काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले भोटेकोशी बाढीबाट भएको क्षतिको स्थलगत अनुगमन तथा तथ्यांक संकलन अन्तिम चरणमा पुगेको बताउनुभएको छ।
पूर्वयोजनाकार मञ्चद्वारा आयोजित कार्यक्रममा उहाँले आयोगले विपद्बाट भएको क्षति तथा नोक्सानीको मूल्यांकनका लागि विभिन्न क्षेत्रमा अध्ययन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार करिब ७ हजार घरधुरीसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूले भोगेको क्षति, नोक्सानी र समस्याबारे तथ्यांक संकलन गरिएको छ।
आयोगले पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक क्षेत्र, विपद् उत्थानशीलता तथा पुनःस्थापना, क्रस–कटिङ विषय र समग्र अर्थतन्त्रमा परेको प्रभावलाई छुट्टाछुट्टै अध्ययन गरिरहेको उहाँले बताउनुभयो।
उत्पादनशील क्षेत्रअन्तर्गत कृषि, उद्योग, यातायात र पर्यटन तथा सामाजिक क्षेत्रअन्तर्गत शिक्षा र स्वास्थ्यमा परेको प्रभावको अध्ययन भइरहेको छ।
डा. भट्टका अनुसार स्थलगत सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ। करिब एक साताभित्र प्रारम्भिक अनुमान तयार गरी सार्वजनिक गर्ने आयोगको लक्ष्य छ।
उहाँले भन्नुभयो, “स्थलगत भ्रमण तथा प्रत्यक्ष अनुभव आदानप्रदानमार्फत दुःख, नोक्सानी र क्षतिको विवरण सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। सम्भवतः एक हप्ताभित्र एउटा तहमा टुङ्ग्याएर प्रारम्भिक अनुमान तयार गर्छौँ।”
स्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांकले विपद्पछिको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) लाई थप पुष्टि र प्रमाणीकरण गर्ने उहाँले बताउनुभयो। आरडीएनएमा हवाई तथा हेलिकप्टरबाट गरिएको प्रारम्भिक मूल्यांकन समेटिएको भन्दै उहाँले अब स्थलगत तथ्यांकबाट त्यसलाई थप यकिन गरिने जानकारी दिनुभयो।
क्षति र नोक्सानीको मूल्यांकन फरक
डा. भट्टले भौतिक क्षतिको मूल्यांकनभन्दा त्यसबाट हुने आर्थिक नोक्सानीको अनुमान चुनौतीपूर्ण हुने बताउनुभयो।
“क्षतिको मूल्याङ्कन त्यति चुनौतीपूर्ण छैन, तर नोक्सानीको अनुमान गर्नु आफैँमा चुनौतीपूर्ण विषय हो,” उहाँले भन्नुभयो, “कुनै जलविद्युत् आयोजना पूर्ण रूपमा सञ्चालन गर्न नसकिने अवस्थामा पुग्यो र त्यसलाई एक–दुई वर्षमै पुनःस्थापना वा प्रतिस्थापन गर्न सकिँदैन भने त्यसबाट हुने नोक्सानी कति राख्ने भन्ने प्राविधिक प्रश्न हुन्छ।”
यस्ता विषयमा सम्बन्धित निकाय, संयुक्त राष्ट्रसंघ, एसियाली विकास बैंकलगायत विकास साझेदारसँग छलफल भइरहेको उहाँले बताउनुभयो।
आयोगले दसैँअघि प्रारम्भिक प्रतिवेदन तयार गर्ने लक्ष्य राखेको छ। त्यसपछि विपद्पछिको पुनर्निर्माणसँगै दीर्घकालीन विकास रणनीतिलाई पनि अघि बढाउने तयारी भइरहेको डा. भट्टले जानकारी दिनुभयो।
‘नेपाल डेभलपमेन्ट भिजन २०५०’ सँग जोडिने
उहाँका अनुसार तत्कालीन राहत, पुनःस्थापना र पुनर्निर्माणसँगै दीर्घकालीन विकास रणनीति आवश्यक रहेकाले आयोगले ‘नेपाल डेभलपमेन्ट भिजन २०५०’ लाई विपद्पछिको विकास रणनीतिसँग जोडेर अघि बढाउने तयारी गरेको छ।
नेपालको भौगोलिक अवस्था, जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम तथा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका कारण दीर्घकालीन विकास रणनीति निर्माण चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ।
विकासका लागि आवश्यक स्रोत जुटाउन निजी क्षेत्रलाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो।
जलवायु न्यायसँगै जलवायु कूटनीतिमा जोड
डा. भट्टले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नुपरेको क्षतिका विषयमा जलवायु न्यायसँगै जलवायु कूटनीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
“जलवायु न्यायको विषय आफ्नो ठाउँमा छ। त्यससँगै जलवायु कूटनीतिलाई पनि प्रवद्र्धन गर्दै हाम्रा तर्कलाई अझ बलियो ढङ्गले प्रस्तुत गर्नुपर्छ,” उहाँले भन्नुभयो।
नेपालको विकासका लागि दुई छिमेकी मुलुकलाई समेत विश्वासमा लिएर स्रोत जुटाउने विषय महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। आगामी छलफल र अन्तर्राष्ट्रिय लबिङमा जलवायु कूटनीतिलाई केन्द्रमा राख्नुपर्ने उहाँको भनाइ छ।
विपद्को असर वित्तीय प्रणालीसम्म पुग्ने जोखिम
डा. भट्टले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण पछिल्ला चार दशकमा नेपालको आर्थिक वृद्धिमा उल्लेख्य प्रभाव परेको बताउनुभयो।
विपद्का कारण आर्थिक वृद्धि खुम्चिँदा सरकारी राजस्व, खर्च, वैदेशिक व्यापार तथा समग्र बाह्य क्षेत्रमा असर पर्ने उहाँको भनाइ छ। पछिल्लो समय विपद्को प्रभाव वित्तीय क्षेत्रमा समेत गम्भीर रूपमा पर्न थालेको उहाँले बताउनुभयो।
उहाँका अनुसार बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा अहिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ९० प्रतिशत पुगेको छ।
“२०७१/७२ सम्म बैंकहरूले निजी क्षेत्रलाई दिएको कुल कर्जा जीडीपीको करिब ५०–५१ प्रतिशत थियो। अहिले त्यो करिब ९० प्रतिशत पुगेको छ,” उहाँले भन्नुभयो, “सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाको कर्जा समेत जोड्दा यो १०० प्रतिशतभन्दा बढी देखिन्छ।”
विपद्का कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने, ऋण असुलीमा दबाब पर्ने र भविष्यको सार्वजनिक तथा निजी खर्चसमेत बढ्ने जोखिम रहेको उहाँले बताउनुभयो।
यसले निक्षेपकर्ताको दाबी क्षमतासम्म असर पार्न सक्ने भएकाले विपद् जोखिम न्यूनीकरणलाई विकास नीतिको प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी