काठमाडौं । एसियाली खेलकुदको २०औँ संस्करण सम्पन्न भएको छ । जापानमा दुई सातासम्म चलेको प्रतियोगिताले विश्व कीर्तिमान, युवा खेलाडीको असाधारण प्रदर्शन र रोमाञ्चक प्रतिस्पर्धाका कारण खेलप्रेमीलाई धेरै सम्झनलायक क्षण दियो । तर, प्रतियोगिता व्यवस्थापनका कमजोरी, आवास तथा यातायातको अस्तव्यस्तता र अपेक्षाकृत कमजोर दर्शक उपस्थितिका कारण आलोचनाबाट पनि मुक्त हुन सकेन । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले भने आइची-नागोया एसियाली खेलकुदलाई सफल प्रतियोगिताका रूपमा मूल्यांकन गरेको छ । प्रतियोगिताबाट तीन वर्षअघि चीनको हाङझाउमा भएको एसियाली खेलकुदको तुलनामा झण्डै २० प्रतिशत बढी आम्दानी भएको, दर्शक संख्या उल्लेख्य रहेको र विभिन्न विधामा ठूलो संख्यामा विश्व कीर्तिमान बनेको ओसिएको दाबी छ ।
तर, सफलताको दाबीसँगै खेलाडीका लागि साँघुरा कोठा, छोटा ओछ्यान, समयमा नआउने बस, गलत खेलस्थलमा पुर्याइएका टोली र राष्ट्रिय गान तथा झण्डा प्रदर्शनमा भएका गम्भीर त्रुटिलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कमजोरीका रूपमा औँल्याएका छन् ।
यसपटक करिब १७ हजार खेलाडी तथा अधिकारी जापान पुगेका थिए । यो संख्या आयोजकको प्रारम्भिक अनुमानभन्दा करिब दुई हजार बढी थियो । अन्तिम समयमा सहभागी बढेपछि आवास र यातायात व्यवस्थामाथि चाप बढेको हो । पेरिस ओलम्पिकभन्दा पनि ठूलो सहभागी संख्या रहेको प्रतियोगितामा परम्परागत खेलाडी ग्राम निर्माण गरिएको थिएन ।
खर्च घटाउने र प्रतियोगिता सकिएपछि प्रयोगविहीन हुने ठूला संरचना नछाड्ने उद्देश्यले आयोजकले होटल, अस्थायी काठका आवास र ‘कोस्टा सेरेना’ नामक पानीजहाजलाई खेलाडी तथा अधिकारीको बसोबासका रूपमा प्रयोग गरेका थिए । तर, व्यवहारमा यही प्रयोग चुनौतीपूर्ण बन्यो । केही टोलीले आवास निकै साँघुरो भएको र ओछ्यान छोटो भएको गुनासो गरे । सहभागीको संख्या बढेपछि सबैका लागि पर्याप्त ओछ्यानको व्यवस्था गर्नसमेत कठिन भयो । एक थाई अधिकारीले बस्ने ठाउँ खोज्ने अवस्था ‘कुर्सीको खेल’ जस्तै भएको टिप्पणी गरेका थिए ।
यातायातमा पनि उस्तै समस्या देखियो । कतिपय खेलाडीका बस समयमा आएनन् भने केही अवस्थामा बस नै आएनन् । दुई टोलीलाई गलत खेलस्थलमा पुर्याइएपछि भलिबल खेल ढिलो सुरु गर्नुपर्यो । दक्षिण कोरियाली हक्की टोलीका लागि उत्तर कोरियाको राष्ट्रिय गान बजाइएपछि आयोजक थप आलोचित बने ।
कोरियाली खेल तथा ओलम्पिक समितिका अध्यक्ष र्यु सुङ मिनले व्यवस्थापनलाई ‘एफ’ ग्रेड दिनुपर्ने टिप्पणी गर्नुभयो । आयोजक समितिका महासचिव सातोसी मुरातेले सहभागीको अप्रत्यासित वृद्धिले आवास र यातायातमा समस्या सिर्जना गरेको स्वीकार गर्दै माफीसमेत माग्नुभयो । तर, ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले प्रतियोगिताको बचाउ गर्नुभएको छ । प्रतियोगितामा ५४ विश्व, ११ जुनियर विश्व र ८९ महादेशीय कीर्तिमान बने । प्रतियोगिता सुरु भएपछि मात्रै ५० भन्दा बढी विश्व कीर्तिमान बनेको तथ्य प्रस्तुत गर्दै उहाँले खेलाडीको प्रदर्शनलाई आयोजनाको प्रभावकारिताको प्रमाण मान्नुभएको छ । उहाँको तर्क छ, ‘खेलाडीले राम्रोसँग सुत्न, खान र यात्रा गर्न पाएनन् भने उत्कृष्ट प्रदर्शन गर्न सक्दैनन् । त्यसैले विश्व कीर्तिमानको ठूलो संख्या आफैंमा खेलाडीले आवश्यक वातावरण पाएको प्रमाण हो ।’
समाचारअनुसार खेलाडीको उत्कृष्ट प्रदर्शनका लागि राम्रो अभ्यास, पोषण, स्वास्थ्य सेवा, आराम र यातायात अनिवार्य हुन्छ । तर, विश्व कीर्तिमान बनेकै कारण व्यवस्थापनका सबै कमजोरी मेटिँदैनन् । असाधारण खेलाडीले कठिन परिस्थितिमा पनि असाधारण प्रदर्शन गर्न सक्छन् । त्यसैले खेलाडीको उपलब्धिलाई आयोजकको कमजोरी ढाक्ने आधार बनाउनु उचित नहुने समाचारमा विश्लेषण गरिएको छ ।
प्रतियोगिताको सबैभन्दा सबल पक्ष भने युवा प्रतिभाको उदय रह्यो । चीनकी १३ वर्षीया पौडी खेलाडी यु जिदीले तीन स्वर्ण पदक जितेर प्रतियोगिताको सबैभन्दा चर्चित अनुहार बन्नुभयो । उहाँले २०० मिटर बटरफ्लाई तथा २०० र ४०० मिटर व्यक्तिगत मेड्लेमा स्वर्ण जित्नुभयो । तीनै स्पर्धामा खेलको कीर्तिमान कायम गर्नुभएकी उहाँलाई महिला विधातर्फको सर्वोत्कृष्ट खेलाडी घोषित गरियो ।
उहाँको प्रदर्शनले सन् २०२८ को लस एन्जलस ओलम्पिकतर्फ पनि ध्यान खिचेको छ । यद्यपि, यति कम उमेरमै प्राप्त सफलताका आधारमा ओलम्पिक पदकको भविष्यवाणी गर्नु हतार हुनेछ । खेलाडीको विकासमा चोट, मानसिक दबाब, प्रतिस्पर्धाको स्तर र निरन्तर प्रशिक्षणले ठूलो भूमिका खेल्छ ।
जापानका १७ वर्षीय पौडी खेलाडी सिन ओहाशीले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा विश्व कीर्तिमान तोड्नुभयो । उत्तर कोरियाकी करिब १४० सेन्टिमिटर उचाइकी भारोत्तोलक री सोङ गुमले एकै दिन तीन विश्व कीर्तिमान कायम गर्दै स्वर्ण जित्नुभयो । थाइल्याण्डका २० वर्षीय धावक पुरिपोल बुनसनले १०० र २०० मिटरमा स्वर्ण जित्दै पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीको सम्मान पाउनुभयो ।
पदक तालिकामा चीन १६९ स्वर्णसहित शीर्ष स्थानमा रह्यो । आयोजक जापान ८३ स्वर्णसहित दोस्रो भयो । जापानकै ११ वर्षीय युकी कुरिहाराले विद्युतीय खेलकुदमा स्वर्ण जित्दै एसियाली खेलकुद इतिहासकै सबैभन्दा कम उमेरको स्वर्ण विजेता बन्नुभयो । प्याडेल, मिश्रित मार्सल आर्ट्स र भर्चुअल तेक्वान्दोजस्ता नयाँ खेलको प्रवेशले एसियाली खेलकुद बदलिँदो पुस्ताको रुचिसँग जोडिँदै गएको देखायो ।
आर्थिक पक्षमा भने आयोजकले सफलता देखाएका छन् । डिजिटल माध्यम र बलियो प्रसारणका कारण आम्दानी झण्डै २० प्रतिशत बढेको ओसिएको दाबी छ । विशेषगरी भारत र पाकिस्तानबीचका हक्की तथा क्रिकेट खेलले ठूलो दर्शक आकर्षित गरे । क्रिकेटको फाइनलमा भारतले पाकिस्तानलाई हराएको खेल प्रतियोगिताकै चर्चित घटनामध्ये रह्यो ।
तर, दर्शक उपस्थितिको तस्वीर त्यति उत्साहजनक थिएन । उद्घाटन समारोहमा ठूलो संख्यामा सिट खाली देखिए । जापान र दक्षिण कोरियाबीचको महिला फुटबल सेमिफाइनलमा ५० हजार क्षमताको रंगशालामा जम्मा ९९८ दर्शक उपस्थित भएको तथ्यले प्रतियोगिताको जनआकर्षणमाथि प्रश्न उठायो । पुरुष फुटबल फाइनलमा भने करिब ३० हजार दर्शक उपस्थित भएका थिए । दक्षिण कोरियाले जापानलाई १-० ले हराएर स्वर्ण जित्यो, तर विजय समारोहमा दक्षिण कोरियाको झण्डा नउठाइएपछि अर्को व्यवस्थापकीय त्रुटि देखियो ।
जापानी ओलम्पिक समितिकी अध्यक्ष सेइको हासिमोतोले प्रतियोगितामा ‘धेरै समस्या’ भएको स्वीकार गर्नुभयो । खराब मौसमले केही खेलमा दर्शक घटाएको उहाँको भनाइ थियो । यद्यपि, भविष्यमा जापानले थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने इच्छा उहाँले व्यक्त गर्नुभयो । ओसिएले भने आइची-नागोया मोडेललाई भविष्यका प्रतियोगिताका लागि उपयोगी मानेको छ । ठूलो आर्थिक बोझ नथपिएको र प्रतियोगिता सकिएपछि प्रयोगविहीन हुने विशाल संरचना नबनेको उसको तर्क छ । खेल समन्वय समितिका अध्यक्ष तय्याब इक्रमले पनि कुनै प्रतियोगिता चुनौतीविहीन नहुने भन्दै आगामी दिनमा अझ दिगो, नवीन र प्रभावकारी समाधान खोज्नुपर्ने बताउनुभयो ।
प्रतियोगिताको समापनसँगै आयोजकीय जिम्मेवारी सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने दोहालाई हस्तान्तरण गरिएको छ । अब कतारसामु आइची-नागोयाको राम्रो पक्षलाई निरन्तरता दिँदै कमजोरीबाट सिक्ने चुनौती हुनेछ । आइची-नागोयाको समीक्षा गर्दा एउटा निष्कर्ष स्पष्ट देखिन्छ-ठूलो आम्दानी, धेरै पदक वा विश्व कीर्तिमानमात्र सफल प्रतियोगिताको पर्याप्त मापदण्ड होइन । खेलाडीले सम्मानपूर्वक बस्न, समयमै खेलस्थल पुग्न, स्वस्थ खाना खान, आवश्यक स्वास्थ्य सेवा पाउन र सुरक्षित रूपमा प्रतिस्पर्धा गर्न पाउनु पनि त्यत्तिकै महत्त्वपूर्ण हो ।
यसपटक मैदानले युवा प्रतिभाको उदय र खेलकुदको उज्यालो भविष्य देखायो । मैदानबाहिरको व्यवस्थापनले भने अझै धेरै सुधारको आवश्यकता औँल्यायो । त्यसैले आइची-नागोया एसियाली खेलकुदलाई न पूर्ण असफल भन्न मिल्छ, न पूर्ण सफल । यो असाधारण खेल प्रदर्शन र अपूर्ण व्यवस्थापनबीचको विरोधाभास बोकेको प्रतियोगिताका रूपमा स्मरण हुनेछ ।







कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म