काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संगठनमा ‘एक व्यक्ति, एक पद’को अवधारणालाई प्राथमिकताका साथ लागू गर्ने संकेत गर्नुभएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार जारी बन्दसत्रमा धारणा राख्दै सभापति थापाले केन्द्रीय समितिमा रहेका नेताहरूले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा उम्मेदवारी दिँदा प्राथमिकता नपाउने गरी स्पष्ट मापदण्ड बनाउने बताउनुभयो।
पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन यस्तो व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो। साथै, आगामी दिनमा प्रदेश समितिलाई विगतको तुलनामा थप अधिकारसम्पन्न बनाउने योजना उहाँले प्रस्तुत गर्नुभयो।
थापाले प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिसँगै केन्द्रीय कार्यसम्पादन समितिको समेत पदेन सदस्य बनाउने व्यवस्था गरिने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हामी पार्टी संगठनमा एक व्यक्ति, एक पदको अवधारणालाई प्राथमिकता दिन्छौँ। त्यसैले केन्द्रीय समितिमा रहेका व्यक्तिले तत्कालै स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेदवारी दिने विषयमा स्पष्ट मापदण्ड बनाइनेछ। यसपटक प्रदेश समितिलाई विगतको भन्दा बढी अधिकारसम्पन्न र प्रभावकारी बनाइनेछ।’
उम्मेदवार छनोटको अधिकार स्थानीय तहलाई
सभापति थापाले चुनावका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप अन्त्य गरी सम्बन्धित क्षेत्रका पार्टी सदस्यलाई अधिकार दिनुपर्ने प्रस्तावसमेत गर्नुभएको छ।
उहाँले काठमाडौंले देशभरका उम्मेदवार छनोट गर्ने परम्पराको अन्त्य गर्दै जुन ठाउँको उम्मेदवार छनोट गर्नुपर्ने हो, त्यहीँका पार्टी सदस्यले छनोट गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
‘पार्टीमा सबैभन्दा बलियो सभापति बन्नु हुँदैन, पार्टीको भूइँतहको सदस्य सबैभन्दा बलियो हुनुपर्छ,’ उहाँले भन्नुभयो।
महाधिवेशनपछि सबै सदस्यताको अभिलेख अद्यावधिक गरेर पार्टीका करिब आठ लाख सदस्यको विवरण तयार पार्नुपर्ने उहाँको भनाइ थियो। यसले उम्मेदवार छनोटलगायत पार्टीका निर्णय प्रक्रियालाई तल्लो तहसम्म पुर्याउन सहयोग गर्ने उहाँले बताउनुभयो।
पार्टीको नीति निर्माणमा समेत तल्लो तहका कार्यकर्ताको सहभागिता सुनिश्चित गर्नुपर्नेमा थापाले जोड दिनुभयो। समितिले गरेका निर्णयमा पार्टी सदस्यले अनुमोदन गर्ने व्यवस्था विकास गर्नुपर्ने उहाँको प्रस्ताव छ।
संसदमा कांग्रेसको भूमिका थप प्रभावकारी बनाउनुपर्ने
सभापति थापाले संसदमा कांग्रेसले उठाएका विषयलाई निष्कर्षमा पुर्याउने गरी आफ्नो हस्तक्षेप थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
नागरिकका मुद्दा संसदमा उठाउने मात्र नभई ती मुद्दा सम्बोधन गर्न सरकारलाई बाध्य पार्ने गरी पार्टीले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
प्रदेश सरकारमा कांग्रेस सहभागी रहेका ठाउँमा सरकारका कामलाई समेत थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो।
थापाले कांग्रेसको जिम्मेवारी सरकार र संसदमा मात्र सीमित नरहेको बताउँदै घरपरिवार र समाजमा देखिएका समस्यातर्फ समेत पार्टीको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो।
समाजमा अविश्वास, घृणा र निषेधको वातावरण बढिरहेको उल्लेख गर्दै उहाँले कुनै पनि बेला त्यसले गम्भीर परिस्थिति निम्त्याउन सक्ने बताउनुभयो।
‘नागरिकका आवाज उठाउँदा नागरिकले कांग्रेसले मेरो आवाज उठायो मात्र होइन, उठाएर त्यो आवाजलाई सम्बोधन गर्न बाध्य बनायो भन्ने स्थिति सिर्जना गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो।
समाज र देशमा रहेको असन्तोषको अवस्था सम्बोधन गर्न कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको