काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत डिप बोरिङ जडान, कोल्डस्टोरको कम्पाउण्ड वाल निर्माण र विद्यालय भवन निर्माणका लागि प्राप्त बजेटबाट तीनवटा योजना सञ्चालन गरिएको थियो । ती योजनाको बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सूचना सार्वजनिक नगरी खरिद प्रक्रिया अघि बढाइएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।
आयोगले धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, सह–लेखापाल विनोदकुमार मण्डल, जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादव, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रालिका प्रतिनिधि सञ्जयकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले आपसी मिलेमतोमा बोलपत्र आह्वानसम्बन्धी सूचना सार्वजनिक रूपमा प्रकाशन नगरी अभिलेखका लागि मात्रै पत्रिकाको प्रति तयार गरेको अख्तियारको दाबी छ ।
आयोगका अनुसार जनकपुर टुडे राष्ट्रिय दैनिकको २०७८ वैशाख २३ गतेको एक प्रतिमा मात्र खुला बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो । सोही सूचनालाई आधार बनाएर गाउँपालिकाको ठेक्का प्रयोजनका लागि पत्रिका पेस गरी वास्तविक रूपमा सार्वजनिक वितरणमा नआएको विवरणलाई अभिलेखमा राखिएको अख्तियारको आरोप छ ।
एकै विज्ञापनमार्फत दुई फरक योजनाको विज्ञापन गरिएको देखाई ३ लाख ८० हजार रुपैयाँ जनकपुर टुडे प्रालिलाई भुक्तानी गरिएको समेत अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
अख्तियारले सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी बनाई प्रतिस्पर्धा सीमित गर्ने तथा गाउँपालिकालाई गैरकानुनी हानि र आफूहरूलाई गैरकानुनी लाभ पुर्याउने बदनियतले सूचना लुकाइएको निष्कर्ष निकालेको छ ।
सोही आधारमा संलग्न पाँचै जनाविरुद्ध प्रचलित कानुनबमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।







दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु