काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको जिम्मेवारी र भूमिकालाई स्पष्ट पारेको छ।
असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीको जिम्मेवारी र अधिकारबारे स्पष्ट व्यवस्था गरिएको हो।
केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता चयन गरेको थियो। अपानिअनुसार उहाँ अध्यक्षपछिको दोस्रो वरीयतामा रहनुहुनेछ।
वरिष्ठ नेताका रूपमा भण्डारीले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउनुहुनेछ। उहाँले अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही र समयोचित निर्णय लिन योगदान पुर्याउने जिम्मेवारीसमेत पाउनुभएको छ।
अपानिमा भनिएको छ, ‘वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने।’
भण्डारीलाई दिइएको जिम्मेवारी र भूमिकासम्बन्धी निर्णय आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिने एमालेले जनाएको छ।
अपानिअनुसार भण्डारीलाई वरिष्ठ नेता चयन गर्ने निर्णय पार्टी विधानको धारा १०५ मा रहेको बाधा–अड्काउ फुकाउने व्यवस्था तथा धारा १३(क) मा रहेको दुई महाधिवेशनबीचको अवधिमा राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर पार्टीको सर्वोच्च संस्थाका रूपमा निर्णय गर्न पाउने अधिकार प्रयोग गरी गरिएको हो।
एमालेले पछिल्लो निर्णयमार्फत वरिष्ठ नेता भण्डारीको पार्टीभित्रको औपचारिक हैसियत, वरीयता, बैठकमा सहभागिता र जिम्मेवारीलाई थप स्पष्ट गरेको छ।







विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ