काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भए पनि निजी क्षेत्रले कर्जा लिन र नयाँ लगानी गर्न चासो नदेखाउँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । बैंकिङ प्रणालीमा करिब १३ खर्ब ६३ अर्ब रुपैयाँ अतिरिक्त तरलता थुप्रिएको छ भने कर्जाको ब्याजदर घटेर चारदेखि पाँच प्रतिशतको आसपास पुगेको छ । तर, सस्तो ब्याजदरको अवस्थामा समेत उद्योगी-व्यवसायीले ऋण लिएर व्यवसाय विस्तार गर्न उत्साह देखाएका छैनन् ।
कर्जाको माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेको अतिरिक्त रकम नेपाल राष्ट्र बैंकका निक्षेप उपकरणमा राख्न थालेका छन् । राष्ट्र बैंकका अनुसार असोज १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकका विभिन्न निक्षेप उपकरणमा चार खर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरिसकेका छन् । राष्ट्र बैंकले त्यस्ता निक्षेप उपकरणमा वार्षिक २.७५ प्रतिशत ब्याज दिँदै आएको छ ।
यसले अहिले अर्थतन्त्रमा देखिएको समस्या पैसाको अभावभन्दा पनि लगानीको वातावरण, बजारमा माग र नीतिगत विश्वाससँग जोडिएको देखाएको छ । बैंकमा पर्याप्त पैसा र तुलनात्मक रूपमा सस्तो ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्र नयाँ लगानीका लागि तयार नहुनुले अर्थतन्त्रमा माग र व्यावसायिक विश्वास दुवै कमजोर रहेको संकेत गरेको छ ।
निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा उद्यमी-व्यवसायीलाई लक्षित गरी हुने गतिविधिले थप त्रास सिर्जना गरेको गुनासो गरेका छन् । उनीहरूका अनुसार ‘पक्रने, थुन्ने, थर्काउने र त्रसित बनाउने’ प्रवृत्तिले निजी क्षेत्रको लगानी मनोबल कमजोर बनाएको छ ।
यसअघि लगानी विस्तारको प्रमुख अवरोधका रूपमा राजनीतिक अस्थिरतालाई लिइँदै आए पनि नयाँ सरकार गठन भएको छ महिना नाघिसक्दासमेत निजी क्षेत्रले अपेक्षित उत्साह देखाउन सकेको छैन । सरकारको कार्यशैली, नीतिगत अनिश्चितता र व्यवसाय सञ्चालनको वातावरणप्रति निजी क्षेत्रको विश्वास अझै बलियो बन्न नसकेको व्यवसायीहरूको भनाइ छ ।
घरजग्गामा फसेको पुँजीले थप समस्या
नयाँ लगानीका लागि निजी क्षेत्रसँग पुँजी अभाव हुनुको अर्को कारण घरजग्गामा ठूलो रकम फस्नु पनि रहेको व्यवसायीहरू बताउँछन् । घरजग्गामा लगानी गरिएको रकम तत्काल नगदमा परिणत गर्न नसक्दा नयाँ व्यवसायमा लगानी गर्न कठिन भएको उनीहरूको भनाइ छ । विगतमा भएको आम्दानीको ठूलो हिस्सा पुराना कर्जा र दायित्व भुक्तानीमै खर्च गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरू बताउँछन् । यसले नयाँ परियोजना वा व्यवसाय विस्तारका लागि आवश्यक पुँजी परिचालनमा समस्या सिर्जना गरेको छ ।
घरजग्गाको मूल्यमा आएको गिरावटले बैंकिङ क्षेत्रको जोखिमसमेत बढाउन सक्ने चेतावनी व्यवसायीहरूले दिएका छन् । बैंकबाट कर्जा लिँदा धितो राखिएको सम्पत्तिको मूल्य घटेमा कर्जा असुलीमा समस्या आउनुका साथै बैंकको सम्पत्तिको गुणस्तरमा समेत असर पर्नसक्छ ।
कारोबार घट्दा कर्जा लिनै कठिन
ब्याजदर घटे पनि निजी क्षेत्रका लागि अर्को ठूलो समस्या कारोबारमा आएको कमी बनेको छ । व्यवसायको कारोबार घटेपछि बैंकबाट थप कर्जा लिन आवश्यक वित्तीय विवरण र कागजात तयार गर्नसमेत कठिन भएको व्यवसायीहरूको भनाइ छ ।
उदाहरणका लागि वार्षिक एक करोड रुपैयाँ कारोबार गर्ने व्यवसायीको कारोबार घटेर ५० लाख रुपैयाँमा सीमित भयो भने बैंकले त्यही घटेको कारोबार र वित्तीय क्षमताका आधारमा कर्जा मूल्यांकन गर्छ । यस्तो अवस्थामा बैंकमा पैसा हुँदाहुँदै पनि व्यवसायीले थप कर्जा लिन नसक्ने अवस्था सिर्जना हुन्छ ।
यसले बैंकिङ प्रणालीमा तरलता अधिक हुनु मात्रै अर्थतन्त्रका लागि सकारात्मक संकेत नभएको देखाउँछ । कर्जा लिनसक्ने क्षमता, कर्जा लिने विश्वास र लगानीबाट प्रतिफल प्राप्त हुने अपेक्षा कमजोर हुँदा बैंकमा रहेको रकम उत्पादनशील क्षेत्रमा जान सकेको छैन ।
विकास खर्च नहुँदा बजारमा पैसाको प्रवाह सुस्त
निजी क्षेत्रको लगानी कमजोर रहनुका साथै सरकारको पुँजीगत खर्च पनि अत्यन्तै न्यून छ । चालु आर्थिक वर्षको साढे दुई महिना अर्थात् साउनदेखि असोज १६ गतेसम्म सरकारले कुल पुँजीगत बजेटको २.८४ प्रतिशत मात्रै खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि चार खर्ब ३१ अर्ब १० करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा असोज १६ गतेसम्म १२ अर्ब २५ करोड रुपैयाँ मात्र खर्च भएको छ । विकास निर्माण तथा पूर्वाधार आयोजनाको काम सुस्त हुँदा पुँजीगत खर्च प्रभावकारी हुन नसकेको हो ।
यसको तुलनामा चालु खर्च र वित्तीय व्यवस्थातर्फको खर्च भने उच्च छ । समीक्षा अवधिसम्म चालु खर्चतर्फ विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँमध्ये १६.१६ प्रतिशत अर्थात् दुई खर्ब पाँच अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ विनियोजित चार खर्ब २२ अर्ब ६४ करोड रुपैयाँमध्ये १७.७१ प्रतिशत अर्थात् ७४ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ ।
व्यवसायीहरूले अर्थतन्त्र चलायमान बनाउन सरकारले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन् । विकास निर्माणमा सरकारी खर्च बढ्दा रकम सर्वसाधारण र व्यवसायीको हातमा पुग्ने, क्रयशक्ति बढ्ने, बजारमा माग सिर्जना हुने र उद्योग-व्यवसायको कारोबार विस्तार हुने उनीहरूको अपेक्षा छ ।
राजस्वभन्दा खर्च बढी
सरकारको राजस्व संकलनको अवस्था पनि उत्साहजनक छैन । चालु आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब ६ करोड रुपैयाँ कुल प्राप्तिको लक्ष्य राखिएकोमा असोज १६ गतेसम्म १४.२१ प्रतिशत अर्थात् दुई खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । यसमध्ये कर राजस्व १५.१८ प्रतिशत र गैरकर राजस्व ७.०३ प्रतिशत संकलन भएको छ ।
समीक्षा अवधिमा सरकारको कुल खर्च दुई खर्ब ९२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने कुल प्राप्ति दुई खर्ब ३३ अर्ब २६ करोड रुपैयाँमा सीमित छ । यसरी सरकारको आम्दानीभन्दा खर्च बढी हुँदा करिब ५९ अर्ब २२ करोड रुपैयाँ बजेट घाटा देखिएको छ । वर्षको सुरुवाती महिनामा पुँजीगत खर्च न्यून हुने र आर्थिक वर्षको अन्त्यतिर हतार–हतार बजेट खर्च गर्ने पुरानै प्रवृत्ति यस वर्ष पनि दोहोरिने संकेत देखिएको छ ।
राष्ट्र बैंकलाई पनि तरलताको भार
निजी क्षेत्रमा कर्जाको माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेको अतिरिक्त रकम राष्ट्र बैंकका निक्षेप उपकरणमा राखिरहेका छन् । यसले केन्द्रीय बैंकमाथि समेत ठूलो ब्याज दायित्व सिर्जना गरेको छ ।
बैंकिङ प्रणालीमा रहेको करिब १३ खर्ब ६३ अर्ब रुपैयाँ अतिरिक्त तरलता अपेक्षित रूपमा परिचालन हुन नसकेपछि राष्ट्र बैंकले निक्षेपको ब्याजबापत वार्षिक एक खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिरहेको छ । तर, समस्या तरलतामा मात्र सीमित छैन । निजी क्षेत्रमा कर्जाको माग कमजोर रहँदा बैंकहरूको सम्पत्तिको गुणस्तरमा समेत दबाब बढ्दै गएको छ । कर्जा असुली हुन नसकेर बैंकहरूले सकार्नुपरेका जग्गा, भवन लगायतका सम्पत्ति बिक्री हुन नसक्दा गैरबैंकिङ सम्पत्तिको चाप बढेको छ ।
बैंकहरूको गैरबैंकिङ सम्पत्ति अर्थात् ‘नन–बैंकिङ एसेट’ ५६ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ । कर्जा असुलीमा समस्या, निष्क्रिय कर्जाको सम्भावित वृद्धि र गैरबैंकिङ सम्पत्तिको चापका कारण बैंकहरू कर्जा नोक्सानी व्यवस्थाका लागि थप रकम छुट्याउनुपर्ने दबाबमा छन् । यसको असर बैंकहरूको नाफा र पुँजी कोषमा समेत पर्नसक्ने देखिएको छ ।
पैसा छ, लगानी छैन
अहिले नेपालको अर्थतन्त्रमा विरोधाभासपूर्ण अवस्था देखिएको व्यवसायीहरूको भनाइ छ । बैंकमा पैसा छ, ब्याजदर सस्तो छ, तर लगानी छैन । सरकारसँग विकास बजेट छ, तर खर्च छैन । बजारमा वस्तु तथा सेवा उपलब्ध छन्, तर माग कमजोर छ । यसले अर्थतन्त्रको समस्या तरलताको अभावभन्दा धेरै गहिरो रहेको संकेत गर्छ । निजी क्षेत्रले पैसा मात्र खोजेको छैन, स्थिर नीति, लगानीको सुरक्षा, बजारमा माग, सरकारप्रतिको विश्वास र दीर्घकालीन व्यावसायिक वातावरण खोजिरहेको छ ।
सरकारले कानुन संशोधन तथा निजी क्षेत्रसँग संवाद अघि बढाए पनि त्यसको प्रभाव लगानी र आर्थिक गतिविधिमा देखिन बाँकी छ । बैंकिङ प्रणालीमा थुप्रिएको रकम उत्पादन, रोजगारी र व्यवसाय विस्तारमा परिचालन नभएसम्म अर्थतन्त्रको सुस्तता हटाउन कठिन हुने अर्थविद्हरूको भनाइ छ ।







नयाँ बसपार्कमा अग्रिम टिकट लिन
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात