काठमाडौं । सांसदहरूले मुलुकको वर्तमान न्याय प्रणाली, महिला सुरक्षा तथा मेलमिलापसम्बन्धी कानुनी व्यवस्थामा सुधारको आवश्यकता औँल्याएका छन्।
सोमबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले महिलाविरुद्ध हुने जघन्य अपराध नियन्त्रण, न्यायमा सहज पहुँच, निःशुल्क कानुनी सहायता तथा स्थानीय तहमा हुने मेलमिलाप प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका हुन्।
नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले महिला सुरक्षा र आत्मसम्मानको विषयलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। पछिल्लो समय महिला तथा बालबालिकामाथि हिंसा, अपहरण, बलात्कार र हत्याजस्ता घटना सार्वजनिक भइरहेकाले त्यसको रोकथाम तथा पीडितको संरक्षणका लागि तत्काल राष्ट्रिय बहस आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले न्याय प्रक्रिया सस्तो, सहज र प्रभावकारी बनाउनुपर्ने भन्दै महिला हिंसाका घटनामा पीडितले व्यवहारमै न्याय र सुरक्षाको अनुभूति गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘न्याय प्रक्रियामा सस्तो, सहज र प्रभावकारी न्याय कसरी सुनिश्चित गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्न आवश्यक छ। महिला तथा बालबालिकामाथि हुने हिंसा, अपहरण, बलात्कार तथा हत्याजस्ता घटनाको रोकथाम, पीडितको संरक्षण र प्रभावकारी न्याय सुनिश्चित गर्न राज्यका सम्बन्धित निकाय, संसद् र समितिले ठोस उपाय अघि बढाउनुपर्छ।’
नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले न्याय प्रणालीमा विभिन्न प्रभाव र दबाबका कारण पीडितले न्याय पाउन नसक्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो।
सामाजिक न्यायको प्रत्याभूतिबिना राष्ट्रको आधार बलियो हुन नसक्ने उल्लेख गर्दै उहाँले न्यायमा आम नागरिकको सहज पहुँच र निष्पक्षता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
‘प्रभाव र दबाबका कारण पीडितले न्याय नपाउने अवस्थालाई अन्त्य गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो।
उहाँले ‘अर्धन्यायिक निकाय’को अवधारणाबारे स्पष्टता आवश्यक रहेको समेत बताउनुभयो। अदालतबाहेक कानुनले निश्चित विवाद वा मुद्दामा छानबिन, सुनुवाइ तथा निर्णय गर्ने अधिकार दिएको निकायलाई अर्धन्यायिक निकायका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ थियो।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले स्थानीय तहमा हुने मेलमिलाप प्रक्रिया तथा निःशुल्क कानुनी सहायताको गुणस्तर र पारदर्शितामाथि प्रश्न उठाउनुभयो।
पहुँच र प्रभावका आधारमा हुने मेलमिलापले कमजोर तथा निमुखा पक्ष अन्यायमा पर्न सक्ने भन्दै उहाँले मेलमिलापसम्बन्धी कानुनी व्यवस्था स्पष्ट र एकरूप हुनुपर्ने बताउनुभयो।
स्थानीय तहको कुन निकायले कुन प्रकृतिका विवादमा मेलमिलाप गराउन पाउने भन्ने विषय कानुनमै स्पष्ट गर्नुपर्ने उहाँको भनाइ थियो। मेलमिलापकर्ताको छनोटदेखि पक्षहरूको सहमति र निर्णय प्रक्रियासम्म पारदर्शी व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेलले मेलमिलाप परिषद्को अध्यक्षमा बहालवाला न्यायाधीशलाई नियुक्त गर्ने वर्तमान व्यवस्था पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गर्नुभयो।
न्यायाधीशलाई न्याय निरूपणको मुख्य जिम्मेवारीमा केन्द्रित गराउनुपर्ने भन्दै उहाँले लामो समयदेखि मेलमिलापको क्षेत्रमा काम गरेका अनुभवी, योग्य र गैरराजनीतिक व्यक्तिलाई परिषद्को अध्यक्ष बनाउने विकल्पमा विचार गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘न्यायाधीशको मुख्य जिम्मेवारी न्याय निरूपण भएकाले उहाँहरूलाई अन्य जिम्मेवारी दिँदा न्याय सम्पादनमा असर पर्न सक्छ। मेलमिलाप क्षेत्रमा लामो समयदेखि काम गरेका, अनुभवी, योग्य र गैरराजनीतिक व्यक्तिलाई परिषद्को अध्यक्ष बनाउने प्रस्तावतर्फ पनि विचार गर्न आवश्यक छ।’
खरेलले विगत १५–२० वर्षदेखि मेलमिलापको क्षेत्रमा कार्यरत गैरराजनीतिक विज्ञलाई परिषद्को नेतृत्व दिँदा यसको कार्यसम्पादन प्रभावकारी र दिगो हुन सक्ने बताउनुभयो।
हालको व्यवस्थाले न्यायाधीशको समय व्यवस्थापनमा समेत चुनौती थपेको दाबी गर्दै उहाँले मेलमिलाप परिषद्को नेतृत्वसम्बन्धी कानुनी व्यवस्था पुनरावलोकनका लागि संशोधनको बाटो खोल्नुपर्ने बताउनुभयो।







अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध