काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिदाइ भएको छ । नेपाल, ओमान र क्यानडाबीच हुने शृंखला नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण मानिएको छ । यही शृंखलाबाट नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगिने सम्भावना तथा लिग-२ को अन्तिम अवस्थासमेत निर्धारण हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार कार्यक्रम आयोजना गरी नेपाली टोलीलाई ओमानका लागि बिदाइ गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडी तथा प्रशिक्षकलाई शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आइतबार राती नै ओमान प्रस्थान गरेको छ । बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले शृंखला अत्यन्तै महत्त्वपूर्ण रहेकाले उत्कृष्ट क्रिकेट खेल्दै नतिजा निकाल्न खेलाडीलाई शुभकामना दिनुभयो ।
‘महत्त्वपूर्ण सिरिज हो । अन्य नतिजाले पनि फरक पार्नेछ । सबै टिमले प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छन् । राम्रो प्रदर्शन गर्ने हो भने अबको मार्ग थप स्पष्ट हुनेछ,’ पारसले भन्नुभयो, ‘यसअघि पनि राम्रो खेलिरहनुभएको छ । पहिले-पहिले इतिहास रचेको जस्तै यसपटक पनि राम्रो गर्नुहोला । शुभकामना छ ।’ उहाँका अनुसार नेपालले ओमान पुगेपछि तयारीसँगै एउटा अभ्यास खेलसमेत खेल्नेछ । विदेशी भूमिमा हुने शृंखलाका लागि तयारीलाई थप मजबुत बनाउने क्यानको योजना छ ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि शृंखला नेपाली टोलीका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले नतिजा आफ्नो पक्षमा पार्न केवल जित्ने लक्ष्य राखेर मात्र नहुने, त्यसका लागि स्पष्ट योजना र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
कप्तान सन्दीप लामिछानेले पनि टोली राम्रो लयमा रहेको दाबी गर्दै ओमानमा सकारात्मक नतिजा निकाल्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार नेपालको मुख्य लक्ष्य ओडिआई मान्यता जोगाउनुका साथै विश्वकप छनोटको बाटोमा अघि बढ्नु हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको उल्लेख गर्दै ओमानमा पनि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । ओमान शृंखलाका लागि घोषणा गरिएको नेपाली टोलीमा एसिसी प्रिमियर कप खेलेको टोलीको तुलनामा केही परिवर्तन गरिएको छ ।
नेपालका लागि यो शृंखला केवल अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामात्र होइन, ओडिआई मान्यता र विश्वकप यात्रासँग जोडिएको निर्णायक चरण हो । लिग-२ को अन्तिम चरणमा नेपालले आफ्नो स्थान बलियो बनाउनुपर्नेछ । ओमान र क्यानडाविरुद्धका खेलमा प्राप्त हुने प्रत्येक अंक नेपालको आगामी यात्राका लागि महत्त्वपूर्ण हुनेछ । अन्य टोलीको नतिजाले समेत नेपालको समीकरणमा प्रभाव पार्ने भएकाले मैदानमा आफ्नो प्रदर्शनसँगै अन्य खेलको नतिजालाई समेत नेपालले नियाल्नुपर्ने अवस्था छ ।
पछिल्लो समय घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको नेपाली टोली आत्मविश्वासका साथ ओमान पुगेको छ । तर, लिग-२ को प्रतिस्पर्धा घरेलु मैदानको भन्दा फरक हुने भएकाले विदेशी भूमिमा दबाब व्यवस्थापन, ब्याटिङमा स्थिरता र बलिङमा अनुशासन नेपालको सफलताको मुख्य आधार बन्नेछ । नेपाली क्रिकेटका लागि अबको चुनौती स्पष्ट छ- ओमानमा जित निकाल्ने, अंक जोड्ने र विश्वकप यात्राको सम्भावना बलियो बनाउने । त्यसका लागि कप्तान सन्दीप लामिछानेसहित युवा र अनुभवी खेलाडीको प्रदर्शन निर्णायक बन्नेछ ।
अक्टोबर ९ देखि सुरु हुने यस सिरिजमा नेपालसहित ओमान र क्यानडाले खेल्ने तालिका रहेको छ । नेपालले अक्टोबर ११ मा क्यानडासँग, अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् । नेपालको हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ ।
नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल हुनुहुन्छ । प्रशिक्षकमा स्टुअर्ट ल र म्यानेजरमा सुमनराज कार्की हुनुहुन्छ ।






मधेसको शिक्षा सुधारका उपाय खोजेर
लुम्बिनीका ७ प्रतिशतभन्दा बढी बालबालिका
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय
साढे ५ घण्टा ढिलो कांग्रेस
भोजपुरमा २४४ किलोभन्दा बढी गाँजासहित
मलंगवामा एक लाख घुससहित इन्जिनियर