काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुनतः दण्डनीय हुने स्पष्ट पार्नुभएको छ ।
सोमबार संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले मेलमिलाप ऐनको दायराभित्र फौजदारी मुद्दा नपर्ने बताउनुभएको हो । उहाँका अनुसार मेलमिलाप ऐन मुख्यतः देवानी तथा वाणिज्य प्रकृतिका र पक्षहरूबीच सहमतिबाट समाधान गर्न सकिने विवादमा केन्द्रित छ ।
मन्त्री गौतमले मेलमिलाप प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउन नयाँ प्रावधान प्रस्ताव गरिएको जानकारी दिनुभयो । प्रस्तावित व्यवस्थाअनुसार पक्षहरूबीच सहमति भएमा एकभन्दा बढी मेलमिलापकर्ता र सहमति नभएको अवस्थामा एक जना मेलमिलापकर्तामार्फत प्रक्रिया अघि बढाउन सकिनेछ ।
त्यसैगरी, पाँच वा सोभन्दा बढी न्यायाधीश कार्यरत रहेको जिल्ला अदालतमा प्रधानन्यायाधीशले तोकेको न्यायाधीशले समेत मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । तर, मेलमिलापकर्ताका रूपमा संलग्न भएको न्यायाधीशले त्यही मुद्दाको पछि सुनुवाइ तथा फैसला गर्न नपाउने व्यवस्था पनि गरिएको मन्त्री गौतमले बताउनुभयो ।
उहाँले भन्नुभयो, “फौजदारी मुद्दामा मिलापत्र हुन सक्दैन । त्यस्ता मुद्दा मिलापत्र गराउने कार्य कानुनबमोजिम दण्डनीय हुन्छ । मेलमिलाप ऐनले मुख्यतः देवानी तथा वाणिज्य प्रकृतिका, पक्षहरूबीच सहमतिबाट समाधान गर्न सकिने विवादलाई सम्बोधन गर्छ ।”
मन्त्री गौतमले मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था प्रस्ताव गरिएको बताउँदै मेलमिलाप गराउन संलग्न न्यायाधीशले पछि सोही मुद्दाको सुनुवाइ गर्न नपाउने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
उहाँले आगामी संसद् अधिवेशनबाट महत्वपूर्ण विधेयकहरू छिटो पूर्ण सदनमा लैजानुपर्ने आवश्यकता औँल्याउँदै समितिले बीचको समयलाई सदुपयोग गरेर आवश्यक काम अघि बढाउन आग्रह गर्नुभयो ।
मन्त्री गौतमले दशैँ, तिहार र छठको बिदाका समयमा समेत कानून निर्माणसम्बन्धी कामलाई निरन्तरता दिन सांसदहरूलाई आग्रह गर्नुभयो । चाडपर्वपछि लगत्तै संसद् अधिवेशन आह्वान हुने सम्भावना रहेकाले समितिअन्तर्गतका उपसमितिहरूले बिदाको समयमा पनि कार्ययोजनाअनुसार काम अघि बढाए कानून निर्माण प्रक्रियालाई गति दिन सकिने उहाँको भनाइ छ ।






जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन
काँग्रेस महाधिवेशनः ५ हजार ६
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,