काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन तथा सुकुम्बासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने दिशामा सरकार अघि बढिरहेको दाबी गर्नुभएको छ ।
हालसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको जानकारी प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिनुभएको हो । उहाँले अब जिल्लागत रूपमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्दै क्रमशः सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
“यस समस्यालाई सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढेको छ । सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ । त्यसका लागि हामी काम गरिरहेका छौँ,” उहाँले लेख्नुभएको छ ।
प्रधानमन्त्री शाहले सात दशकदेखि राजनीतिक नारामा सीमित भूमिहीन तथा सुकुम्बासी समस्या राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धताअनुसार १ हजार दिनभित्र स्थायी रूपमा समाधान गर्ने दाबी गर्नुभएको छ ।
भूमि समस्या समाधान समिति गठन भएपछि देशभरका तथ्यांक एकीकृत रूपमा संकलन तथा प्रशोधन भइरहेको उल्लेख गर्दै उहाँले हालसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ वटा निवेदन दर्ता भएको जानकारी दिनुभएको छ ।
प्राप्त निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम तीव्र गतिमा भइरहेको र विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कामले गति लिएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहले वि.सं. २०१५ सालको आमनिर्वाचनदेखि नै राजनीतिक दलहरूले घोषणापत्रमार्फत सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिँदै आए पनि सरकार र व्यवस्था परिवर्तनसँगै समस्या भने यथावत् रहेको उल्लेख गर्नुभएको छ ।
विगतका सरकारले राजनीतिक भागबन्डालाई केन्द्रमा राखेर विभिन्न आयोग तथा संरचना बनाउँदा राज्यको ठूलो स्रोत खर्च भएको उहाँको दाबी छ ।
“वि.सं. २०७७ देखि गत वर्षसम्म मात्र यस्ता संरचनामा दुई अर्ब रुपैयाँभन्दा बढी राज्यको खर्च भएको देखिन्छ, तर त्यसको तुलनामा अपेक्षित नतिजा आएन,” प्रधानमन्त्री शाहले लेख्नुभएको छ, “समस्या समाधान गर्नुपर्ने संरचना नै बाधक बनेकाले हामीले निर्वाचनपूर्व गरेको घोषणाअनुसार तरिका नै परिवर्तन गरेका छौँ ।”
उहाँले राजनीतिक भागबन्डा नगरी विषयविज्ञता र स्थानीय तहसँगको समन्वयमा पारदर्शी ढंगले भूमि समस्या समाधानको काम अघि बढाइएको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहका अनुसार सार्वजनिक महत्त्वका तथा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका वास्तविक सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ ।
त्यसैगरी, काठमाडौं उपत्यकाबाट विस्थापित परिवारको हकमा उनीहरूको स्थायी वतन अर्थात् गृहजिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभएको छ ।
झुटो विवरण पेस गरी आफूलाई सुकुम्बासीका रूपमा प्रस्तुत गर्नेहरूमाथि अभिलेख भिडान गरी कानुनी कारबाहीसमेत थालिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको