काठमाडौं । नेपाल वायुसेवा निगम उच्च ब्याजदर र विभिन्न सरकारी निकायबाट लिन बाँकी रहेको करोडौँ रुपैयाँ बक्यौताका कारण वित्तीय संकटमा परेको छ।
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै खर्च भइरहेको बताउँदै तत्काल वित्तीय सुधार आवश्यक रहेको औँल्याउनुभएको हो।
निमित्त महाप्रबन्धक कालाखेतीका अनुसार निगमले राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिड–१९ महामारीका बेला गरिएको उद्धार तथा औषधि ढुवानी र विभिन्न मुलुकमा सञ्चालन गरिएका उद्धार उडानबापत नेपाल सरकारबाट १३ करोड ७५ लाख रुपैयाँ उठाउन बाँकी छ।
उहाँका अनुसार सन् २००५ को विदेश भ्रमणबापत ४ करोड २७ लाख, कोभिडकालमा औषधि ढुवानीबापत १ करोड ५४ लाख, पाकिस्तानको बाढी उद्धार उडानबापत १ करोड १४ लाख र इजरायल उद्धार उडानबापत ५ करोड ७८ लाख रुपैयाँ सरकारबाट लिन बाँकी छ।
निगमले बक्यौता रकम भुक्तानीका लागि पटक–पटक पत्राचार गरे पनि रकम प्राप्त हुन नसकेको उहाँले बताउनुभयो। सरकारी बक्यौता समयमा प्राप्त नहुँदा निगमको नगद प्रवाहमा समेत समस्या परेको उहाँको भनाइ छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदर क्रमशः ९.२५ प्रतिशत र १०.५ प्रतिशत रहेको छ। उच्च ब्याजदरका कारण निगमको वित्तीय भार बढेको भन्दै उहाँले ऋण पुनर्संरचना तथा ब्याजदर घटाउन सके निगमलाई नाफामा लैजान सहज हुने बताउनुभयो।
कालाखेतीले निगमको मुख्य समस्या महँगो ब्याजदर, ठूलो ऋण दायित्व तथा विगतमा तयार भएका सुधारसम्बन्धी प्रतिवेदन कार्यान्वयन नहुनु रहेको बताउनुभयो।
उहाँका अनुसार निगमले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने निजी बैंकहरूबाट प्रस्ताव पाए पनि कर्मचारी सञ्चय कोषको ऋणसम्बन्धी सर्तका कारण त्यस्ता विकल्पमा जान सकेको छैन। सञ्चय कोषको ऋण चुक्ता गरेपछि मात्रै अन्य वित्तीय संस्थाबाट ऋण लिन सकिने सर्त रहेकाले निगम महँगो ब्याज तिर्न बाध्य भएको उहाँले बताउनुभयो।
विगतमा निगम सुधारका लागि विभिन्न अध्ययन समिति गठन गरी प्रतिवेदन तयार गरिए पनि ती प्रतिवेदनका सुझाव कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो। निर्णय गर्ने तहमा रहेकाहरू नै पछि कार्यान्वयनमा उदासीन हुने प्रवृत्तिले निगम सुधारको प्रक्रिया थप जटिल बनेको उहाँको भनाइ छ।
निगमको वित्तीय अवस्था सुधारका लागि ऋण पुनर्संरचना, ब्याजदरमा कमी, सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापन सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो।







बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको