काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुभएको छ । प्रतिवेदनमा कांग्रेसको विगतको आत्मसमीक्षादेखि आगामी चार वर्षको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको छ ।
प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा नीति र उद्देश्यभन्दा पद तथा सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ । गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा युवापुस्तासँग दूरी बढेको आत्मसमीक्षा गरिएको छ ।
थापाले आगामी निर्वाचनमा निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव गर्नुभएको छ । आफ्नै चुनाव चिह्न, उम्मेदवार र एजेन्डासहित जनतामाझ जाने तथा उम्मेदवार छनोटमा गुट र पहुँचभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ ।
प्रतिवेदनमा कांग्रेसले प्रतिपक्षमा प्रभावकारी भूमिका खेल्दै सरकारका कामकारबाहीको तथ्यका आधारमा निगरानी गर्ने, भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउने तथा वैकल्पिक नीति प्रस्तुत गर्ने उल्लेख छ ।
‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणाअन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, निजी क्षेत्रसँग सहकार्य, प्रविधि, जलवायु परिवर्तन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ । पार्टी संगठन सुधार, युवा सहभागिता बढाउने, आन्तरिक भ्रष्टाचार नियन्त्रण गर्ने तथा सार्वजनिक संस्थामा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता पनि प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।
यस्तै, प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा निर्धारण, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार, शहीद तथा घाइतेका परिवारका लागि १० करोड रुपैयाँको अक्षय कोष र युवाका माग अध्ययन गर्न विशेष कार्यदल गठन गर्नेलगायत प्रस्ताव पनि प्रतिवेदनमा समेटिएका छन् ।
थापाको प्रतिवेदनको मूल अवधारणा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ रहेको छ । पार्टीलाई निर्वाचन केन्द्रित संगठनबाट नागरिकसँग निरन्तर जोडिने राजनीतिक संस्थाका रूपमा पुनर्संरचना गर्ने लक्ष्य प्रतिवेदनमा राखिएको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा