बागलुङ । यही असोज ११ गते निसीखोलामा अएको बाढीले कानाबगर र झिवाखोलाको पुरानो बजार बगाएको छ । पुरानो बजार रहेको ठाउँ अहिले बगरमा परिणत भएको छ । निसीखोला गाउँपालिका चारमा पर्ने कानाबगर र झिवाखोला बजार यहाँका स्थानीय किनमेल गर्ने मुख्य बजार हुन् । मध्यपहाडी लोकमार्गले जोडिएपछि यि दुई क्षेत्रमा ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरेर झर्नेहरु पनि धेरै छन् ।
कतिपले गाउँको जायजेथा सबै बेचेर बजारमा घर किनेका थिए । बाढीले सबै बगाइ दिएपछि अहिले उनीहरु बेघरबार बनेका छन् । बाढीले सबैभन्दा बढी झिवाखोला बजारका घर बगाएको थियो । यहाँबाट मात्रै करिब २५ घर बाढीले बगाएको हो । अहिले झिवाखोलाको पुरानो बजार कहाँ थियो भन्ने यकिन गर्न पनि गाह्रो हुन्छ । पहिले घरहरु रहेको ठाउँ अहिले बगर बनेको छ ।
ढुङ्गा, मुडा र ग्रेगानले भरिएको छ । घर बाढीले बगाएपछि सयौँ नागरिक आश्रयविहीन हुनु परेको छ । बाढी पीडित राज्यले पुनःस्थापना कहिले गर्दा भन्ने आशमा छन् । कतिपय नागरिक आफन्तको घरमा आश्रय लिएका छन् त कतिपय सार्वजनिक भवनमा र टेन्टमा रात बिताउन विवश छन् । पीडितहरु विहान उज्यालो हुँदा बित्तिकै आफ्नो घर भएको स्थानमा पुग्छन्, तर बगरबाहेक अरु केही भेट्याउँदैनन् ।
पछिल्लो एक शदाब्दीमै निसीखोलाले यस्तो क्षति पुर्याएको थिएन । दुई/तीन पुस्ताले यहीँ जीवन धाने तर यति ठूलो बाढी आएको उनीहरुले कहिल्यै पाएनन् । घर बगाएपछि परिवारसहित आफन्तकोमा आश्रय लिइँदै आएको बाढी पीडित दिलकुमारी रेग्मीले बताउनुभयो ।
‘अहिले ४० वर्ष पूरा भएँ, यस्तो बाढी आएको कहिल्यै थाहा पाएको थिएन, अहिले त के भएको हो यस्तो, खोला उर्लिएर आयो, घरहरु सबै बगाएर लग्यो,’ खोला किनारमा उभिर बगर तिर देखाउँदै रेग्मीले भन्नुभयो – ‘मेरो घर त्यही थियो, अहिले त घरमाथिबाट खोला बगिरहेको छ, बस्ने बास छैन, जग्गा कहाँ थियो भन्ने पनि पत्तो छैन, अहिले दुई छोरासहित आफन्तको घरमा बसेकी छु ।’
बाढीले दिलकुमारीसहित झिवाखोला बजारका अरु धेरै स्थानीय अहिले अरुको आश्रय लिन पुग्नु परेको छ । आफन्तको घरमा कति समय बिताउने भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ । निसीखोलाको पानीको सतह एक्कासी बढेपछि नदीले धार परिवर्तन गरी झिवाखोला बजारको पुरानो बस्तीमा प्रवेश गरेको थियो ।
बाढीले घर, गोठ, विद्यालय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि अहिले झिवाखोला र कानाबगर क्षेत्रको अवस्था उजाड बनेको छ । बाढी आएको थाहा पाउँदा बित्तिकै छरछिमेकीलाई खबर गर्दागर्दै आफ्नो घर पनि बाढीले बगाएको बाढीपीडित राजमन बुढा मगरले बताउनुभयो । महत्वपूर्ण कागजातबाहेक अरु केही बचाउन नसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – ‘दुई/तीन दिन लगातार वर्षा भएपछि म प्रहरीसँग मिलेर खोला किनारमा बस्ने छरछिमेकीहरुलाई सचेत बनाउँदै हिडेको थिएँ, निासीखोला उर्लिएर केही माथि आए पनि घरसम्म आएर बगाउला भन्ने आँकलन गरेका थिएनौँ तर, हामीले सोचेकोभन्दा बेग्लै भयो, हेर्दा हेर्दै हाम्रा घरहरु निसीखोलाले छिनभरमै बगायो ।’
निसीखोला गाउँपालिका–४ र ५ को सिमाना कालापैरा धर्मशालदेखि सुरु भएको बाढीले झिवाखोला बजारसम्म मात्रै क्षति पुर्याएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । बाढीले करिब साढे दुई किलोमिटर क्षेत्रमा मात्रै बढी क्षेत्र पुर्याएको उहाँको भनाइ छ । खोलामा बाढीको बहाव बढेपी धार परिवर्तन हुँदा बजार क्षेत्रमा बढी क्षति हुन पुगेको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।
‘हामीले आँकलन गरेको भन्दा धेरै फरक तरिकाले बाढी आयो, यो क्षेत्रमा यस्तो बाढी आएको कहिल्यै थाहा पाएका थिएनौँ, असोज ११ गतेको बाढीले मानवीय क्षति नगरे पनि भौतिक रुपमा ठूलो क्षति पुर्याएको छ’ अध्यक्ष घर्ती मगरले भन्नुभयो – ‘पीडितको पुनःस्थापनाका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्छौँ, तत्कालका लागि केही राहत रुकम उपलब्ध गराएका छौँ ।’
बाढीले मध्यपहाडी लोकमार्गको एक किलोमिटरभन्दा बढी सडकसमेत कटान गरेको छ । जसका कारण केही दिन यातायात संचालन हुन सकेको थिएन । अहिले समान्य मर्मतपछि यातायात चल्न थालेका छन् । बाढीले निसीखोला–४ झिम्पामा निर्माणाधिन १० शैयाको पालिकास्तरीय अस्पतालमा पनि सामान्य क्षति पुर्याएको छ ।
त्यससँगै बाढीले झिवाखोला बजारमा रहेको बोर्डिङ स्कूल र प्रहरी चौकीमासमेत क्षति पुर्याएको छ । प्रहरी चौकीमा क्षति पुगेपछि सेवा अन्यत्रबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको इन्टेक र नहर बाढीले बगाउँदा उत्पादन बन्द भएको छ । बाढीले झिवाखोला बजार र बडाचौरगाउँ जोड्ने झोलुङ्गे पुलसमेत बताएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीपीडितलाई सुरक्षित स्थानमा राख्नका लागि जनजीवरा सुशीला माध्यमिक विद्यालय र प्रभा माध्यमिक विद्यालय भवनमा राखिएको थियो । अहिले उनीहरु आफन्तको घरमा जान थालेका छन् । बाढीले घरको जग तथा आसपासको जमिनसमेत कटान गरेपछि कतिपय परिवारलाई आफ्नो घर रहेको ठाउँ पहिचान गर्नसमेत कठिन भएको स्थानीय बताउँछन् ।







विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी