काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले केन्द्रीय कार्यसम्पादन समितिको आकार बढाएर ४१ सदस्यीय बनाउने प्रस्ताव अघि सार्नुभएको छ ।
पार्टीको विधानलाई समयानुकूल, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले महामन्त्री पौडेलले सोमबार महाधिवेशनको बन्दसत्रमा विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । हाल ३१ सदस्यीय रहेको केन्द्रीय कार्यसम्पादन समितिलाई बढाएर ४१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
प्रस्तावमा केन्द्रीय कार्यसमिति र पदाधिकारीहरूको काम, कर्तव्य तथा अधिकारलाई थप स्पष्ट र निर्दिष्ट गर्दै प्रत्येक सदस्यलाई जिम्मेवारी दिने व्यवस्था विधानमै समावेश गर्ने उल्लेख छ ।
त्यसैगरी, पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउँदै प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न ‘शासन तथा सुशासन अध्ययन संस्थान’ अर्थात् ‘गभर्नेन्स कमिटी’ को अवधारणा अघि सारिएको छ । यस संयन्त्रले जनप्रतिनिधि र पार्टीबीच समन्वय बढाउने तथा उनीहरूको कामको निरन्तर अनुगमनमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित गर्न नयाँ ‘निर्वाचन ब्युरो’ गठन गर्ने प्रस्ताव गरिएको छ । ब्युरोले निर्वाचनको पूर्वतयारी, रणनीति निर्माण, प्रचारप्रसार तथा उम्मेदवारको मापदण्ड निर्धारणसम्बन्धी काम गर्नेछ । साथै, तीन सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रस्तावमा जिल्ला सम्पर्क समितिहरूबीच समन्वय गर्न ‘जिल्ला सम्पर्क समन्वय परिषद्’ गठन गर्ने व्यवस्था पनि गरिएको छ । त्यस्तै, पार्टीका ज्येष्ठ नेताहरूको अनुभव, ज्ञान र दक्षतालाई उपयोग गर्न ‘ज्येष्ठ सदस्य सल्लाहकार परिषद्’ स्थापना गर्ने प्रस्ताव गरिएको छ ।
पार्टीमा युवाको सहभागिता बढाउँदै नेतृत्व विकासका लागि ‘कांग्रेस युवा परिषद्’ गठन गर्ने अवधारणासमेत प्रस्तावमा समेटिएको छ ।
महामन्त्री पौडेलले यी व्यवस्थाहरू केन्द्रीय समितिमा छलफल गरी प्राप्त सुझावसमेत समेटेर महाधिवेशनमा प्रस्तुत गरिएको बताउनुभयो ।
उहाँले विधान संशोधन प्रस्तावमाथि गहन छलफल गरी कांग्रेसको विधानलाई समयानुकूल, व्यवस्थित र प्रभावकारी बनाउन सबैको सक्रिय योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।







स्थायी कमिटी बैठक अघि ओलीलाई
जलवायु परिवर्तनप्रति विश्वका शक्ति राष्ट्र
भेट्रान्स फुटबलको विजेतालाई १३ लाख
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका
भारतविरुद्ध वेष्ट इण्डिजको ऐतिहासिक रनचेज
एसियाडमा १३५ खेलाडी जाँदा जम्मा