नेपाली राजनीतिमा ओझस्वी भाषण, सुन्दर शब्दजाल र क्रान्तिकारी हुंकारको परम्परा कहिल्यै कमजोर रहेन । इतिहासका हरेक राजनीतिक मोड र परिवर्तनमा मञ्चहरूबाट गुञ्जिएका बुलन्द आवाजहरूले नागरिकका सुषुप्त सपनाहरूलाई ब्युँझाउने काम गरे तर राजनीति जब विचारको मञ्चबाट शासनको कुर्सीमा पुग्छ तब शब्दको जादुले मात्र नागरिकको चुलोमा भात पाक्दैन न अस्पतालमा औषधि र खेतमा मल नै भेटिन्छ । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मञ्चमा उभिएर पार्टी सभापति गगनकुमार थापाले दिएको सम्बोधन र त्यसपछि उब्जिएका गम्भीर प्रश्नले वर्तमान नेपाली समाजको यही सबैभन्दा गहिरो र मार्मिक घाउलाई सुम्सुम्याएका छन् ।
ओझस्वी शब्द, अनुत्तरित नतिजा भन्ने शीर्षक आफैंमा गगन थापाको वर्तमान राजनीतिक अस्तित्व र नेपाली कांग्रेसको सम्भावित नियतिको वास्तविक चित्र हो । महाधिवेशनको ऐतिहासिक मञ्चबाट उनले संसद्को बन्द ढोका, पार्टीभित्रको अधिनायकवादी शैली, सत्ताको म्युजिकल चियर र नागरिकमा सल्किएको असन्तोषको भुसको आगोको जुन जीवन्त चित्र खिचे, त्यो वर्तमान नेपाली समाजको ऐना हो तर त्यस ऐनामा देखिएका दागहरू पुछ्ने ठोस कपडा र साबुन भने उनको अभिव्यक्तिमा पूर्णरूपमा अनुपस्थित देखियो ।
समस्याको बयान गर्दा सस्तो ताली पाइन्छ, कसैप्रति उत्तरदायी हुनुपर्दैन तर समाधानको ठोस कार्ययोजना पेश गर्दा त्यसको कार्यान्वयनको ठूलो जोखिम मोल्नुपर्छ । गगनले भाषणबाट जनभावनालाई स्पर्श गर्ने सहज बाटो त रोजे तर आफ्नै पार्टीलाई धरायशी बनाउने पुराना संरचना, नोकरशाही र दलीय बिचौलियासँग जुधेर ती विचारलाई कार्य रूपमा ढाल्ने जोखिमपूर्ण बाटोबाट पन्छिने काम गरे ।
सभापति गगन थापाको अभिव्यक्तिमा सबैभन्दा पहिलो र गम्भीर प्रश्न यहीँनिर उब्जिन्छ कि कांग्रेस नेतृत्वको असफलताको यो चौतर्फी घेराबन्दीबाट निस्कने रणनीति एक, दुई, तीन गनेर बुझ्न सकिने ठोस कार्ययोजना किन आएन ? रोगको पहिचान गर्नु एउटा दक्ष विश्लेषक वा नागरिक अभियन्ताका लागि पर्याप्त हुनसक्छ तर त्यो रोग सुल्झाउने शल्यक्रियाको औजार समात्नु र औषधिको मात्रा तोक्नु पार्टीको सर्वोच्च नेतृत्वमा पुगेको कार्यकारी सभापतिको प्राथमिक कर्तव्य हो । त्यो पाटोबाट विश्लेषण गर्दा उनको अभिव्यक्तिमा थुप्रै खोट भेटिन्छन् ।
भोलिका कार्ययोजना सुस्पष्ट र मितिसहितका बुँदा पस्कन नसक्नुका पछाडि राजनीतिक सुरक्षिततातर्फको अभिलाषा र उत्तरदायित्वको गहिरो भय लुकेको छ जब कुनै नेताले ‘म १०० दिनमा यो गर्छु, ६ महिनामा यो सास्ती मेट्छु र एक वर्षभित्र यो नतिजा निकाल्छु’ भनेर समयसीमासहितको खाका पेश गर्छ तब उही क्षणबाट नेतृत्व जनताको कडा अनुगमन र परीक्षाको कसीमा बाँधिन्छन् । समस्याको बयान गर्दा सस्तो ताली पाइन्छ र कसैप्रति उत्तरदायी हुनुपर्दैन तर समाधानको ठोस कार्ययोजना पेश गर्दा त्यसको कार्यान्वयनको ठूलो जोखिम मोल्नुपर्छ । गगनले भाषणबाट जनभावनालाई स्पर्श गर्ने सहज बाटो त रोजे तर आफ्नै पार्टीलाई धरायशी बनाउने पुराना संरचना, नोकरशाही र दलीय बिचौलियासँग जुधेर ती विचारलाई कार्य रूपमा ढाल्ने जोखिमपूर्ण बाटोबाट पन्छिने काम गरे ।
यसै प्रसंगमा अर्को ठूलो र पेचिलो प्रश्न खडा हुन्छ, शेरबहादुर देउवा र गगन थापाको जात फरक छैन, पार्टी फरक छैन र उनीहरू हिँड्ने राजनीतिक बाटो फरक छैन भने गगनबाट फरक नतिजा आउँछ भन्ने विश्वास जनताले कुन आधारमा गर्ने ? शेरबहादुर देउवा सत्ता अंकगणित, गुटगत भागबण्डा र कुशासन, नातावाद रूपी रोगहरूलाई यथास्थितिमा राख्ने र कसरी हुन्छ पार्टी भत्कोस् देश बिग्रोस् तर सत्ताको कुर्सी कहिल्यै नछुटोस् भन्ने परम्परागत नीतिका प्रतीक हुन् । उनीबाट जनताले कुनै चमत्कारको अपेक्षा गरेका थिएनन्, किनकि उनी सम्भावनाका नेता होइनन्, जोडघटाउका नेता हुन् ।
अर्कातिर, गगन थापा विचार, बहस, असहमति, आन्तरिक लोकतन्त्र र रूपान्तरणको चर्को नारा दिएर नेपाली राजनीतिको शिखरमा पुगेका नेता हुन् तर यदि देउवाको मौनताले जनतालाई कुनै नतिजा दिएन र गगनको घण्टौं लामो ओझस्वी भाषणले नागरिकको दैनिकीमा कुनै सकारात्मक परिवर्तन ल्याउन सकेन भने अन्तिम परिणामको तराजुमा देउवा–गगनबीच के भिन्नता रह्यो र ? पार्टीको उही विधान, उही बिचौलिया संयन्त्र र उही परम्परागत राजनीतिक प्रणालीभित्र बसेर केवल व्यक्ति फेरिँदैमा नतिजा फेरिन्छ भन्ने सोच्नु आफैंमा एउटा ठूलो भ्रम हो । यदि गगनले देउवाकै जस्तो नतिजाहीन राजनीतिलाई केवल सुन्दर शब्दजाल र बौद्धिक भाषणको पछ्यौराले छोप्ने निरन्तर प्रयास गरिरहे भने उनीप्रतिको जनविश्वास बिस्तारै शेरबहादुर देउवासँगको विगत र वर्तमानको भिन्नताजस्तै शून्यमा परिणत हुनेछ ।
गगन थापाको नेतृत्व क्षमता र परिपक्वतामाथि उठेको अर्को जटिल आयाम भनेको अभिभावकत्वको साखको संकट हो । १५औं महाधिवेशनको मञ्चमा पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिनु र उनलाई लिन कसरी जाने भन्ने सार्वजनिक अभिव्यक्ति दिनुले पार्टीभित्रको आन्तरिक द्वन्द्व र असफलतालाई उजागर गर्छ । पूर्वसभापतिलाई समेटेर, उनको शक्ति र अनुभवलाई व्यवस्थापन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने अभिभावकीय कुशलता गगनमा देखिन सकेन । जुन नेताले आफ्नै दलभित्रका पुराना र अनुभवी पूर्वसभापतिलाई समेटेर सम्मानजनक स्थान दिन र पार्टीको अभिभावक बनाउन सकेन, उसले सिंगो नेपाली कांग्रेस पार्टीलाई कसरी एकताबद्ध अभिभावकत्व दिनसक्छ ?
अनि जसले आफ्नै पार्टीलाई पूर्णरूपमा सम्हाल्न र अभिभावकीय छहारी दिन सक्दैन उसले भविष्यमा सिंगो देश र ३ करोड नेपाली जनताको अभिभावक बन्ने विश्वसनीयता कसरी आर्जन गर्नसक्छ ? अभिभावकत्व केवल भाषणमा आउने सुन्दर शब्द होइन, धैर्य, समन्वय, फराकिलो छाती र सबैसँग मिलेर अघि बढ्ने परिपक्व व्यवहारको योग हो । सबैभन्दा उद्वेलित पार्ने विषय नेपाली कांग्रेसको इतिहासलाई लामो समयदेखि गाँजिरहेको भ्रष्टाचार, कुशासन, नातावादको विगतको बिगबिगीबाट बच्ने र त्यसलाई मूलबाटै उखेल्ने ठोस रणनीति सभापति गगन थापाको महाधिवेशनको सम्बोधनमा किन आएन ?
जबसम्म नयाँ नेतृत्वले विगतका आफ्नै दलका भ्रष्टाचारका काण्डहरूमाथि निर्मम समीक्षा गर्दैन, भ्रष्टाचारमा तानिएका आफ्नै दलका नेता-कार्यकर्तालाई संरक्षण नगर्ने स्पष्ट अठोट लिँदैन र नातावाद अन्त्य गर्ने वैधानिक ग्यारेन्टी गर्दैन तबसम्म ‘खुलामञ्चको भाषणले पार्टी शुद्ध हुनसक्दैन । कुशासन र अनियमितताविरुद्ध शून्य सहनशीलताको प्रष्ट रणनीति पेश नगर्नुले के संकेत गर्छ भने गगन पनि पार्टीभित्रका शक्ति केन्द्र र बिचौलियालाई चिढ्याउन चाहँदैनन् ।
यी तमाम जटिल र अनुत्तरित प्रश्नको घेराबन्दीमा परेका गगन फेरि भाषणको राग अलाप्ने र कागजको बाघ बन्दैनन् भन्ने कुरामा जनता कसरी विश्वस्त हुने ? नागरिक विश्वस्त हुने बाटो शब्दको पुनरावृत्ति होइन, संस्थागत र संरचनागत सुधारको ठोस कार्यान्वयन हो । नेपाली कांग्रेसले अब संसद् र सरकारमा आफ्नो उपस्थिति दर्शाउन केवल विरोध वा समर्थनमा सीमित नभई, विज्ञहरू सहितको छायाँ सरकारको अवधारणालाई शतप्रतिशत कार्यान्वयनमा ल्याउनुपर्छ । छायाँ सरकारले सरकारका हरेक मन्त्रालयका निर्णय, बजेट खर्च र नीतिगत भ्रष्टाचारमाथि चौबीसै घण्टा निगरानी राख्ने र त्यसको वैकल्पिक नीति नागरिक सामु सार्वजनिक गर्ने प्रणाली बसाल्नुपर्छ । साथै पार्टीभित्र नेताको चापलुसी गर्नेलाई होइन जनताका दैनिक समस्या सुल्झाउन खट्ने कार्यकर्ताको वैज्ञानिक मूल्यांकन गरी पदोन्नति दिने कार्यसम्पादन प्रणाली लागू गरिनुपर्छ ।
जबसम्म पार्टीका तल्लो तहका कमिटीहरू चुनावी प्रचारका अखडाबाट बदलिएर नागरिकका दुःखमा मलम लगाउने जनसेवा केन्द्र बन्दैनन् तबसम्म गगनको भाषणले नागरिकको विश्वास जित्न सक्दैन । नेपाली समाजले पटक–पटक नेताहरूका क्रान्तिकारी भाषणमा विश्वास गरेर आफ्ना अमूल्य वर्ष गुमाएको छ । पञ्चायत ढालियो, प्रजातन्त्र आयो, लोकतन्त्र, गणतन्त्र आयो तर सामान्य नागरिकको नियति र दैनिकी भने किन जहाँको तहीँ रह्यो ?
गगन थापाको वास्तविक परीक्षण कति राम्रो बोल्छन् भन्नेमा होइन कांग्रेसलाई कति शुद्धीकरण गर्छन् र देशलाई कति ठोस नतिजा दिन्छन् भन्नेमा अडिएको छ । इतिहासले ओझस्वी शब्दहरूलाई होइन अनुत्तरित नतिजालाई उत्तरमा बदल्ने कर्मवीरलाई मात्र सम्झिनेछ । गगनले यस सत्यलाई आत्मसात् गरेर अघि बढे भनेमात्र कांग्रेस र देशको सच्चा अभिभावक बन्न सक्नेछन् ।
गगन थापा यही व्यवस्थापकीय र राजनीतिक संकटबीच उभिएका नयाँ पात्र हुन् तर पात्र फेरिँदैमा प्रवृत्ति फेरिएन भने नागरिकका लागि त्यसभन्दा ठूलो धोका अर्को हुनसक्दैन । गगनले बुझ्नैपर्छ कि देशको सबैभन्दा पुरानु र धेरै भूगोलले ओगटेको कांग्रेस पार्टीका नेता–कार्यकर्ताले उनलाई दिएको समर्थन कुनै व्यक्तिप्रतिको अन्धभक्ति होइन, परिवर्तन र नतिजाप्रतिको तीव्र भोक हो । यदि त्यस भोकलाई भाषणको सुख्खा रोटीले मेटाउन खोजे भने कांग्रेसका नेताकार्यकर्ताहरूले उनलाई इतिहासको उही असक्षम र असफल नेताहरूको दर्जामा पुर्याउन एकपल विचार गर्ने छैनन् ।
शेरबहादुर देउवा र गगन थापाबीचको भिन्नता भाषणमा होइन परिणाममा देखिनुपर्छ । देउवाले आफ्नो सम्पूर्ण राजनीतिक जीवन सत्ता सन्तुलन, गुट व्यवस्थापन र जोडघटाउमा बिताए । उनले कहिल्यै कुनै ठूलो सपना देखाएनन्, शेरबहादुर फगत सत्ता, शक्ति र सम्पतिप्रति चरम आशक्ति राख्ने पहिचान बनाएका नेता हुन्, त्यसैले जनता उनीसँग निराश भए पनि आश्चर्यचकित भएनन् तर गगनले समृद्ध नेपाल, पारदर्शी कांग्रेस र उत्तरदायी लोकतन्त्रको सुन्दर सपना बेचेका छन् । सपना बेच्ने नेता जब सपना पूरा गर्ने ठाउँमा पुगेर उही पुराना नेताहरूकै जस्तो कार्यशैली अपनाउँछ तब त्यसले जन्माउने निराशा देउवाको निराशाभन्दा सयौं गुणा बढी घातक हुन्छ । देउवाको असफलताले जनतालाई आक्रोशितमात्र बनाएको छ तर गगनको असफलताले जनताको आशा मारिदिनेछ । लोकतन्त्रमा आशा मर्नु भनेको सिंगो व्यवस्था नै संकटमा पर्नु हो ।
तसर्थ, १५औं महाधिवेशनको सम्बोधनमा छुटेका गम्भीर विषयलाई गगन थापाले अब भाषणमा होइन निर्णय र कदमहरूमा समावेश गर्नैपर्छ । भ्रष्टाचारमा परेका जोसुकैलाई पार्टीबाट तत्काल निष्काशन गर्ने, नातावाद पूर्णरूपमा प्रतिबन्ध लगाउने नीति लागू हुनुपर्छ । नेपालको माटोले धेरै भाषण सुनिसकेको छ । माटोलाई अब सिँचाइ, पसिनाको मूल्य र सुशासनको ग्यारेन्टी चाहिएको छ ।
गगन थापाको वास्तविक परीक्षण कति राम्रो बोल्छन् भन्नेमा होइन कांग्रेसलाई कति शुद्धीकरण गर्छन् र देशलाई कति ठोस नतिजा दिन्छन् भन्नेमा अडिएको छ । इतिहासले ओझस्वी शब्दहरूलाई होइन अनुत्तरित नतिजालाई उत्तरमा बदल्ने कर्मवीरलाई मात्र सम्झिनेछ । गगनले यस सत्यलाई आत्मसात् गरेर अघि बढे भनेमात्र कांग्रेस र देशको सच्चा अभिभावक बन्न सक्नेछन् । अन्यथा ओझस्वी शब्दको भिडमा उनी पनि अर्को एउटा अनुत्तरित नतिजा बनेर बिलाउनेछन् ।
नेपाली समाज अब पुष्पकमल दाहालजस्ता शब्दका जादुगरहरू र खड्गप्रसाद ओलीजस्ता गफका महानायकहरूबाट पूर्णरूपमा थकित भइसकेको छ । नागरिकलाई अब सिद्धान्तको महाकाव्य होइन ।, आफ्नो जीवनमा देखिने, भोगिने र महसुस गरिने नतिजा चाहिएको छ । जबसम्म कुनै पनि नेतृत्वले आफ्ना ओझस्वी शब्दहरूलाई समयसीमासहितको सुस्पष्ट कार्ययोजना र नतिजामा ढाल्न सक्दैन तबसम्म त्यो नेतृत्व इतिहासको कसीमा केवल ‘कागजी बाघ’ वा ‘भाषणको राग’मात्र ठहरिनेछ । अनुत्तरित नतिजाहरूलाई उत्तरमा बदल्ने संकल्प, सामर्थ्य र कर्म नै कुनै विचार वा व्यक्तिलाई अमर बनाउने एकमात्र कसौटी हो । तसर्थ, इतिहासको अमरता प्राप्त गर्न शब्दको लोभ्याउने मञ्चबाट ओर्लिएर कर्मको धुलाम्ये मैदानमा पसिना बगाउनुबाहेक अर्को दार्शनिक बाटो हुनसक्दैन । यस वास्तविकतालाई गगनले समयमै बुझेनन् भने उनले पनि शेरबहादुरले झैँ पछुताउने समय पनि पाइँदैन भन्ने समय छँदै बुझून् ।







लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर