स्टाफ चाहिन्छ । यो बजेटभन्दा अघिल्लो बजेटमा स्टाफलाई बेसिक स्यालरी १९ हजार पाँच सय थियो, अहिलेको बजेटमा ३० हजार पुर्याउने भन्नेछ तर अहिले मार्ट व्यवसायीले त्यति धेरै स्यालरी दिन सक्ने अवस्था छैन । एउटा मार्ट व्यवसायीको टर्नओभर कति हुन्छ ?, पाँच जना स्टाफ राख्दा खर्च कति हुन्छ, भाडाको कुरा हुन्छ, त्यसमा लाग्ने इन्टरनेट, विद्युत्लगायतको खर्च हुन्छ । व्यवसाय गरेर बैंकको किस्ता, घरखर्च व्यवस्थापन गर्न नसकेर धेरैवटा मार्ट बन्द भएको अवस्था छ । नेपालमै केही गर्छु भनेर स्वदेश फर्किएको युवा जमात फेरि निराश भएर विदेशतिरै गइरहेको अवस्था छ । समस्या त कति छन्, कति ? भनेर सकिँदैन । दिनभर व्यवसायलाई समय दिनुपर्दा आफ्नो परिवारलाई दिने समय सक्यो, बच्चाहरूलाई दिशानिर्देश गर्ने समय हुँदैन । खर्च व्यवस्थापन हुन नसक्दा डिप्रेसन, आत्महत्याको अवस्थासमेत आउने गरेको छ । खासगरी कोरोनापछि व्यवसायमा समस्या देखिएको हो ।
बढ्दो अनलाइन सपिङ पनि मार्टका लागि समस्या बनेको हो ?
अनलाइन सपिङलाई पनि राज्यले राम्रो अनुगमन गर्नुपर्ने आवश्यकता छ । गल्लीभित्र एउटा सटर खोलेर करोडौं कारोबार गर्ने र व्यवस्थित र पारदर्शी रूपमा व्यवसाय गर्नेलाई राज्यले एउटै व्यवहार गर्नु अन्याय हो । हुन त सबै व्यापार व्यवसाय एक आपसमा कनेक्टेड हुन्छ तर जथाभावी अनलाइन दौडाउने, जथाभावी सामानहरू बेच्दै हिँड्ने अवस्था नियन्त्रण हुनुपर्छ । अनलाइन कारोबार, होलसेल कारोबार, मार्ट सबैलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्छ ।
मार्टहरू प्रवर्द्धनका लागि के गर्नुपर्छ ?
हामीले मार्ट व्यवसायका समस्या समाधानका लागि सरकारका सम्बन्धित निकायहरूको पनि ध्यानाकर्षण गराउँदै आएका छौं । नेपाल सरकारले होटल, लज, रेस्टुरेन्ट र बारहरूमा उपभोक्ताले डिजिटल माध्यम वा कार्डबाट भुक्तानी गरेमा लाग्ने मूल्य अभिवृद्धिकर (भ्याट)को १० प्रतिशत रकम फिर्ता दिने नीति लागू गरेको छ, उक्त नीतिको हामीले स्वागत पनि गरेका छौं तर त्यस्तो सुविधा मार्ट व्यवसायमा लागू नगरिनु अन्यायपूर्ण र विभेदकारी छ । मार्टहरू दैनिक उपभोगका आवश्यक वस्तुहरू बिक्री गर्ने व्यावसायिक प्रतिष्ठान हुन् र जहाँ दैनिक लाखौं उपभोक्ताले खरिद गर्छन् । मार्टहरूमा डिजिटल भुक्तानी प्रवर्द्धन सरकारको डिजिटल अर्थतन्त्रको लक्ष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
मार्टहरू पहिलेदेखि नै भ्याट दर्ता भएका, बिलिङ सफ्टवेयर प्रयोग गर्ने र कर पारदर्शिता कायम गर्ने व्यावसायिक संस्था भएकाले डिजिटल भुक्तानी कार्यान्वयनका लागि सक्षम र तयार छन् । होटल, रेस्टुरेन्ट जस्तै मार्टहरूले पनि भ्याट संकलन गरेर सरकारलाई बुझाउँछन् । मार्टमा उपभोक्ताको दैनिक किनमेल ठूलो परिमाणमा हुने भएकाले डिजिटल भुक्तानीले नगद कारोबार घटाउन, कर चुहावट रोक्न र अनौपचारिक अर्थतन्त्र औपचारिकीकरण गर्नमा ठूलो भूमिका खेल्न सक्छ । त्यसैले १० प्रतिशत भ्याट फिर्तासम्बन्धी व्यवस्था होटल र रेस्टुरेन्टसरह मार्टहरूमा पनि लागू हुनुपर्छ भन्ने हाम्रो माग हो ।
त्यसैगरी अनुगमनका क्रममा सामान्य वा कर्मचारीको कमजोरीका कारण साना त्रुटिमा पनि अत्यधिक कडा कारबाही गरिँदा व्यवसायीहरू मानसिक, सामाजिक तथा आर्थिक दबाबमा परिरहेका छन् । नियम, प्रक्रिया तथा कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी, तालिम तथा सचेतना नदिई सिधै सामान्य प्राविधिक त्रुटिमा कारबाही गरिँदा व्यवसायीहरू निरुत्साहित हुन्छन् । हामीले संघका तर्फबाट सरकारलाई विभिन्न मागसहितको ज्ञापनपत्र पनि बुझाएका छौं ।
संघका भावी योजना के छन् ?
मार्ट व्यवसाय सञ्चालनमा हामीले जति समस्या र चुनौती भोग्यौं, अब आगामी दिनमा यो व्यवसाय गर्न साथीहरूले हाम्रो जस्तो समस्या भोग्नु नपरोस् भनेर हामी लागेका छौं । हामी मार्ट सञ्चालनका लागि आवश्यक पूर्वाधारदेखि सबै कुराको व्यवस्थापन गर्दैछौं । त्यसैगरी मार्टहरूले अब स्वदेशी उद्योग, आयातित उत्पादनसँगै गाउँको कृषि उपजलाई प्राथमिकता दिनुपर्छ । किनभने कृषिबिना मानवको अस्तित्व छैन । सबै मार्केट चेनहरूलाई सन्तुलनमा राखेर र अनुशासित भएर सबै बाँच्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
आफ्नै अन्नपूर्ण मिनी स्टोरका बारेमा बताइदिनुस् न ?
यो अन्नपूर्ण मिनी स्टोरको कुरा गर्दा अलिकति विगत पनि बताउनुपर्ने हुन्छ । म चाहिँ १४ वर्ष विदेशमा यस्तै मार्टमा काम गरेर विदेशी सीप र पुँजी आफ्नै देशमा लगाउने सोचसाथ फर्किएको थिएँ । किनभने पैसामात्रै पनि ठूलो होइन, अब मैले सिकेका कुराहरू पनि मेरो ठाउँमा गएर केही न केही त गर्नुपर्छ भनेर फर्किएर आएँ । नेपाल आएपछि हामीले पार्टनरसिपमा सातवटा मार्ट खोल्यौं तर ती मार्टहरू विविध कारण चार वर्ष चलेर बन्द पनि भइसकेका छन् । अहिले ती मार्टहरूको नाम नभनौं, ठूलै स्पेसमा थिए । ती मार्टहरूले दिएको इज्जत, ती मार्टले दिएको चिनारीलाई मैले निरन्तरता दिनुपर्छ भनेर फेरि ब्याक भइनँ । कोरोना महामारीबीच फेरि पनि साहस गरेर २०७७ साल भदौ १ गतेदेखि कपनको मिलनचोकमा अन्नपूर्ण मिनी स्टोर सञ्चालनमा ल्याएँ । यति धेरै समस्या र चुनौती भोगेर आएकाले आगामी दिन राम्रो होला भनेर सकारात्मक सोचका साथ अघि बढिरहेको छु । मेरा जति पनि अनुभवहरू छन्, सिकेका कुराहरू छन्, ती समाजमा प्रतिबिम्बित होऊन् भन्ने चाहनाले काम गरिरहेको छु । तर, कोरोनापछिको अवस्थाले हेर्दा चाहिँ लाग्छ, अब सम्पत्ति हुनेले पनि व्यवसाय चलाउन नसक्ने रहेछ, बुद्धि विवेक हुनेले पनि व्यवसाय चलाउन नसक्ने रहेछ । दुवै चिज हुनेवालाले पनि चलाउन नसक्ने रहेछ । नीतिगत सुधार र सहजीकरणबिना नेपालमा व्यवसाय टिकाउन गाह्रो छ ।
हामीले सुनिरहेका नामहरू डिजी ग्रोसरीका २५-२६ वटा आउटलेट थिए । एस टु एस मार्ट थियो, गार्डेन मार्ट थियो, महानगर, स्तुति मेरो मार्ट, साथीलगायतका मार्टहरू थिए । ती सबै चेन मार्टहरू थिए, पैसा भएर नै धेरै आउट खोलेका मार्टहरू थिए तर आज ती सबै बन्दा हुँदा मलाई दुःख लागेको छ । एउटा डिजी मार्टको मात्र कुरा गर्दा २६ आउटलेटमध्ये एउटा आउटलेटमा ८० हजारदेखि लाख भाडा हुँदा राज्यलाई एक वर्षमा हजारौं आम्दानी भइराखेको थियो भने २६ वटा मार्टबाट कति राजस्व आउँथ्यो ? त्यस्तै एउटा स्टोरमा आठ-नौ जनाले रोजगारी पाएका थिए भने २६ आउटलेटका दुई सयभन्दा बढी बेरोजगार भए । कति विदेश पलायन भए । सीपयुक्त प्रोडक्टिभ इम्प्लोइजहरू हामीले रोक्न सकेनौं । त्यसैले राज्यलाई कर तिर्ने व्यवसाय राज्यले बचाउनुपर्छ भन्ने मेरो मान्यता हो ।




कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट