काठमाडौं । भोटेकोशीमा विनाशकारी बाढी आएको झण्डै ४० दिनपछि खोज तथा उद्धार कार्य स्थगित गरिएको छ । हाललाई अत्यावश्यकबाहेक खोज तथा उद्धार कार्य स्थगित गरी अब पुनर्निर्माण र पुनःस्थापना कार्य अगाडि बढाउने सरकारले निर्णय गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले पुनर्निर्माण र पुनःस्थापना कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समिति, जिल्ला विपत् व्यवस्था समिति, राष्ट्रिय विपत्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि पाँच खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय पनि गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिने परिषद्ले जनाएको छ । यसैगरी, लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ ।
बैठकले भोटेकोशी-त्रिशूली बाढी तथा मनसुनजन्य विपत्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । यसका साथै, विषम् परिस्थितिमा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा खटिने सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, सञ्चारकर्मीका साथै सहयोग पुर्याउने दातृराष्ट्र र विकास साझेदारहरूप्रति परिषद्ले उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
गत भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी हिमबाढीले रसुवासहित नुवाकोट र धादिङलगायत भोटेकोशी-त्रिशूली र नारायणी किनारमा ठूलो क्षति गरेको थियो । बाढीले विशेषगरी तीन जिल्लाका नदी तटीय बस्तीसहित सडक, पुल र विद्युत् आयोजना ध्वस्त पारेको थियो । बाढीमा परेकामध्ये हालसम्म पाँच हजार २८५ जना बेपत्ता छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म कुल एक हजार ४५४ शव तथा मानव अवशेष फेला परेका छन्, जसमध्ये ११२ जनाको मात्र सनाखत हुन सकेको छ ।
फेला परेका शव तथा अंगहरूको प्रकृति हेर्दा ५८५ पुरुष, ३३६ महिला र पहिचान नखुलेका ५३३ वटा आंशिक मानव अंग छन् । हालसम्म फेला परेका एक हजार ४५१ शव तथा अवशेषमध्ये एक हजार २९२ शवलाई जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । साथै पहिचान खुलेका तथा अन्य प्रक्रिया पूरा भएका ११२ शव उनीहरूका परिवारलाई हस्तान्तरण गरिएको छ ।
विपत् व्यवस्थापनको काम तीव्र रूपमा अघि बढेको छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गतेदेखि विपत् व्यवस्थापनको काम निरन्तर भइरहेको बताउनुभएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरेर विपत् व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइएको बताउनुभएको हो । बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्री सहभागी थिए । प्रधानमन्त्री शाहले विपत् व्यवस्थापनका बाँकी काम चाँडो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै यस विषयमा ढुक्क हुन मुख्यमन्त्रीहरूलाई आग्रह गर्नुभयो । विपत् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको पनि प्रधानमन्त्री शाहले बताउनुभयो । हिमपहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक काम अघि बढाइएको उहाँको भनाइ थियो ।
‘जेन-जी’ आन्दोलनका फौजदारी मुद्दा फिर्ताबारे प्रतिवेदन कार्यान्वयन गर्न गृहमा पठाइने
सरकारले ‘जेन-जी’ आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गर्न गठित छानविन समितिको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इञ्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमहरू स्वीकृत गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ । यसका साथै, मन्त्रिपरिषद्ले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं