नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र नयाँ नेतृत्व, पुस्तान्तरण र रूपान्तरणको बहसलाई थप सतहमा ल्याएको छ । संघीय राजधानी काठमाडौंमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूको भनाइमा फरक-फरक अनुभव र पुस्ताको प्रतिनिधित्व भए पनि उनीहरूको अपेक्षामा भने समानता देखिन्छ- अबको कांग्रेस पुरानै शैली र अनुहारमा सीमित हुनुहुँदैन, नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउँदै आफूलाई समयअनुकूल परिवर्तन गर्नुपर्छ । लामो समयदेखि पार्टीमा सक्रिय पुराना प्रतिनिधिदेखि पहिलोपटक महाधिवेशनको अनुभव लिइरहेका युवा प्रतिनिधिसम्मले कांग्रेसलाई सबल, सक्षम, एकताबद्ध र जनताकेन्द्रित बनाउने नेतृत्वको आवश्यकता औँल्याएका हुन् ।
महाधिवेशन स्थलमा देखिएको युवा सहभागितालाई धेरै प्रतिनिधिले कांग्रेसभित्र आएको परिवर्तनको संकेतका रूपमा लिएका छन् । विशेषगरी कम उमेरमै महाधिवेशन प्रतिनिधिका रूपमा आएका युवाहरूले पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो पुस्ताको अर्थपूर्ण उपस्थिति खोजेका छन् । उनीहरूको बुझाइमा विगतमा नेतृत्वका गतिविधिमाथि प्रश्न गर्ने पुस्ताले अब प्रश्नमात्र होइन, पार्टी सञ्चालनको जिम्मेवारीसमेत लिनुपर्ने समय आएको छ । त्यसका लागि कांग्रेसले युवालाई प्रतिनिधित्वको अवसर दिनुपर्ने र अवसर पाएका युवाले पनि पार्टी रूपान्तरणको जिम्मेवारी लिनुपर्ने उनीहरूको धारणा छ ।
त्यससँगै, नयाँ पुस्तालाई स्थान दिँदा पुरानो पुस्तालाई विस्थापित गर्नेभन्दा पार्टीमा योगदान दिएका सबैलाई समेटेर अघि बढ्नुपर्ने आवाज पनि उत्तिकै सुनिएको छ । कांग्रेसभित्र विगतमा देखिएका गुट, विभाजन र असन्तुष्टिबाट पाठ सिक्दै अब पार्टीलाई एक ठाउँमा उभ्याउनुपर्नेमा प्रतिनिधिहरूको जोड छ । उनीहरूका अनुसार कांग्रेस एकताबद्ध रहँदा मात्रै लोकतान्त्रिक पद्धति, कानुनी शासन, प्रेस स्वतन्त्रता र राष्ट्रियतासँग जोडिएका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ । त्यसैले पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहससँगै पार्टी एकतालाई पनि महाधिवेशनले केन्द्रमा राख्नुपर्ने उनीहरूको अपेक्षा छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको अर्को साझा अपेक्षा नेतृत्वको चरित्रसँग जोडिएको छ । उनीहरू शक्ति केन्द्रित नेतृत्वभन्दा जनतासँग जोडिने, पार्टीमा योगदान गरेका र योगदान गर्न चाहने सबैलाई समेट्न सक्ने नेतृत्वको पक्षमा देखिन्छन् । लामो समयदेखि एउटै अनुहार र उही शैलीको नेतृत्व देखिरहेका कार्यकर्ताले अब नयाँ सोच, ऊर्जा र काम गर्ने इच्छाशक्तिसहितको नेतृत्व खोजिरहेका छन् ।
१८ वर्षमै महाधिवेशन प्रतिनिधि बनेका युवादेखि दशकौँदेखि कांग्रेसको राजनीतिमा सक्रिय प्रतिनिधिसम्मको अनुभवमा एउटा साझा कुरा भेटिन्छ– कांग्रेसले अब विगतको गौरवमा मात्र भर परेर पुग्दैन, नयाँ पुस्ताको भरोसा जित्ने गरी आफूलाई बदल्नुपर्छ । युवा पुस्ताले पार्टीलाई आफ्नो राजनीतिक घरका रूपमा स्वामित्व लिन सक्ने वातावरण बनाउनुपर्ने र पुराना पुस्ताको अनुभवलाई पनि नयाँ पुस्ताको ऊर्जासँग जोडेर अघि बढ्नुपर्ने उनीहरूको धारणा छ । प्रस्तुत छ महाधिवेशन स्थलमा भेटिएका कांग्रेसका पाँच प्रतिनिधिसँग हिमालय टाइम्सका लागि डिबी शर्माले गरेको संक्षिप्त संवाद :-
म १८ वर्षमै प्रतिनिधि चुनिएँ, यो नै कांग्रेसको ठूलो उपलब्धि हो
अभिप्सा पौडेल, मकवानपुर
म देशकै सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधि आएको छु, उमेर जम्मा १८ वर्ष भयो । मेरो हजुरबुबाले राजनीति गर्नुभयो, मेरी ममीको पुस्ताले राजनीति गरे, तर केही पनि पाएनन् । किन पाएनन् भन्दाखेरी सायद हाम्रो हैसियत पनि थिएन होला, हामीसँग त्यति पैसा थिएन होला या केही थिएन होला, कुनै पनि लाभको पद पाउनुभएन । तर, मैले १८ वर्षमै पाएँ । त्यो मेरा लागि एकदमै ठूलो उपलब्धि हो । मेरो लागिमात्रै होइन यो देशकै लागि उपलब्धि हो, १८ वर्षको मान्छे पनि राजनीतिमा चासो दिँदैछ है भनेर । देशका लागि उपलब्धि हो, कांग्रेसका लागि एउटा एकदमै चर्चाको विषय हो, गौरवको विषय हो । किनभने कांग्रेस पार्टीमा १८ वर्षको मान्छेले पनि आउँदो रहेछन् है, चासो दिँदो रहेछन् है । भनेपछि कांग्रेस पनि सुध्रिएको रहेछ है भन्ने यो एउटा गौरवमय विषय हो । मेरा लागि झन् एकदमै गौरवमय विषय हो । एकदमै खुसी छु, कृतज्ञ छु ।
१५औँ महाधिवेशनपछि चाहिँ शक्ति केन्द्रित होइन, जनता केन्द्रित नेतृत्व, पार्टीलाई योगदान दिएका, पार्टीमा योगदान दिन चाहेका र सम्पूर्णलाई समेटेर नेतृत्व छानिन्छ । ममात्रै आएर हुँदैन, एउटा युवामात्रै आएर हुँदैन, सम्पूर्णलाई समेटेर न्यायको युग भनेर चिन्छ गगन युगलाई, त्यो सम्पूर्णलाई समेटेर आउनुपर्छ नेतृत्व भन्ने मलाई लाग्छ । निर्विकल्प सभापति नै गगन थापा हो अबको । अब साथ भयो, सपोर्ट भयो सबैबाट र जित्ने जस्तो अवस्था देखियो भने अफकोर्स म पनि केन्द्रीय सदस्यमा उठ्नेछु ।
हामीले सबल, सक्षम र रूपान्तरित नेतृत्व चाहेका छौँ
ललित जैसी, कैलाली
एकदमै खुसी अनुभव भइरहेको छ । देशका ७७ वटै जिल्लाका नागरिकहरूले अब कांग्रेस कस्तो बन्छ भनिरहँदा हामी कांग्रेसको खाका निर्माण गर्न यहाँ आएका छौं । हामी एकदमै गौरवान्वित छौं । आमनागरिकभित्र कांग्रेस साँच्चै अब रूपान्तरण भएको उदाहरण दिन्छ भन्ने हामीलाई लाग्छ, यहाँ हामीलाई कसैले ल्याइदिएको होइन, तल्लो तहदेखि केन्द्रीय सदस्यहरू या पार्टी सभापतिज्यू जसरी आउनुभयो, त्यसरी म पनि आएको छु, त्यसैले कांग्रेस देशको अभिभावक हो । हामीले एउटा सबल, सक्षम र रूपान्तरित नेतृत्व चाहेका छौँ । विगत लामो समयदेखि देखिरहेका अनुहारहरू होइनन् । आशा छ त्यो नेतृत्व हामी प्राप्त गर्नेछौं । हामी बाहिर रहेकालाई पनि आग्रह गर्न चाहन्छौं, तपाईंहरू तितरवितर हुने काम नगर्नुस्, यतातिर आउनुस्, हामी सबै एउटै घरको परिवार हो, स्वाभाविक रूपमा कतिपय त्यस्ता केसहरू छन्, घरमा पनि भाइहरूका कुराहरू मिलेनन् भने कहिलेकाहीं छुट्टाछुट्टै जानेहरू हुन्छ, तर पछि आएर घरमै बस्ने, खाने हो । अब आउनुस् यो खुलामञ्चमा खुला हृदयका साथ तपाईंहरू सबैलाई स्वागत गर्न हामी सबै तयार छौं, यो आग्रह गर्न चाहन्छु ।
अहिलेको कांग्रेस युवामय छ, हुन्छ
एलिजा ढकाल, तनहुँ
म नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र अहिले नेपाली कांग्रेसको नीति प्रतिष्ठानमा पनि कार्यरत छु । म एकदमै एक्साइटेड छु । यो नेपाली कांग्रेसको महाधिवेशन हाम्रा लागि दशैँमा विदेशबाट छोरा घर फर्केजस्तो, छोरी घर फर्के जस्तो हो । देश–विदेशमा रहेका कांग्रेसहरू एकै ठाउँमा भएर लोकतन्त्रको सेलिब्रेसन गरिराखेका छौं जस्तो लागेको छ ।
अघिल्लोपटक दाइहरूको पार्टी जस्तो । दाइहरूलाई प्रमोट गर्नुपर्छ, फलानो दाइ, फलानो दिदी भनेर आउँथ्यौं । तर, अहिले चाहिँ यो मेरो पार्टी हो, म यो पार्टीको कार्यकर्ता हो र यो पार्टी यस्तो हुनुपर्छ भनेर म जिम्मा लिन सक्छु भन्ने लागेको छ । अहिले युवाले ओनरसिप लिन सक्ने नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ जस्तो लागेको छ मलाई । हिजो यो भएन, त्यो भएन भनेर नेतृत्वलाई प्रश्न गर्ने युवाहरूले समाधान दिन सक्नुहुन्छ अब । यस्तो हुनुपर्छ भनेर भन्न पाउने त्यो सहभागितामूलक व्यवस्थाचाहिँ नेपाली कांग्रेसले गरेको छ । देशैभरिबाट प्रदेश वाइज र खुला पनि लड्न मिल्ने गरी एक्काइस जना युवाहरूको प्रतिनिधित्व नेपाली कांग्रेसले सुनिश्चित गरेको छ र त्यो मिनिमम हो । मिनिमम यति युवाहरू यति वर्षमुनिको हुनुपर्छ भन्ने कुरा हो । त्योभन्दा माथि अरू युवाहरूले पनि अरूहरू पदमा लड्नुहुन्छ, युवामय हुन्छ अहिलेको कांग्रेस ।
अहिलेको नेतृत्व सबैजना एउटा कांग्रेसले र देशले नै ओनरसिप लिन सक्ने खालको नेतृत्व हुन्छ भन्ने विश्वास छ मलाई । अब गगन थापा नै नेपाली कांग्रेसको सभापति हुनुहुन्छ भन्ने कुरामा दुविधा छैन । गगन दाइ हुनु भनेको सबै युवाको प्रतिनिधिमूलक नेतृत्व हुनु हो भन्ने कुरा यसै पनि बुझिन्छ ।
गगनलाई पार्टी सभापति र प्रधानमन्त्री भएको हेर्ने धोको छ
राधादेवी पौडेल, तनहुँ
नेपाली कांग्रेसको शक्तिले नै मलाई बुढेसकालमा पनि यहाँ तानेको हो । किनभने सानैदेखि नेपाली कांग्रेस पार्टीमा लागियो । त्यसो हुँदा धेरै माया लाग्छ मलाई नेपाली कांग्रेसको । यो मेरो आस्था हो । पार्टीमा राम्रा–राम्रा नेताहरू हुनुहुन्छ । गगन थापाजस्तो मान्छे आउनुभएको छ । एउटा युवक, गगन थापा आउनुभएको छ । उहाँलाई सभापति बनाउन मलाई असाध्यै इच्छा छ । पक्का हुन्छ । उहाँको हिम्मत पनि छ । पुराना नेताहरू अलि बुढो पनि हुनुभयो । पाँचपटकसम्म प्रधानमन्त्री हुनुभयो । अब गगन थापा भनेको एउटा युवक मान्छे हो, युवा हो, उहाँ सभापति भएको हेर्ने असाध्यै धोको छ । अब गगन थापा नै सभापति हुनुहुन्छ । सबैको इच्छा उहाँ नै हो । उहाँलाई नै बनाउन पाए हुन्थ्यो भन्ने हाम्रो मनमा छ । पार्टी सभापति भइसकेपछि उहाँ प्रधानमन्त्री भइहाल्नुहुन्छ ।
कांग्रेसलाई एकताबद्ध बनाउने सबैको चाहना छ
रामहरि खतिवडा नेता, नेपाली कांग्रेस
अन्तिम समयसम्म पनि कांग्रेसलाई एकताबद्ध कांग्रेस बनाउने सबैको चाहना थियो, छ, रहन्छ । भोलिका दिनमा पनि हामी राष्ट्रिय राजनीतिमा कांग्रेसलाई एकै ठाउँ बनाएर लिएर जान चाहन्छौं । जबसम्म कांग्रेस एकताबद्ध रहेर एक ठाउँ हुँदैन, तबसम्म नेपालको लोकतान्त्रिक पद्धति, कानुनी राज्य, प्रेस स्वतन्त्रता, राष्ट्रियता कमजोर हुन्छ । यो कुरा सबैले बुझेको छ । अहिले विधान संशोधनको कुरा आइराखेको छ, मिटिङ बसिराखेको छ । केही पदाधिकारीहरू बढाउने कुराहरू भइराखेको छ । सभापति र उपसभापतिबाहेक पदाधिकारीमा मिलाएर गर्छौं हामी ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र