काठमाडौं । दशैँमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले आगामी २३ असोजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागले मंगलबार राष्ट्रिय यातायात व्यवसायी महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, यातायातसम्बद्ध मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी दशैँको यातायात व्यवस्थापनसम्बन्धी निर्णय गरेको हो।
विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिनेछ। यात्रुको चापअनुसार लामो तथा मध्यम दूरीका सवारीसाधनलाई रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रुट परमिटसमेत खुला गरिने भएको छ।
दशैँका बेला छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवतजावत गर्ने भएकाले नियमित रुटका सवारीसाधनसँगै रिजर्भमा सञ्चालन हुने सवारीलाई समेत व्यवस्थित गर्न रुट परमिट खुला गरिएको विभागले जनाएको छ।
दशैँको अवधिमा ढुवानीका सवारीसाधन सञ्चालनमा समेत केही व्यवस्थापन गरिएको छ। फूलपातीदेखि पूर्णिमासम्म फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गरिनेछ। अन्य सामग्रीको ढुवानी भने आवश्यकताअनुसार पछि सारिनेछ।
महानिर्देशक पोखरेलका अनुसार दशैँमा टिकट बिक्री तथा सवारीसाधन सञ्चालनका क्रममा यात्रुले भोग्न सक्ने समस्या तत्काल समाधान गर्न विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। हाल १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा छन्।
बसपार्क, कोटेश्वर, बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, मजदुर संगठन तथा ट्राफिक प्रहरी सम्मिलित संयुक्त कमिटी गठन गरिएको छ। उक्त कमिटीले सम्बन्धित क्षेत्रमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्नेछ।
टिकट नपाएको, तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी भएको वा अन्य कुनै समस्या परेको अवस्थामा सहायता कक्षमार्फत जानकारी लिन सकिने व्यवस्था गरिएको छ। विभागले तोकिएको भाडादर सार्वजनिक गरी सोहीअनुसार मात्र भाडा लिनुपर्ने व्यवस्था गरेको जनाएको छ। यात्रुले आवश्यक परे ट्राफिक प्रहरीको १०० नम्बरमा समेत सम्पर्क गर्न सक्नेछन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले लामो दूरीका सवारीसाधनका लागि बसपार्कभित्रै काउन्टर उपलब्ध गराइएको र राज्यले तोकेको भाडादरअनुसार मात्र टिकट बिक्री गर्न व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो।
उहाँले दशैँको छोटो अवधिमा करिब १० देखि १२ दिनभित्र १५–१६ लाख यात्रुलाई व्यवस्थापन गर्नुपर्ने भएकाले यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो। यात्रुलाई सहज सेवा दिन व्यवसायीले नाफाभन्दा सेवामुखी भएर काम गर्नुपर्ने उहाँको भनाइ छ।
त्यस्तै, लक्ष्मी बहुउद्देश्य प्रालिका महाप्रबन्धक पंकज मल्लले बसपार्कभित्रबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधनका लागि उपलब्ध काउन्टरबाट राज्यले तोकेको भाडाअनुसार टिकट बिक्री हुने बताउनुभयो। उहाँका अनुसार काउन्टरबाट टिकट काट्दा तोकिएको भाडाभन्दा ५ रुपैयाँसम्म कम लिन भनिएको छ।
मल्लले ‘रिजर्भ’को नाममा तोकिएकोभन्दा बढी भाडा असुल्ने सवारीसाधनमाथि निगरानी गरी आवश्यक कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले बसपार्कबाट सञ्चालन हुने सवारीमा बढी भाडा असुली भएमा सम्बन्धित गाडी तथा व्यक्तिमाथि कारबाहीका लागि ट्राफिक प्रहरी, मजदुर संगठन र सम्बन्धित निकायलाई आग्रह गरिएको जानकारी दिनुभयो।
यातायात व्यवस्था विभागले दशैँको समयमा यात्रुको अत्यधिक चाप हुने स्थानमा गठन गरिएका संयुक्त कमिटीमार्फत टिकट बिक्रीदेखि सवारी सञ्चालनसम्म देखिन सक्ने समस्या तत्काल समाधान गर्ने जनाएको छ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा