काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आर्थिक अवस्था सुधार गर्दै अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबार बसेको बैठकमा उहाँले निगमको व्यवस्थापकीय सुधार, डिजिटल बिक्री प्रणाली तथा रुट व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने बताउनुभएको हो।
सांसद डा. रेग्मीले निगमले हवाई भाडा नियन्त्रणमा समेत प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। निगमको घाटा न्यूनीकरणका लागि वित्तीय अडिटलाई प्रभावकारी बनाउँदै कुन रुटमा कति नाफा वा घाटा भइरहेको छ भन्ने विश्लेषण गर्नुपर्ने उहाँको सुझाव छ।
उहाँले कार्गो र ग्राउन्ड ह्यान्डलिङ सेवाको छुट्टाछुट्टै लेखा प्रणाली लागू गर्नुपर्ने बताउनुभयो। जहाजको ओभरहाल तथा मर्मतसम्भार समयमै हुन नसक्दा उडान तालिका प्रभावित हुने गरेको उल्लेख गर्दै उहाँले व्यवस्थापकीय प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो।
उहाँले निगमले बजार मूल्यभन्दा केही सस्तो दरमा सेवा दिन सके विदेशी एयरलाइन्सको अस्वाभाविक भाडा वृद्धि नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो। यस्तो कदमले पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ।
थप जहाज लिजमा ल्याउन नेपालले ‘केपटाउन कन्भेन्सन’मा तत्काल हस्ताक्षर गर्नुपर्ने आवश्यकता रहेको सांसद रेग्मीले बताउनुभयो। उक्त सम्झौतामा हस्ताक्षर नभएसम्म अन्तर्राष्ट्रिय बजारबाट सहज रूपमा विमान लिजमा ल्याउन कठिन हुने उहाँको भनाइ छ।
निगमलाई व्यावसायिक रूपमा सक्षम बनाउन तीन वर्षको समयसीमा तोकेर व्यवस्थापकीय सुधारका काम अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।
समितिको बैठकमा सांसद रेग्मीले मन्त्रालय र निगम नेतृत्वलाई स्पष्ट लक्ष्य निर्धारण गरेर काम गर्न आग्रह गर्नुभयो। आवश्यक परे संसद्को समितिले समेत सहजीकरण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
निगमको डिजिटल रूपान्तरण, जहाज मर्मतसम्भार प्रणालीमा सुधार, रुटको व्यावसायिक विश्लेषण तथा व्यवस्थापनमा सुधार ल्याउन सके मात्रै निगमले प्रतिस्पर्धात्मक बजारमा आफूलाई टिकाउन सक्ने उहाँको भनाइ छ।







सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र