काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी विभिन्न ८० क्लस्टरबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने भएको छ ।
सोमबार सम्पन्न बन्दसत्रले पारित गरेको संशोधित विधानअनुसार कांग्रेसको सभापति, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न समूह र क्लस्टर निर्धारण गरिएको छ । खुला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खसआर्य, प्रदेश, प्रवास तथा युवालगायत समूहबाट केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।
नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । मनोनयन दर्तापछि निर्वाचनसम्बन्धी सबै प्रक्रिया पूरा गरेर असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ ।
संशोधित विधानअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै, कांग्रेसमा तीन जना महामन्त्री रहने व्यवस्था गरिएको छ । दुई जना महामन्त्री खुला प्रतिस्पर्धाबाट र एक जना महिला कोटाबाट निर्वाचित हुनेछन् ।
सहमहामन्त्रीको संख्या भने १५ जना रहनेछ । खुला प्रतिस्पर्धाबाट दुई जना सहमहामन्त्री चुनिनेछन् भने आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपांगता कोटाबाट एक-एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।
कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुने व्यवस्था छ । त्यस्तै प्रवक्ता र सहप्रवक्ता एक-एक जना रहनेछन् ।
४५ जना खुला केन्द्रीय सदस्य
संशोधित विधानअनुसार ४५ जना केन्द्रीय सदस्य खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् । महिला खुलाबाट १५ जना निर्वाचित हुनेछन् ।
आदिवासी जनजाति महिलाबाट ८ जना र आदिवासी जनजाति खुलाबाट १२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यस्तै दलित महिलाबाट ५ जना, मधेशी दलितबाट एक जना र दलित खुलाबाट ८ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।
मधेशी महिला र खसआर्य महिलाबाट ८-८ जना तथा खसआर्य खुलाबाट १० जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी थारु महिलाबाट दुई जना र थारु खुलाबाट चार जना, मुस्लिम महिलाबाट दुई जना र मुस्लिम खुलाबाट तीन जना केन्द्रीय सदस्य चयन हुनेछन् ।
पिछडिएको क्षेत्र महिला, पिछडिएको क्षेत्र खुला, अल्पसंख्यक तथा अपांगता कोटाबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
युवा र विशेष समूहलाई पनि प्रतिनिधित्व
संशोधित विधानले प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभावित परिवारका लागि पनि केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गरेको छ। यी समूहबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
त्यस्तै, सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा महिला र खुला समूहबाट समेत केन्द्रीय सदस्य चयन हुनेछन्। काठमाडौं उपत्यकाबाट महिला र खुला समूहमा एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
प्रवासका लागि पनि छुट्टाछुट्टै कोटा
कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ।
युरोप, ओसियाना-अमेरिका, मध्यपूर्व, एसिया-प्यासिफिक तथा भारतमा रहेका नेपाली जनसम्पर्क समितिका लागि केन्द्रीय सदस्यको कोटा छुट्याइएको छ ।
त्यसैगरी पेशागत तथा विषयगत क्षेत्र र श्रमिक क्षेत्रबाट पनि महिला तथा खुला समूहअन्तर्गत केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ ।
६६ जना मनोनीत गर्ने व्यवस्था
निर्वाचनबाट चयन हुने सदस्यबाहेक केन्द्रीय कार्यसमितिले पछि ६६ जना सदस्य मनोनीत गर्न सक्ने व्यवस्था पनि संशोधित विधानमा गरिएको छ ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसँगै समावेशी प्रतिनिधित्वलाई थप विस्तार गर्ने गरी नयाँ केन्द्रीय संरचना तय गरेको छ। अब मनोनयन दर्ता र त्यसपछिको निर्वाचन प्रक्रियाले नयाँ कार्यसमितिको स्वरूप निर्धारण गर्नेछ ।







अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी