काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘रुख’ लिएर एक्लै प्रतिस्पर्धा गर्ने नीति अघि सारेको छ।
काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमा निर्वाचनपूर्व अन्य दलसँग गठबन्धन नगरी आफ्नै उम्मेदवार र कार्यक्रमसहित चुनावमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।
कांग्रेसले विगतका निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै आगामी दिनमा आफ्नै संगठन, नीति र कार्यक्रमका आधारमा निर्वाचनमा जाने नीति लिएको हो।
राजनीतिक प्रस्तावमा भनिएको छ, ‘निर्वाचनपूर्व गठबन्धन नगरी रुख चिह्नमा आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा हामी दृढ छौँ।’
पार्टीले के गर्ने र के नगर्ने भन्ने राजनीतिक मर्यादासम्बन्धी खण्डमा पनि निर्वाचनपूर्व गठबन्धन नगर्ने विषयलाई स्पष्ट रूपमा समेटिएको छ। मतको अंकगणितका आधारमा पार्टीको राजनीतिक पहिचान निर्भर नबनाउने कांग्रेसको प्रस्तावमा उल्लेख छ।
आफ्नै चुनाव चिह्न, नीति, कार्यक्रम र उम्मेदवारसहित निर्वाचनमा प्रतिस्पर्धा गर्दै जित्न योग्य पार्टीका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य कांग्रेसले अघि सारेको छ।
महाधिवेशनको बन्दसत्रमा सभापति थापाले राजनीतिक प्रस्ताव प्रस्तुत गरिरहँदा मञ्चमा रहेका नेताहरू आपसमा छलफल तथा संवाद गरिरहेका थिए। केही नेताहरूले प्रस्तावका विषयमा टिपोट गरिरहेका थिए भने केही मोबाइल चलाइरहेको देखिन्थ्यो।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म