कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भोलि साँझ ५ बजे प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको मंगलबार बसेको बैठकले बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि भोलि साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको हो।
प्रदेशसभा बैठक आह्वान गर्न सरकारले पत्र पठाइसकेको सभामुख भीम भण्डारीले जानकारी दिनुभयो। सरकारले बजेट प्रस्तुत गर्न समय माग गरेअनुसार कार्यव्यवस्था तथा परामर्श समितिले बैठकको समय निर्धारण गरेको उहाँले बताउनुभयो।
गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरिएको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार साउन १ गतेदेखि बजेटविहीन अवस्थामा छ। बजेट पारित हुन नसक्दा प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको हो।
बजेट शून्यताका कारण अस्पताल सञ्चालन, आयोजना कार्यान्वयन, सरकारी कार्यालय सञ्चालन तथा प्रदेशका कर्मचारी र पदाधिकारीको तलबभत्ता वितरणमा समेत असर परेको छ।
कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकारका प्रवक्तासमेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल र आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम चौधरी पनि सहभागी हुनुहुन्थ्यो।
प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै लामो समयदेखि जारी बजेट शून्यताको अन्त्य हुने अपेक्षा गरिएको छ।







पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर