काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयता भएका विपद्का घटनाको व्यवस्थापन निरन्तर भइरहेको बताउनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकारले विपद् व्यवस्थापनमा कुनै किसिमको सम्झौता नगरी निरन्तर काम गरिरहेको स्पष्ट पार्नुभएको हो।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता रहेको थियो।
प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरेर विपद् व्यवस्थापनको काम सकेसम्म चाँडो सम्पन्न गर्न सरकार केन्द्रित रहेको बताउनुभयो।
उहाँले मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन भइरहेको भन्दै विपद् व्यवस्थापनका विषयमा ढुक्क रहन आग्रह गर्नुभयो।
भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
उहाँका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारीसमेत गरिरहेको छ। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यानको समेत जोखिम मोलेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी