काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा हुने अवरोध नेपालको नियन्त्रणभन्दा बाहिर रहेको बताउनुभएको छ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकमा मन्त्री साहले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा असर परिरहेको भन्दै नेपालले ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको हो।
रुस–युक्रेन तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा इन्धनको मूल्य र आपूर्तिमा अस्थिरता देखिएको उल्लेख गर्दै उहाँले त्यसको प्रत्यक्ष प्रभाव नेपालजस्ता आयातमा निर्भर मुलुकमा परेको बताउनुभयो।
मन्त्री साहले परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको बताउँदै स्वदेशमै वैकल्पिक ऊर्जा तथा खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।
“ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन। त्यसैले बाह्य निर्भरता मात्रै बढाउनेभन्दा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो।
ब्रिकेट, विद्युत्लगायत स्वदेशी ऊर्जाको प्रयोग बढाउन सकिने उहाँको भनाइ छ। पेट्रोलियम पदार्थको आयातमा मात्रै निर्भर रहनुभन्दा उपलब्ध स्वदेशी स्रोतको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।
मन्त्री साहले ऊर्जा आत्मनिर्भरतासँगै कृषि उत्पादन बढाउनुपर्नेमा पनि जोड दिनुभयो। आयातित चामलमा निर्भरता घटाउँदै स्थानीयस्तरमा उत्पादन हुने मकै, फापर, कोदो, सिमी लगायतका रैथाने बालीको प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ।
उहाँले नागरिकलाई समस्या र अभावबारे मात्र जानकारी गराउनेभन्दा स्वदेशमै उपलब्ध विकल्प र सम्भावनाबारे समेत सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो।
“जनतालाई ‘के मात्रै गर्न सकिन्छ’ भन्ने सोचबाट माथि उठाएर स्वदेशी उत्पादन र ऊर्जा प्रयोगले नै दिगो समाधान दिन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो।
सांसदहरूले बैठकमा ग्यास आपूर्ति तथा पेट्रोलियम पदार्थको व्यवस्थापनसम्बन्धी प्रश्न उठाएपछि मन्त्री साहले अन्तर्राष्ट्रिय भू–राजनीतिक परिस्थितिका कारण बाह्य वस्तुमाथिको निर्भरता घटाउनुपर्ने आफ्नो धारणा दोहोर्याउनुभयो।
नेपालले ऊर्जा र खाद्यान्नको क्षेत्रमा स्वदेशी उत्पादन तथा वैकल्पिक स्रोतको प्रयोग बढाउन सके अन्तर्राष्ट्रिय बजारमा देखिने उतारचढावको प्रभाव कम गर्न सकिने उहाँको भनाइ छ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा