काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्टट्रयाक) निर्माणमा नेपाली सेनाबाट खरिद प्रक्रिया र सामग्री छनोटका क्रममा गल्ती भएको बताउनुभएको छ।
नेपाल पूर्वाधार पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सेनाले यसअघि यस्तो प्रकृतिको ठूलो आयोजना निर्माण नगरेकाले खरिद प्रक्रिया र प्राविधिक सामग्रीको स्पेसिफिकेसन निर्धारणमा समस्या देखिएको बताउनुभएको हो।
थापाका अनुसार फास्टट्रयाकको खरिद प्रक्रियामा केही ‘दलाल’ समेत प्रवेश गरेको र उनीहरूले निश्चित कम्पनी वा ब्रान्डकै सामग्री आवश्यक पर्ने गरी स्पेसिफिकेसन तयार गराएको पाइएको छ।
उहाँले जियोटेक्निकललगायत प्राविधिक सामग्री खरिद गर्दा कुनै एउटा कम्पनी वा ब्रान्डको सामग्री मात्र अनिवार्य हुने गरी स्पेसिफिकेसन बनाउन नमिल्ने बताउनुभयो। समान गुणस्तरका अन्य सामग्रीलाई समेत प्रतिस्पर्धामा सहभागी गराउने गरी ‘इक्विभ्यालेन्ट’ विकल्प राख्नुपर्ने उहाँको भनाइ छ।
“कुनै एउटा कम्पनीको सामग्री चाहिएको भए पनि ‘सम्बन्धित कम्पनी वा अन्य समकक्ष’ भनेर स्पेसिफिकेसन राख्नुपर्छ। तर फास्टट्रयाकमा कुनै निश्चित कम्पनीकै सामग्री चाहिने गरी स्पेसिफिकेसन राखिएको रहेछ,” उहाँले भन्नुभयो।
यस्तो प्रावधानले खरिद प्रक्रिया प्रभावित हुनुका साथै आयोजना निर्माणमा समेत ढिलाइ भएको थापाको दाबी छ।
डिजाइन स्वीकृतिमा ढिलाइ, निर्माण व्यवसायीमाथि जरिवाना
फास्टट्रयाक निर्माणमा ढिलाइ हुनुको अर्को कारण डिजाइन स्वीकृतिमा भएको ढिलाइ पनि रहेको उहाँले बताउनुभयो।
डिजाइन स्वीकृतिमा ढिलाइ भए पनि निर्माण व्यवसायीलाई ‘लिक्विडेटेड ड्यामेज’ (एलडी) लगाइएका कारण उनीहरूले क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
त्यसबाट निर्माण व्यवसायीको ‘क्यास फ्लो’मा समस्या आएपछि कामप्रतिको तदारुकता घटेको थापाले बताउनुभयो।
“डिजाइन स्वीकृतिमा ढिलाइ भएपछि पनि निर्माण व्यवसायीलाई एलडी लगाइयो। त्यसबाट उनीहरूले क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो। क्यास फ्लोमा समस्या भएपछि निर्माण व्यवसायीले काममा तदारुकता नदेखाएको अवस्था रहेछ,” उहाँले भन्नुभयो।
११ ठेक्कामा दण्ड र पुरस्कारको अवधारणा
फास्टट्रयाक निर्माणलाई गति दिन यसअघि नै लागेका ११ वटा ठेक्काको समयसीमा पुनः निर्धारण गरी दण्ड र पुरस्कारको व्यवस्था गर्ने अवधारणामाथि छलफल भइरहेको थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका निर्माण व्यवसायीले आगामी एक वर्षभित्र काम सम्पन्न गरेमा अहिलेसम्म लागेको जरिवाना फिर्ता गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
त्यस्तै, ५० प्रतिशतभन्दा कम प्रगति भएका निर्माण व्यवसायीले पनि तोकिएको दुई वर्षको अवधिभित्र काम सम्पन्न गरेमा हालसम्म लागेको जरिवाना फिर्ता गर्ने अवधारणा अघि सारिएको उहाँले बताउनुभयो।
तोकिएको समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि भने थप जरिवाना लगाउने व्यवस्था गर्ने प्रस्ताव रहेको उहाँको भनाइ छ।
यद्यपि, यस्तो व्यवस्था लागू गर्ने अधिकार नेपाली सेना वा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मात्र नभएकाले मन्त्रिपरिषद्बाट निर्णय आवश्यक पर्ने थापाले स्पष्ट पार्नुभयो।
उहाँका अनुसार मन्त्रिपरिषद्बाट निर्णय भएमा अहिले सञ्चालनमा रहेका ठेक्का दुई वर्षभित्र र नयाँ ठेक्का तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउन सकिनेछ।
खोकना विवाद दसैँअघि टुंग्याउने प्रयास
फास्टट्रयाक निर्माणलाई गति दिन खोकना क्षेत्रमा देखिएको विवाद समाधान पनि आवश्यक रहेको थापाले बताउनुभयो।
उहाँका अनुसार राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितको संयुक्त टोलीले स्थानीय बासिन्दासँग वार्ता गरिरहेको छ।
स्थानीयका सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षण गर्दै आयोजना अघि बढाउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।
स्थानीयसँगको वार्ता दसैँअघि नै टुंग्याउने अपेक्षा रहेको भन्दै उहाँले विवाद समाधान भएपछि दसैँलगत्तै नेपाली सेनाले बाँकी खण्डको काम अघि बढाएर फास्टट्रयाकलाई चोभारस्थित ड्राइपोर्टसम्म जोड्न सकिने बताउनुभयो।
‘फास्टट्रयाक बने वार्षिक १० देखि १५ अर्ब आम्दानी हुन सक्छ’
थापाले फास्टट्रयाकलाई नेपालको रणनीतिक पूर्वाधारका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।
फास्टट्रयाक निर्माण सम्पन्न भएपछि काठमाडौं जोड्ने मुलुकसँग दुईवटा भरपर्दा सडक विकल्प हुने उहाँको भनाइ छ। पश्चिमबाट आउने प्रमुख मार्गका रूपमा पृथ्वी राजमार्ग र अर्को विकल्पका रूपमा फास्टट्रयाक हुने उहाँले बताउनुभयो।
“एउटा फास्टट्रयाक बिग्रियो भने पृथ्वी राजमार्ग प्रयोग गर्न सकिन्छ र पृथ्वी राजमार्ग बिग्रियो भने फास्टट्रयाक प्रयोग गर्न सकिन्छ। त्यसैले हामीलाई यस्ता दुईवटा भरपर्दा विकल्प चाहिएकै हो,” उहाँले भन्नुभयो।
फास्टट्रयाक निर्माण सम्पन्न भएपछि त्यसबाट वार्षिक १० देखि १५ अर्ब रुपैयाँसम्म आम्दानी हुन सक्ने दाबी पनि थापाले गर्नुभयो।
उहाँले मुलुकले रणनीतिक महत्त्वका ठूला पूर्वाधारमा पर्याप्त लगानी गर्न नसकेको बताउँदै प्राथमिकता नदिइएका क्षेत्रमा लगानी छर्ने प्रवृत्तिले महत्त्वपूर्ण पूर्वाधार निर्माण पछि परेको टिप्पणी गर्नुभयो।
फास्टट्रयाक निर्माणका लागि आवश्यक निर्णय र सहजीकरण समयमै हुन सके आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्न सकिने उहाँको भनाइ छ।






भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक
विजयादशमी : आफ्नै अहंकारमाथि विजयको